महेश श्रेष्ठको घोषणा: एनआरएनए अध्यक्ष भएको पहिलो बर्ष नै १० करोडको श्रमिक कोष बनाउँछु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

महेश श्रेष्ठको घोषणा: एनआरएनए अध्यक्ष भएको पहिलो बर्ष नै १० करोडको श्रमिक कोष बनाउँछु



काठमाडौं । गैरआवासीय नेपाली संघ ९एनआरएनए० को ११ औं महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी महेश कुमार श्रेष्ठले विदेशमा रहेका नेपाली श्रमिकहरुको हकहितका लागि १० करोड रुपैंयाँ बराबरको कोष खडा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मध्यपूर्व र एसियाका देशहरुको भ्रमणका क्रममा कुवेत पुगेका उनले नेपाल सरकार, वैदेशिक रोजगार व्यवसायी संघ र दातृ निकायसंग समन्वय गरी कम्तीमा रु १० करोडको श्रमिक कल्याण कोष खडा गर्ने प्रतिबद्धता जनाएका हुन् । त्यस्तै उनले एनआरएनए राहत कोषमा पाँच लाख रुपैयाँ अनुदान दिने पनि घोषणा गरे ।

‘मध्यपूर्व साथै एसियाका देशहरुको भ्रमणका क्रममा धेरै भन्दा धेरै नेपालीहरुको श्रमसम्बन्धी समस्या रहेको पाएँ । त्यसका लागि प्रत्येक बर्ष १० करोड रुपैंयाँ संकलन हुनेगरी कोष खडा गर्ने प्रतिबद्धता जनाउँदछु । यो काम विजयी भएर गएको पहिलो बर्षबाट नै सुरु गर्नेछु,’ उनले भने,‘त्यस बाहेक सरकारसँग मिलेर नीति निर्माणमा प्रशस्त कामहरु गर्नुपर्नेछ । घरेलु कामदार तथा श्रमिकको समस्या, दोहोरो श्रम सम्झौता, श्रम सहचारी र श्रम स्वीकृतिका क्रममा हुने झन्झट नीतिमार्फत समाधान गर्नु पर्ने हुन्छ ।त्यस्तो नीति बनाउन नेपाल सरकारसंग पहल गर्ने मेरो पहिलो प्राथमिकतामा पर्छ ।’

श्रेष्ठले विदेशमा रहेका नेपालीहरुको भूगोल वा देशका आधारमा फरक फरक समस्याहरु हुने गरेकाले विद्यार्थी र श्रमिकका समस्या समाधान गर्न सरकारसँग सहकार्य जरुरी रहेको औंल्याए । ‘एनआरएनए आइसीसीको काम भनेको नीति बनाउने हो र एनसीसीको काम मानवीय आपतविपतमा सहयोग गर्ने हो । दुवैको सहकार्यमा हामी प्रवासका नेपालीहरुको हक हितमा नै काम गर्छौं,’ उनले अगाडि भने,‘म विभिन्न क्षेत्रमा विज्ञहरुलाई राखेर भिजनरी खाका बनाएर काम गर्छु । काम गर्नका लागि नै चुनावी दौडाहामा छु । सबैको सहयोगको अपेक्षा गरेको छु ।’

साउदी अरब, दुबइ, मलेसिया, बहराइन लगायतका देशको भ्रमण गरिसकेपछि उनले आफू उत्साहित भएको उनले प्रतिक्रिया दिए । ‘डेलिगेट्स र गैर आवासीय नेपालीहरुको साथ सहयोगले विजय नजिक पुगेको अनुभूति भइरहेको छ । परिणाम सकारात्मक आउँछ भन्नेमा विश्वस्त छु,’ उनले भने ।

विदेशिनु नेपालीहरुको बाध्यता भएकाले गरिबी न्यूनीकरण गर्दै नेपाललाई समृद्धितर्फ लैजान एनआरएनएको ठूलो भूमिका हुने भन्दै श्रेष्ठले बार्षीक २० खर्ब बढी आम्दानी गरिरहेका विदेशका नेपालीहरुसंग ठूलो सम्भावना रहेको औंल्याए । लहडमा बनाइएका कतिपय नीति तथा कानुनहरुका कारण नेपालीहरुले दुःख पाइरहेको उनको प्रतिक्रिया थियो । उनले दुई बर्ष भित्रमा एनआरएनएलाई एकता र सुदृढ बनाएर पद्धति बसाउने पनि प्रतिज्ञा गरे ।

भदौ २९ गते ललितपुरको हिमालय होटलमा एक भब्य समारोहबीच २०२३(२५ का लागि एनआरएनए अध्यक्ष पदमा उम्मेदवारी घोषणा र प्रतिबद्धता पत्र सार्वजनिक गरेपछि जापान भ्रमण सकेर श्रेष्ठले मध्यपूर्व र एसियाली देशका गैर आवासीय नेपालीहरुसँग भेटघाट गरेका हुन् ।

प्रकाशित : १६ आश्विन २०८०, मंगलवार १७:५७