विद्युतीय चार्जिङ स्टेशन बनाउन निजी क्षेत्र आउनुपर्छ : कार्यकारी निर्देशक घिसिङ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अटो

विद्युतीय चार्जिङ स्टेशन बनाउन निजी क्षेत्र आउनुपर्छ : कार्यकारी निर्देशक घिसिङ



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेशन बनाउनको लागि निजी क्षेत्र आउनुपर्ने बताएका छन ।

बुधवार नेपाल विद्युत प्राधिकरणले देशभर निर्माण गरेका ५१ वटा चार्जिङ स्टेशनको संयुक्त रुपमा उद्घाटन कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् ।

उनले विद्युतीय सवारी साधनको बिस्तार र चार्जिङ स्टेशन विस्तारको लागि निजी क्षेत्रको अग्रसरता आवश्यक रहेको उल्लेख गरे । निर्देशक घिसिङले निजी क्षेत्रलाई चार्जिङ स्टेशन बिस्तारको लागि ल्याउन ऊर्जा मन्त्रालयले नीतिगत सुधार गर्न लागेको बताए ।

उनले निजी क्षेत्र आएमा प्राधिकरणले दिनुपर्ने सेवा ट्रान्सफरमरदेखि विद्युत सप्लाईको साइटमा लगानी गरिरहेको उल्लेख गर्दै जग्गा र चार्जिङ स्टेशन लगानी गरे अरु सेविधाहरुमा प्राधिकरणले लगानी गर्ने प्रतिवद्धता जनाए ।

निर्देशक घिसिङले विद्युत प्राधिकरणले ५१ वटा स्थानको चार्जिङ स्टेशनको एक साथ उद्घाटनले देशभर विद्युतीय सवारी साधनको प्रवद्र्धनमा सहयोग पुग्ने बताए । पछिल्लो समय माईक्रो बस, ट्याक्सी र व्यक्तिगत सवारी साधनहरु गरी धेरै विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि भएको उनको भनाई छ । घिसिङले चार्जिङ स्टेसनले गर्दा नेपालको यातायात क्षेत्रमा सस्तोमा यात्रा गर्न सकिने बताए । उनले चार्जिङ स्टेसनबाट चाँज गर्दा पेट्रोलिय पदार्थ भन्दा करिव १५ देखि २० गुणा सस्तो पर्ने भन्दै डिजेल पेट्रोलमा ६ हजार लाग्ने ठाउँमा ४ सय रुपैयाँले पुग्ने अवस्था रहेको बताए ।

घिसिङले विद्युतीय सवारी साधनको प्रवद्र्धनले नेपालको विद्युत नेपालमा नै खपत हुने बताए । घिसिङले विद्युतीय सवारी साधनको विकाससँगै पेट्रोलिय पदार्थको आयात कम हुने, व्यापारघाटा कम गराउने र विदेशी मुद्रा सञ्चितिमा पनि योगदान गर्ने उल्लेख गरे । उनले आगामी दिन नेपालको ग्रिन ऊर्जामा रुपान्तरण भएर नेपालको अर्थतन्त्रलाई राम्रो योगदान पुग्ने अपेक्षा रहेको बताए । उनले प्रधाधिकरणले अझै ११ वटा थप विद्युतीय चार्जिङ स्टेसन बिस्तार गर्ने बताए ।

त्यस्तै, कार्यक्रममा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका उपाध्यक्ष सरोज सिटौलाले नेपालमा नै विद्युतीय सवारी साधनहरुको प्रवद्र्धन गरी विद्युतीय पूर्वाधार तयार गर्नसके नेपालमा उत्पादन भएको जलविद्युत देशभित्रै खपत हुने बताए । उपाध्यक्ष सिटौलाले विद्युतीय सवारी साधनलाई सरकारले प्रोत्साहन गरी पूर्वाधार तयार गरे मुलुकमा उत्पादित विद्युतलाई विदेश निर्यात गर्न नपर्ने बताए । उनले विद्युतीय सवारी साधनको विकास र बिस्तारको लागि विद्युतीय चार्जिङ स्टेशनहरु देशभर ५१ वटा मात्रै नभएर ५१ हजार हुन आवश्यक रहेको उल्लेख गरे ।

प्रकाशित : २० भाद्र २०८०, बुधबार १९:०६