नाडा अटो शो भाद्र २६ देखि भृकुटीमण्डपमा आयोजना हुने, अनलाइनबाटै टिकट खरिद गर्न सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

नाडा अटो शो भाद्र २६ देखि भृकुटीमण्डपमा आयोजना हुने, अनलाइनबाटै टिकट खरिद गर्न सकिने



काठमाडौं । नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालले आयोजना गर्ने नाडा अटो शो २०२३ यही भाद्र २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा भब्य रुपमा संचालन हुने भएको छ । उक्त अटो शो १५औं संस्करण हो ।

नाडा अटो शो सवारी साधन, पार्ट पूर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको एक मात्र भव्य प्रदर्शनी हो । नाडा अटो शो २०२३ समितिका सभापति अनुप कुमार बरालले हाल विद्यमान बजार सुस्तताका बाबजुद पनि प्रदर्शनीमा विभिन्न अटोमोबाइल कम्पनीहरुको उत्साहजनक सहभागिताले, केही हदसम्म अर्थतन्त्र चलायमान बनाउन यस किसिमको व्यापारिक गतिविधिको योगदानलाई प्रष्ट पार्ने जनाए ।

उक्त प्रदर्शनीको शिर्ष प्रायोजक टाटा मोटर्स जेनुइन आयल रहेको छ भने सहप्रायोजकमा शिखर इन्सुरेन्स् कम्पनी लिमिटेड रहेको छ । यसैगरी प्रदर्शनीको डोर प्राइजमा याडिया, टिकटिङ्ग पार्टनरमा खल्ती, अफिसियल इन्टरनेट पार्टनरमा वर्ल्डलिङ्ग, फायर सेफ्टी सपोर्टमा हिटको प्रालि एवं हस्पिटल पार्टनरमा फ्रन्टलाइन् हस्पिटल जस्ता प्रतिष्ठत संस्थाहरू रहेका छन् तथा प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरी रहेको छ ।

आयोजकका अनुसार आर्थिक सुस्तताले अटोमोबाइल व्यवसायीमा नकारात्मक प्रभाव पार्नुका साथै सवारी साधन खरिदकर्ताको वित्तीय योजनामा समेत असर गरेको छ। यस अवस्थामा टाटा मोटर्स जेनुइन आयलद्वारा प्रायोजित नाडा अटो शो २०२३ले बजारलाई चलायमान बनाउन मद्दत पुग्ने आयोजकले विश्वास लिएको छ ।

नेपालीहरुको महान चाडपर्वहरुको पूर्वार्धमा आयोजना हुन गइरहेको यस प्रदर्शनीले अटो व्यवसायी, ग्राहकवर्ग, गाडी प्रेमीहरु तथा अटोमोबाइलसंग प्रत्यक्ष(अप्रत्यक्षरुपमा संलग्न सबैलाई उत्साहपूर्वक सहभागी गराउने आयोजकले विश्वास लिइएको छ । प्रत्येक वर्ष नाडा अटो शोमा सहभागी संस्था तथा अवलोकनकर्ताहरुको चाप बढ्दै गइरहेको सन्दर्भमा, प्रदर्शनीले सवारी साधनलाई विलासिता मात्र नभई, आम सर्वसाधारणको जिविकोपार्जनका लागि चाहिने अत्यावशक साधनको रुपमा चित्रण गर्न सहयोग पुग्ने आयोजकको विश्वास रहेको छ ।

प्रदर्शनीमा ठूला तथा साना गरि करिव १२० वटा स्टल र ब्लकहरु रहने छन् । उक्त प्रर्दशनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता समेत रहने छ ।

प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, ७ वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल, ९ वटा वित्तिय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, व्याटरी, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता रहेको छ ।

प्रदर्शनीलाई बढी जानकारीमुलक, सेवामूलक र ग्राहकमुखी बनाउन अटो सम्बन्धि सेवासुविधा दिइने छ । जसमा वित्तिय सेवा, विक्री सेवा, आदिका छुट्टाछुट्टै स्टलहरु रहने छन् भने अटो सम्वन्धी जानकारी दिने म्यागेजीन तथा पत्रपत्रिकाहरुका लागि पनि एउटा छुट्टै साझा मिडिया स्टलको व्यवस्था गरिएको छ । आम सर्व साधारणलाई ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी व्यापक सुसूचित गराउने उदेश्यका साथ महानगरीय ट्राफिक प्रहरी महाशाखा, काडमाडौंको सुचनाकक्ष समेत प्रदर्शनीमा रहने छ ।

उक्त विशाल प्रदर्शनीमा अवलोकनकर्ताहरुको सुविधालाई विषेश ध्यानमा राखी २ पाङग्रे, ४ पाङग्रे, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुको छुट्टाछुट्टै प्रदर्शन गरिएको छ । प्रदर्शनी स्थलमा सजिलै आवागमन गर्नका लागि काठमाण्डु मल, सैनिक कल्याणकारी भवन, बस पार्क भ्यू टावर लगायतका सार्वजनिक पार्किङ्ग स्थलहरूबाट महानगर यातायातको सहयोगमा शटल बस सञ्चालन गरिनेछ ।

एक्स्पोलाई व्यवस्थित बनाउन, प्रदर्शनी स्थलमा भीडभाड कम गर्न एवं आगन्तुकहरुको भ्रमणलाई सहज बनाउन खल्ती एपमार्फत अनलाइन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । भदौ ११ देखि २५ गतेसम्मको अग्रिम अनलाइन टिकट खरिदमा खरिदमा खल्तीद्वारा २० प्रतिशत क्यास ब्याकको अफर समेत रहेको छ ।

६ दिनसम्म चल्ने उक्त नाडा अटो शो २०२३मा लगभग ७५ हजार आगन्तुकहरुले अवलोकन गर्ने अनुमान छ । यस वर्षको थप आकर्षणमा कुजु नेपाल प्रालिको प्रायोजनमा नाडाले Yadea E8S Pro Electric Scooter टिकटको लक्की गरी भाग्यसाली एक जना आगन्तुकलाई उपहार दिने व्यवस्था समेत गरिएको छ ।

प्रकाशित : ११ भाद्र २०८०, सोमबार १३:२९