नाडा अटो शोमा गाडी किन्नेलाई सस्तो ब्याजको ऋण, कुन बैंकको ब्याजदर कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नाडा अटो शोमा गाडी किन्नेलाई सस्तो ब्याजको ऋण, कुन बैंकको ब्याजदर कति ?



काठमाडाैं । मंगलबारदेखि राजधानीको भृकुटीमण्डपमा सवारीसाधनको बृहत मेला ‘नाडा अटो शो’ सुरु भएको छ। ६ दिनसम्म चल्ने उक्त मेलामा विभिन्न ब्राण्डका दुई पांग्रे तथा चार पांग्रे सवारीसाधनको बारेमा जानकारी लिन र किन्न पाइन्छ।

वर्षेनी दसैंको पूर्वसन्ध्यामा गरिने यो मेलाले गाडी किन्ने योजना बनाएका ग्राहकलाई आकर्षित गर्दछ । राजधानीको भृकुटीमण्डप स्थित प्रदर्शनी हलमा सुरु भएको १५औँ संस्करणको सो हो ।

नाडा अटो शोमा सवारी साधन मात्रै नभएर तिनका पार्टसपूर्जा पनि पाइन्छ। साथै बैंकहरुले समेत सस्तो ब्याजदरमा ऋण दिने र प्रक्रियामा सहज गरिदिने भन्दै स्टल राखेका छन्।


गाडी किन्नेलाई कुन बैंकको ब्याजदर तथा सेवा शुल्क कति ?

ग्लोबल आईएमई बैंक

ग्लोबल आईएमई बैंकले इलेक्ट्रिकका निजी र कमर्सियल गाडीका लागि नाडा अटो शो विशेष अफर ल्याएको छ । इलेक्ट्रिक प्राइभेट गाडीको खरिमा १०.४९ प्रतिशत ब्याजदरमा र ०.५० प्रतिशत सेवा शुल्कमा फाइनान्सिङ गरिने बैंकले जनाएको छ । त्यस्तै, फ्यूल इन्जिन सवारीमा १०.९९ प्रतिशत ब्याजदरमा ०.७५ प्रतिशत सेवा शुल्कमा फाइनान्सिङ सुविधा उपलब्ध रहेको बैंकले जनाएको छ ।

त्यस्तै, बैंकका अनुसार कमर्सियल इलेक्ट्रिक गाडीमा ११.४९ प्रतिशत ब्याजदरमा ०.५० प्रतिशत सेवा शुल्कमा कर्जा सुविधा उपलब्ध रहेको छ । फ्यूल इन्जिन कमर्सियल भेहिकलमा १२.४९ प्रतिशत ब्याजदरमा ०.७५ प्रतिशत सेवा शुल्क लिएर कर्जा सुविधा दिइने बैंकले जनाएको छ ।

यस्तै, नाडा अटो शो अवधिभरीका लागि १०.९९ प्रतिशत फिक्स्ड ब्याजदरमा ०.५० प्रतिशत सेवा शुल्कमा समेत फाइनान्सिङ सुविधा रहेको बैंकले जनाएको छ । परिवर्तनीय ब्याजदरमा १.५ प्रतिशत प्रिमीयम थप गरी ०.५० प्रतिशत सेवा शुल्कमै पनि कर्जा सुविधा दिइएको बैंकको भनाई छ ।

लक्ष्मी सनराइज बैंक

लक्ष्मी सनराइज बैंकले इलेक्ट्रिक सवारीका लागि सस्तो ब्याजदरमा फाइनान्सिङ सुविधा दिने जनाएको छ । इलेक्ट्रिक भेहिकल किन्नेका लागि लक्ष्मी सनराइज बैंकले आधार दर (बेस रेट)मा १ प्रतिशत प्रिमीयम जोडेर कर्जा दिने जनाएको छ ।

त्यस्तै, डिजेल पेट्रोलबाट चल्ने गाडीका लागि आधार दरमा १.५ प्रतिशत प्रिमीयम थप गरेर कर्जा दिइने बैंकले जनाएको छ ।

यस्तै, इलेक्ट्रिक र डिजेल पेट्रोलबाट चल्ने गाडीका लागि १२.५ प्रतिशतमा ५ वर्षका लागि फिक्स्ड रेटमा पनि फाइनान्सिङ सुविधा उपलब्ध रहेको बैंकले जनाएको छ । बैंकका अनुसार नाडा अटो शो अवधिभरका लागि बैंकले सेवा शुल्क पनि ०.५ प्रतिशत मात्रै लिनेछ । नाडामार्फत बुकिङ गरेको जानकारी गराए आगामी नोभेम्बर महिना भरी यहीँ सेवा शुल्कमा सेवा दिइने बैंकले जनाएको छ ।

