यौनिक तथा लैङ्गिक अल्पसंख्यकको गाईजात्रा: घृणा र विभेदविरुद्ध सामूहिक सन्देश (हेरौं तस्विर) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

यौनिक तथा लैङ्गिक अल्पसंख्यकको गाईजात्रा: घृणा र विभेदविरुद्ध सामूहिक सन्देश (हेरौं तस्विर)



तस्विर-युवराज गौतम

काठमाडौं । नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यक(एलजीवीटीआइ) समुदायले विभेदरहित र लाल्छनामुक्त समाज निर्माण र समान अधिकार प्राप्तीको माग राख्दै काठमाडौंमा २०औं नेपाल गौरव यात्रा तथा गाइजात्रा उत्सव मनाएका छन् ।

सांस्कृतिक पर्व ‘गाईजात्रा’का अवसरमा नेपाल स्थित अमेरिकी दुताबास र राइट हेयर राइट नाउ नामक संस्थाको सहयोगमा नीलहिरा समाजले गाइजात्रा उत्सवको आयोजना गरेको हो । एक वर्षभित्र दिवंगत भएका आफ्ना समुदायका व्यक्तिहरुको सम्झनामा समाजले सप्तरङ्गी दीप प्रज्वलनको समेत आयोजना गर्यो ।

उत्सवमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका मन्त्री सुरेन्द्र राज आचार्य, नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसन, विभिन्न राजदूताबासका प्रतिनिधिलगायतले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई सम्मान, माया र सदभाव व्यक्त गर्न सचेतना जगाउने उदेश्यले कार्यक्रम आयोजना गरिएकोप्रति खुशी ब्यक्त गरे ।

नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले समुदायका व्यक्तिहरुमाथि विभेद र अपमानपूर्ण व्यवहारका कारण आत्महत्या र मानासिक समस्या बढ्दै गएकोप्रति दुःख व्यक्त गरिन । उनले भनिन,‘दुई दशक लडेर हामीले धेरै अधिकार प्राप्त त गरिसकेका छौं तर अझैपनि समाजको दृष्टिकोण फेरिएको छैन । अपमान र लाल्छना कायम रहेकाले सम्मानजनक पूर्वक बाँच्ने वातावरण सबै नागरिकहरुले बनाइदिनुहुन्छ भन्ने अपेक्षा गरेका छौं ।’

उत्सवमा अवसरमा समलिंगी विवाहको अधिकार सम्बन्धी मुद्दामा अदालतमा रहेकाले चाँडै फैसलाका लागि आब्हान समेत गरिएको छ । विभिन्न भेषभुषा र सप्तरंगी पहिरनमा सजिएका समुदायका व्यक्तिहरु उत्साहपूर्वक सहभागी थिए । नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले समुदायप्रति आम मानिसहरुको सोच र धारणा परिवर्तन ल्याउन साथै अधिकार प्राप्तीको संघर्षमा सहकार्य गर्न अभिप्रेरित गर्ने उद्देश्यले बर्षेनी गाइजात्रा उत्सव मनाइएको जानकारी दिइन ।

ठमेलबाट शुरु भएको उत्सव बसन्तपुर, न्यूरोड हुँदै टुँडिखेलमा पुगेर समापन भएको थियो । सोही अवसरमा समाजले टुँडिखेलमा ‘गाइजात्रा प्राइड परेड कन्सर्सटको पनि आयोजना गरेको छ । कन्सर्टमा समूदायका कलाकार साथै कलाकारहरु प्रकाश सपुत, कुटुम्ब व्याण्ड, सुभानी मोक्तान, एलिना चौहानलगायतका कलाकारहरुले प्रस्तुती दिएका छन् । उत्सवमा देशभरका यौनिक तथा लैङ्गिक अल्पसंख्य समुदायको उपस्थिति थियो ।

यौनिक लैङ्गक अल्पसंख्य समुदायले अधिकारको माग गर्दै राष्ट्रिय गाइजात्रालाई अन्तर्राष्ट्रिय रुपमा सन् २००४ देखि मनाउँदै आएका हुन् । आफ्नो लैङ्गिक पहिचान खुलाउन नसकेका समुदायका व्यक्तिहरु यही दिनदेखि खुलेर अगाडि आउने गरेका छन् । गाइजात्राका दिन उनीहरुले आफ्नो लैङ्गिक प्रश्तुती र पहिरन लगाउने गर्छन । त्यस्तै मृत समुदायका व्यक्तिहरुप्रति शोक प्रकट गर्ने र समुदायमाथि हुने लाल्छना, विभेद र घृणा विरुद्ध एकजुट हुन उनीहरुले आब्हान गर्ने गरेका छन् ।

प्रकाशित : १४ भाद्र २०८०, बिहीबार २०:३२