फोनपे र एनआईपीएलबाट नेपाल र भारतबीच क्रस बोर्डर क्यूआर भुक्तानीको शुरुआत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

फोनपे र एनआईपीएलबाट नेपाल र भारतबीच क्रस बोर्डर क्यूआर भुक्तानीको शुरुआत



काठमाडौँ । नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक फोन पे र नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय शाखा ‘एनआईपीएल’ (एनआईपीएलः एनपीसीआई इन्टरनेशनल पेमेन्टस् लिमिटेड), ले नेपाल र भारतबीच पहिलो क्रस बोर्डर क्यूआर भुक्तानी सेवा शुरु गर्ने तयारी भएको छ । साझेदारीको शुरुआत ग्लोबल फिन्टेक फेस्ट २०२३ मा भएको थियो जहाँ हरेक वर्ष फिन्टेक दूरदर्शीहरू र नवप्रवर्तकहरूको विश्वव्यापी भेटघाट हुने गर्छ ।

फोनपे र एनआईपीएल बीचको यस सहकार्यले दुवै राष्ट्रका लाखौँ नागरिकलाई यी दुई नेटवर्कमा आबद्ध मोबाइल एप प्रयोग गरी विभिन्न स्टोरहरूमा क्यूआर कोडमार्फत सुरक्षित र सहज रूपमा भुक्तानी गर्न मद्धत गर्नेछ ।

उक्त सेवाको लागि दुवै कम्पनीले सञ्चालन तयारी पूरा गरिसकेका छन् । प्राविधिक एकीकरण अन्तिम प्रक्रियामा रहेको जनाएका छन् । प्राविधिक एकीकरणको समाप्तिपछि यी दुई कम्पनीहरू आफ्नो नेटवर्कमा आबद्ध सदस्यहरुलाई सेवा प्रदान गर्न सक्षम हुने छन् ।

जसअनुरुप लाखौँ उपभोक्ता र व्यापारीहरूले यस सेवाको लाभ लिन सक्नेछन् । दुई कम्पनी बीचको यस रणनैतिक साझेदारीले दुवै देशमा डिजिटल भुक्तानी परिवेशमा उल्लेख्य बढावा दिनेछ र अन्तर्राष्ट्रिय बजारमा फराकिलो पहुँचका लागि एउटा प्रमुख पाइलाको रुपमा साबित हुनेछ ।

फोनपेका सभापति तथा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल भन्छन्, “यो उल्लेखनीय प्रक्षेपण, दुवै देशका नागरिकहरूको हितका लागि प्रविधिको प्रयोग गरी नेपाल र भारतबीचको वित्तीय सम्पर्क अभिवृद्धि गर्ने दिशामा महत्वपूर्ण कदम हो । म विश्वस्त छु कि यस पहलले दुई देश बीचको व्यापार, पर्यटन र आर्थिक सम्बन्धको विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ र अन्तत: समृद्धि र विकासलाई बढावा दिनेछ ।”

सोही अवसरमा बोल्दै एनपीसीआई इन्टरनेशनल पेमेन्ट्स लिमिटेडले, “यस पहलले नवप्रवर्तन प्रति रहेको हाम्रो प्रतिबद्धतालाई जनाउँछ। यूपीआई एप्सले सहज क्रस बोर्डर भुक्तानीहरूलाई सक्षम पार्नेछ र मानिसहरूको कारोबार गर्ने तरिकालाई वृद्धि गर्नेछ । फोनपेसँगको यस साझेदारीलाई हामीले वित्तीय समावेशीकरण र आर्थिक समृद्धिको उत्प्रेरक मानेका छौँ र फोनपे सँगसँगै रुपान्तरणको यो यात्रा शुरु गर्न पाउँदा हामी धेरै उत्साहित छौँ”, भनी जनाएको छ ।

प्रकाशित : २१ भाद्र २०८०, बिहीबार १८:१३