जीवन बीमा व्यवसाय ११.८५ प्रतिशतले बढ्यो, बीमालेखको संख्या एक करोड ३४ लाख नाघ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

जीवन बीमा व्यवसाय ११.८५ प्रतिशतले बढ्यो, बीमालेखको संख्या एक करोड ३४ लाख नाघ्यो



काठमाडौं । जीवन बीमा कम्पनीहरुले भदौसम्ममा २९ अर्ब १३ करोड ११ लाख रुपैंया बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ जीवन बीमा कम्पनी र दुई जीवन लघुबीमा कम्पनीले यस अवधिमा एक करोड ३४ लाख ५३ हजार १६६ बीमालेख बिक्री गरी सो बराबरको बीमाशूल्क संकलन गरेका हुन् ।

यस अवधिमा १४ जीवन बीमा कम्पनीले मात्रै २९ अर्ब १२ करोड रुपैयाँ प्रिमियम भित्र्याएका छन्। जुन यो गत वर्षको तुलनामा ११.८५ प्रतिशतले बढी हो। गत वर्षको भदौ महिनामा जीवन बीमा कम्पनीहरुले २६ अर्ब ४ करोड ३३ लाख रुपैयाँ प्रिमियम भित्र्याएका थिए।

भदौ महिनासम्म सबैभन्दा बढी प्रिमियम भित्र्याउनेमा नेपाल लाइफ रहेको छ। कम्पनीले आठ अर्ब एक करोड १८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरी सर्वाधिक व्यवसाय गर्ने कम्पनी बन्न सफल भएको छ। त्यस्तै दोस्रोमा राष्ट्रिय बीमा संस्थानले पनि तीन अर्ब ५६ करोड रुपैयाँ प्रिमियम संकलन गरी दोस्रो बढी व्यवसाय गर्ने कम्पनी बन्न सफल भएको छ।

यसका साथै एलआइसी नेपालले तीन अर्ब ६ करोड, हिमालयन लाइफले तीन अर्ब ९५ करोड, नेशनल लाइफले दुई अर्ब ९० करोड, सुर्यज्योति लाइफले एक अर्ब ५५ करोड, एशियन लाइफले एक अर्ब २२ करोड, सानिमा रिलायन्सले एक अर्ब १ करोड, सिटिजन लाइफले एक अर्ब १ करोड, मेट लाइफले ९२ करोड, प्रभु महालक्ष्मीले ८२ करोड, आइएमई लाइफले ७६ करोड, रिलायबल नेपाल लाइफले ६७ करोड र सन नेपाल लाइफले ६३ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ।

त्यस्तै, गत वर्षको तुलनामा यस अवधिमा सबैभन्दा बढी प्रिमियम बढाउनेमा राष्ट्रिय बीमा संस्थान रहेको छ। संस्थानले गत वर्षको भदौ महिनाको तुलनामा यस वर्ष ३२५ प्रतिशतले प्रिमियम बढाएको छ।

प्रभु महालक्ष्मीले पनि २१.८० प्रतिशत र आइएमई लाइफले २०.७५ प्रतिशतले बढाएको छ। त्यस्तै, भदौ महिनासम्म २ जीबन लघुबीमा कम्पनीले मात्रै १३ लाख ४५ हजार रुपैयाँ प्रिमियम संकलन गरेका छन्। गार्डियन माइक्रो लाइफले १० लाख रुपैयाँ ३७ हजार र क्रेष्ट माइक्रो लाइफले ३ लाख ७ हजार रुपैयाँ प्रिमियम संकलन गरेको छ।

प्रकाशित : १७ आश्विन २०८०, बुधबार १६:००