युरोपमा नेपालीका ‘प्रिय’ चिन्तामणी एनआरएनए संयोजक बन्ने दौडमा, यस्तो छ संघर्षको कथा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

प्रवास

युरोपमा नेपालीका ‘प्रिय’ चिन्तामणी एनआरएनए संयोजक बन्ने दौडमा, यस्तो छ संघर्षको कथा



काठमाडौं । चिन्तामणी सापकोटा युरोपका नेपालीहरुमाझ परिचित नाम हो । सालिन, भद्र र प्रष्ट वक्ताका रुपमा उनको परिचय छ । युरोपका अधिकांश देशमा कर्मशील र असल सामाजिक अभियन्ताको रुपमा उनले आफ्नो परिचय बनाउनुको पछाडि आफ्नै मेहनत र लगाव नै हो ।

‘म धनाढय व्यक्ति होइन, तर सामान्य व्यवसायी अवश्य हुँ । सामाजिक कामले मलाई सन्तुष्टी दिएको छ । अब थप जिम्मेवारी लिएर युरोपका नेपालीहरुको सारथी बन्ने मोडमा पुगेको छु’,उनले आफ्नो परिचय दिंदै भने,‘गैर आवासीय नेपाली संघ एनआरएनएको आसन्न महाधिवेशनमा युरोप संयोजक पदमा २४ देशका गैर आवासीय नेपालीहरुबाट अनुमोदित हुने मन छ । मनोनित होइन निर्वाचित भएर काम गर्ने हुटहुटी छ ।’

सन् २००७ देखि नै साधारण सदस्यका रुपमा एनआरएनएको अभियानमा जोडिएका चिन्तामणी यतिबेला २०२३–२०२५ का लागि युरोप संयोजक पदमा उम्मेदवारी घोषणा गरेर चुनावी दौडाहमा छन् । ‘म पपुलिष्ट बन्ने र स्टन्टबाजी गर्ने स्वभावको परिन । जालझेल र भाषणबाजी मेरो प्राथमिकतामा पर्दैन । म खालि कुरा हैन, ुएक्सनु मा विश्वास गर्छु । विधि, प्रक्रिया, पारदर्शीता र संस्थागत अनुशासनमा बसेर काम गर्नुपर्छ भन्ने मेरो बाल्यकालदेखिकै मान्यता हो,’ उनले भने ।

‘समुन्नत नेपाल, सम्मानित गैरआवासीय नेपाली’ नारा दिएर अध्यक्षको दौडमा रहेका महेशकुमार श्रेष्ठको टीममा रहेका उनले ‘टीम महेश’ रोज्नुको रहस्य पनि खोले । ‘कुनैपनि संस्थामा एउटै व्यक्ति पटकपटक दोहोरिंदा संस्थागत फाइदा हुँदैन । व्यक्तिगत मनोमानी मौलाउँछ । विधि, प्रक्रिया, अनुशासन, पारदर्शिता ओझेलमा पर्छ । त्यसैले म नेतृत्वमा नयाँ मान्छे रोज्न चाहन्छु । संस्थामा भिजेको इमान्दार व्यक्ति आवश्यक छ,’ उनले प्रष्ट्याए । विचार र भावना मिल्नेसँग काम गर्न आफू उत्सुक रहेको उनले बताए ।

एनआरएनए यात्रा

बाग्लुङमा जन्मिएर अध्ययनका सिलसिलामा जर्मनी पुगेका चिन्तामणीले कालान्तरमा स्पेनलाई कर्मभूमि बनाए । स्पेनमा आफ्नै व्यवसायमा रमाएका उनले नेपाली जनसम्पर्क समितिमा बसेर लामो समय काम गरिसकेका छन् । जनसम्पर्क समिति स्पेनको संस्थापक सभापति हुँदै दुई कार्यकाल नेतृत्व सम्हालेका उनी युरोपका नेपालीहरुको समस्याबारे नजिकबाट जानकार छन् र दुख मर्कामा परेका नेपालीहरु लाई सक्दो सहयोग गर्दै आएका छन्।

एनआरएनएमा उनको भिन्न अनुभव छ । एनआरएन स्पेनको सदस्य हुँदै २०१३–२०१५ कार्यसमिति सदस्य, २०१७–२०१९ अध्यक्ष , २०१९–२०२१ आईसीसी सदस्य र २०२१–२०२३ युरोप क्षेत्रीय संयोजक भएर काम गरेको अनुभव छ । नेतृत्व विवादका कारण १०औं महाधिवेशनपछि पर्याप्त काम गर्ने अवसर नपाएकाले अब नीतिगत र प्रक्रियागत रुपले काम गर्ने सोच उनले राखेका छन् ।

