जनतालाई परिणाम दिन सबै कर्मचारीले जोखिम उठाउन तयार हुनुपर्छ: प्रधानमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

जनतालाई परिणाम दिन सबै कर्मचारीले जोखिम उठाउन तयार हुनुपर्छ: प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनतालाई परिणाम दिन राजनीतिज्ञ र कर्मचारीतन्त्रले जोखिम उठाउन तयार हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित ‘आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले परिणाम दिन सक्दैन । उनले भने, “आफ्नो कार्यादेश अनुसार कर्मचारीले जोखिम उठाउन सक्नु पर्दछ ।”

कार्यक्रममा ‘रिपोर्ड कार्ड’को प्रस्तुतिपछि प्रधानमन्त्री दाहालले जोखिम उठाउन तयार हुने मनोविज्ञानले मात्र राम्रो परिणाम दिने बताए । “हामी सबैले जिम्मेवारी बहन गर्नेतिरबाट सोच्नुपर्छ । जिम्मेवारी पन्छ्याउने प्रवृत्तिले परिणाम दिँदैन”, उनले भने, “जिम्मेवारीमा जोखिम हुन्छ । सबै कर्मचारी जोखिम मोल्न तयार भए मात्रै परिणाममुखी नतिजा आउँछ ।”

प्रधानमन्त्री दाहालले भने, “नीति तथा कार्यक्रम र बजेटको मासिक समीक्षा गर्ने प्रक्रियाको सुरूआत हुनु निकै राम्रो सुरूआत हो । राम्रो परिणाम ल्याउन आउने दिनहरूमा धेरै मेहनत गर्नुपर्ने देखिन्छ । यसले प्रभावकारी परिणाम दिन सकिन्छ ।”

कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव डा गणेशप्रसाद पाण्डेले प्रस्तुत गरेको ‘आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा’ शीर्षकको रिपोर्ट कार्डमा गत वर्षको तुलनामा यस आर्थिक वर्षमा आर्थिक परिसूचकहरूमा राम्रो सुधार आएको उल्लेख गरिएको छ ।

प्रकाशित : २७ भाद्र २०८०, बुधबार १७:३८