नाडा अटो शो २०२३ः निःशुल्क सटल बस, अग्रिम अनलाइन टिकट खरिदमा २० प्रतिशत क्यास ब्याक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

नाडा अटो शो २०२३ः निःशुल्क सटल बस, अग्रिम अनलाइन टिकट खरिदमा २० प्रतिशत क्यास ब्याक



काठमाडौं । नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालले आयोजना गर्ने नाडा अटो शो २०२३ यही भाद्र २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा भब्य रुपमा संचालन हुने भएको छ । उक्त अटो शो १५औं संस्करण हो । नाडा अटो शो सवारी साधन, पार्ट पूर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको एक मात्र भव्य प्रदर्शनी हो । नाडा अटो शो २०२३ समितिका सभापति अनुप कुमार बरालले हाल विद्यमान बजार सुस्तताका बाबजुद पनि प्रदर्शनीमा विभिन्न अटोमोबाइल कम्पनीहरुको उत्साहजनक सहभागिताले, केही हदसम्म अर्थतन्त्र चलायमान बनाउन यस किसिमको व्यापारिक गतिविधिको योगदानलाई प्रष्ट पार्ने जनाए ।

गेटबाटै सवारी साधन निषेध

भृकुटीमण्डप प्रदर्शनी गेटबाट कुनै पनि सवारीसाधन भित्र नपठाउने निर्णयमा नाडा पुगेको छ । प्रदर्शनी स्थलमा सजिलै आवागमन गर्नका लागि काठमाण्डु मल, सैनिक कल्याणकारी भवन, बस पार्क भ्यू टावर लगायतका सार्वजनिक पार्किङ्ग स्थलहरूबाट महानगर यातायातको सहयोगमा शटल बस सञ्चालन गरिने अटो शो आयोजक कमिटिका सभापति अनुपकुमार बरालले दिए ।

एक्स्पोलाई व्यवस्थित बनाउन, प्रदर्शनी स्थलमा भीडभाड कम गर्न एवं आगन्तुकहरुको भ्रमणलाई सहज बनाउन खल्ती एपमार्फत अनलाइन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको सभापति बरालले जानकारी दिए ।

४५ ब्राण्डका सवारीसाधन प्रदर्शनी

नाडा अटो शो २०२३ मा ४५ ब्राण्डका सवारीसाधन प्रदर्शनी हुने भएका छन् । यसरी प्रदर्शनी हुने ब्राण्डमा १६ वटा चार पाङ्ग्रे, २२ वटा दुई पाङ्ग्रे र ७ वटा लाइट कमर्शियल भेहिकल छन् ।

निःशुल्क सटल बस

यो पटक नाडाले टुरिजम बोर्ड, सहिद गेट, काठमाडौं मल, सैनिक कल्याणकारी भवन, शंखधर पार्क, काठमाडौं भ्यू टावर हुँदै निःशुल्क सटल बस संचालन गर्ने छ । अटो सोमा सहभागीले आफुलाई पायक पर्ने पार्किङ स्थलमा सवारी साधान पार्क गरेर प्रदर्शनी स्थलमा पुग्न सक्ने छन् । स‌ंभव भए सम्म पाच मिनेटको फरकमा ३ वटा निःशुल्क सटल बस संचालन गर्ने नाडाका अध्यक्ष ध्रुव थापा जानकारी दिए ।

७० हजार मानिसले अवलोकन गर्ने अनुमान गरिएको अटो शोले अटोमोवाइल कारोबार चलायमान बनाउने अनुमान गरिएको छ । भदौ ११ देखि २५ गतेसम्मको अग्रिम अनलाइन टिकट खरिदमा खल्तीद्वारा २० प्रतिशत क्यास ब्याकको अफर समेत रहेको छ ।

६ दिनसम्म चल्ने उक्त नाडा अटो शो २०२३मा लगभग ७५ हजार आगन्तुकहरुले अवलोकन गर्ने अनुमान छ । यस वर्षको थप आकर्षणमा कुजु नेपाल प्रालिको प्रायोजनमा नाडाले Yadea E8S Pro Electric Scooter टिकटको लक्की गरी भाग्यसाली एक जना आगन्तुकलाई उपहार दिने व्यवस्था समेत गरिएको छ ।


प्रदर्शनीमा ठूला तथा साना गरि करिव १२० वटा स्टल र ब्लकहरु रहने छन् । उक्त प्रर्दशनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता समेत रहने छ ।

प्रकाशित : १२ भाद्र २०८०, मंगलवार १८:५४