राज्यका सबै तहमा एउटै स्तरीकरण कार्यक्रम लागु गरौं : परितोष पौड्याल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बिशेष

राज्यका सबै तहमा एउटै स्तरीकरण कार्यक्रम लागु गरौं : परितोष पौड्याल



काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)का अध्यक्ष परितोष पौड्यालले सहकारीहरुका लागि संघ, प्रदेश र स्थानीय तहमा एउटै स्तरीकरण कार्यक्रम आवश्यक रहेको औंल्याएका छन् ।

संघको ३६औं स्थापना दिवसको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पौड्यालले पालिकापिच्छे फरक मापदण्ड लागु गरेर ७५३ तहमा फरक स्तरीकरण आयोजना गर्दा सफल हुन नसक्ने बताए । त्यसका लागि मुलुकभर एउटै स्तरीकरण कार्यक्रम लागु गर्न सरकारले चासो दिनुपर्ने सुझाव दिए ।

संस्था संचालन प्रणालीमा एकरुपता नहुनु, सरकारले नियमन गर्न नसक्नु साथै नीति, विधि र प्रविधिमा एककरुपता नहुँदा अभियान असफल हुने भएकाले राज्यले सोही अनुसारको योजना अघि सार्नुपर्ने बताए । नेफ्स्कुनले ३६ औं स्थापनापछि मुलुकभर पुर्नजागरण अभियान संचालन गर्न लागेको जानकारी दिंदै उनले साकोस अभियान सफल बनाउन स्रोतको बाँडफाँड, संचालनमा स्तरीकरण, करारीय ऐक्यबद्धता, सुशासन प्रवद्र्धनको रणनीति र आन्तरिक नियमको स्थापना गरेर अघि बढ्नुपर्ने औंल्याए ।

भावी रणनीति सुनाउँदै अध्यक्ष पौड्यालले भने,‘संस्थाहरुका लागि विगतका बर्षहरु केही धमिलो भएकाले अब संग्लो बनाएर हिड्ने छौं । चुनौतिका विचमा संभावना खोज्नेछौं । दुनियाँ बदल्न नेतृत्व विकासलाई प्राथमिकता दिनेछौं साथै सहकारीको दार्शनिक मूल्यलाई स्थापित गर्न सिद्धान्तको गति अघि बढाउँदै उच्चस्तरीय सेवा प्रदान गर्न प्रेरित गर्नेछौं ।’

बचतकर्ता सडकमा आउनेपर्ने अवस्था चार बर्षअघि नै थाहा पाएर राज्यलाई जागृत गराएको उनले सुनाए । अध्यक्ष पौड्यालले अबका दिनमा स्थानीयतामा जोड दिंदै समुदायका विपन्न बर्गको जीवनस्तर उकास्नेगरी काम गर्ने प्रण गरे । संस्थाहरुलाई समय सापेक्षित परिवर्तन गर्न प्रविधिको प्रयोगमा जोड दिनुपर्ने सुझाए । सो अवसरमा वित्तिय स्थिरता कायम गर्नका लागि नयाँ रणनीतिका साथ अघि बढिसकेको प्रष्ट पारे ।

प्रकाशित : ३२ श्रावण २०८०, बिहीबार १२:१०