सानिमा बैंक

सानिमा बैंकले इलेक्ट्रिक र फ्यूल इन्जिन दूबै गाडीमा ७ वर्षका लागि १०.९९ प्रतिशत ब्याजदरमा स्थिर ब्याजमा कर्जा सुविधा दिने प्याकेज ल्याएको छ । यसका लागि नाडा अटो शोमा गाडी बुकिङ गर्नुपर्नेछ । साथै, कर्जा सेवा शुल्क पनि ०.५ प्रतिशत मात्रै लिइने बैंकले जनाएको छ ।

नबिल बैंक

नबिल बैंकले ईभीको खरिदमा ५ र ७ वर्षका लागि स्थिर ब्याजदरको कर्जा सुविधा ल्याएको छ । ५ वर्षका लागि १०.४९ प्रतिशत र ७ वर्षका लागि १०.९९ प्रतिशत स्थिर ब्याजदरमा इलेक्ट्रिक सवारीको फाइनान्सिङ सुविधा दिइने बैंकले जनाएको छ ।

त्यस्तै, डिजेल पेट्रोल तथा आईसी इन्जिनका लागि ५० प्रतिशत डाउन पेमेन्टमा फाइनान्सिङ सुविधा रहेको बैंकका प्रतिनिधिहरुले बताएका छन् ।

प्रभू बैंक

प्रभू बैंकले इलेक्ट्रिक भेहिकललाई ‘फोकस’ गरिएको जनाएको छ । अहिले इलेक्ट्रिक भेहिकलका लागि आधार दरमा २ प्रतिशत प्रिमीयम लिँदै आएकोमा नाडा अवधिभरीका लागि आधार दरमा जम्मा १ प्रतिशत प्रिमीयममा कर्जा सुविधा उपलब्ध गराइने बैंकका प्रतिनिधिहरुले बताएका छन् ।

यो दर ५ वर्षका लागि कायम रहने जनाइएको छ । सँगै, नाडा अटो शो भिजिट गरेको वा अटो शोमार्फत गाडी बुकिङ गरेर एक महिनाभित्र बैंकमा फाइनान्सिङ सुविधाका लागि जाँदा पनि यो सुविधा पाइने बैंकले जनाएको छ ।

हिमालयन बैंक

हिमालयन बैंकले इलेक्ट्रिक र नन् इलेक्ट्रिक दूबै गाडीका लागि ११.९९ प्रतिशतमा फाइनान्सिङ सुविधा दिने भएको छ । नोभेम्बर १३ सम्म यो सुविधा उपभोग गरेर फाइनान्सिङ सुविधा पाउन सकिने बैंकले जनाएको छ ।

बैंकले इलेक्ट्रिक र नन् इलेक्ट्रिक दूबै खालको गाडीको खरिदमा ८ वर्ष सम्मको कर्जा अवधि हुने गरी फाइनान्सिङ गरिने जनाएको छ ।

महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंकले पनि इलेक्ट्रिक र डिजेल पेट्रोल इन्जिन भएका गाडीका लागि ३ वर्षको कर्जा सुविधा दिने भएको छ । १२.९९ प्रतिशत ब्याजदरमा ३ वर्षका लागि इलेक्ट्रिक र डिजेल पेट्रोल इन्जिन भएका निजी गाडी खरिदमा कर्जा प्रवाह गरिने बैंकले जनाएको छ ।

कामना सेवा विकास बैंक

कामना सेवा विकास बैंकले इलेक्ट्रिक सवारी खरिदमा ११.९५ प्रतिशत वार्षिक ब्याजदरमा ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा दिने जनाएको छ । साथै, नाडा अटो शो अवधिभरीका लागि आधार दरमा जम्मा ०.१४ प्रतिशत प्रिमीयममै कर्जा सुविधा रहेको बैंकले जनाएको छ ।

यसका लागि प्रशासनिक शुल्क पनि अटो शो अवधिभरीका लागि ०.७५ प्रतिशत मात्रै लिइने बैंकले जनाएको छ । यो सुविधा इलेक्ट्रिक गाडीको खरिदमा मात्रै लागू हुने बैंकले जनाएको छ ।

प्रकाशित : २७ भाद्र २०८०, बुधबार १०:५०