युरोप कोष बनाउने

युरोपमा रहेका एनसीसीहरु आइसीसीबाट सँधै हेपिएको उनको अनुभव छ । लिगलाइज गर्ने, परियोजनाहरु ल्याउने सवालमा केन्द्रले सँधै बेवास्ता गरेका कारण धेरै देशमा संस्था दर्ता भएको छैन । जसका कारण युरोपमा रहेका नेपालीहरुले सुविधा उपयोग गर्न पाएका छैनन् । कानूनी झन्झट व्यहोरिरहेका छन् । एनसीसीहरुमाथि केन्द्रको अनावश्यक हस्तक्षेप हुने गरेको उनले बताए ।

‘अब यसरी हुँदैन । केन्द्रको हस्तक्षेप मान्य हुँदैन,’उनले भावी योजना सुनाउँदै भने,‘युरोप संयोजक निर्वाचित भइसकेपछि एनसीसी दर्ता प्रक्रिया वा लिगलाइज गर्ने मेरो पहिलो काम हुनेछ । स्थानीय सरकारबाट पाउने सुविधाबाट एनआरएनएलाई बन्चित गराउँदिन । नेपालीहरुलाई परेको कानूनी समस्याहरु संस्थागत रुपमा हल गर्ने मेरो संकल्प हो ।’ सबैखाले समस्या समाधानका लागि बेग्लै युरोप कोष संचालन गर्ने पनि उनको योजना छ । कोही पनि नेपालीलाई युरोपका देशहरुबाट प्राप्त गर्ने सेवा सुविधाबाट बन्चित हुन नदिन उनले संस्थागत प्रयास गर्ने योजना सुनाए ।

एनसीसीहरु स्वायत्त हुनुपर्छ

एनआरएनए युरोपमा रहेका २४ देशका डेलिगेट्स साथै एनआरएनएहरुसँग परामर्शपछि संयोजकको प्रत्यासी बनेका चिन्तामणी संस्थामा परिवर्तन र रुपान्तरण ल्याएरै छाड्ने बताउँछन् । ‘सामाजिक हित र संस्थालाई मजबुत बनाउन जस्तोसुकै त्याग गर्न तयार छु,’उनले भने,‘अब संस्थालाई व्यक्तिमुखी हुनबाट बचाउनु छ । विधि र विधान अनुसार चलाउनु छ ।’

रोमानिया, ग्रीस, सर्विया, बेलारुसजस्ता देशहरुमा एनआरएनएको संस्थागत विकास गर्न जरुरी रहेको उनले सुनाए । भिसा र पासपोर्टको समस्या झेलिरहेका नेपालीहरुलाई संस्थागत सहयोग नभइरहेकाले त्यसमा आफू सक्रिय भएर लाग्ने र अनुशासन समिति साथै विभिन्न टास्कफोर्सहरुलाई सक्रिय बनाएर संस्था बलियो बनाउनुपर्ने उनको धारणा छ । युरोपका देशहरुमा नेपालको पर्यटन प्रर्वद्धन र विदेशमा रहेका नेपालीबाट स्वदेशमा लगानी गर्ने वातावरण जुटाउन पहल गर्नेलगायतका थुप्रै योजनाहरु रहेको उनले बताए ।

नेतृत्व विकास र हस्तान्तरण

एनआरएनएमा सबैभन्दा ठूलो समस्या भनेको सँधैभरी एउटै पद र उही संस्थामा हालीमुहाली गर्ने परम्परा छ । त्यसैले संस्थामा युवा र महिलाहरुको सक्रियतालाई सम्मान गर्दै नेतृत्वका ल्याउने उनको योजना छ ।

‘महिला र युवाहरुलाई नेतृत्वमा आउन नदिन एनआरएनएका अगुवाहरुले नै हस्तक्षेप गरिरहेका छन् । दमन र हतोत्साहीत गराइरहेका छन् । त्यसैले म मेरो जिम्मेवारी पूरा भएपछि संस्थाको नेतृत्वबाट अलग रहेर नयाँ व्यक्तिलाई अवसर दिन तयार छु । नयाँ अभियन्ताहरुलाई नेतृत्व विकास गर्ने योजनाहरु अघि सार्नेछु,’ उनले योजना सुनाए ।

यसैगरी युरोप क्षेत्रमा अरहेका नेपाली विज्ञहरु तथा पेशाकर्मीहरुसंग रहेको सीप, पूँजी र अनुभव नेपालको उन्नतिमा परिचालन गर्न आफुले जोड दिने सापकोटाले बताए। उनले नेपालमा युरोपबाट लगानी भित्र्याउन, नेपालको पर्यटन प्रवर्धन गर्न र युरोपको बजारमा नेपाली उत्पादनहरुको विक्री वितरण सहज गर्न पनि आफुले काम गर्ने बताए। ‘लामो समयदेखि युरोपको आकाशमा नेपाली वायुसेवा कम्पनीहरुको उडानमा प्रतिबन्ध लगाइएको छ। नेपाल सरकारसंग समन्वय गरी युरोपको आकाशमा नेपाली वायुसेवा कम्पनीहरुको उडान शुरु गर्न मैले सक्दो पहल गर्ने छु,’सापकोटाले भने ।

प्रकाशित : १३ आश्विन २०८०, शनिबार १५:३३