३५६ कर्मचारी र जनप्रतिनिधिविरुद्ध भ्रष्टाचारको मुद्दा, १ अर्ब ७७ करोड बढी विगो दाबी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

३५६ कर्मचारी र जनप्रतिनिधिविरुद्ध भ्रष्टाचारको मुद्दा, १ अर्ब ७७ करोड बढी विगो दाबी



काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक वर्षको अवधिमा एक जना विशिष्ट तहका कर्मचारीसहित ३५६ राष्ट्रसेवक कर्मचारीविरुद्ध भ्रष्टाचारमा मुद्दा दायर गरेको छ । अख्तियारको कारबाहीमा बढी मात्रामा खरिदार, सुब्बा, अधिकृत र उपसचिवसम्मका कर्मचारी पर्ने गरेका छन् ।

अख्तियारका अनुसार आर्थिक वर्ष २०७९/८० मा विशेष अदालतमा दायर गरिएका १६२ मुद्दाका ७६० प्रतिवादीमध्ये झन्डै आधाको संख्यामा कर्मचारी परेका छन् । अख्तियारका अनुसार अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा भ्रष्टाचारमा मुद्दा खेप्ने कर्मचारीको संख्या ३१० जना रहेको थियो । अख्तियारले चालु आर्थिक वर्ष २०८०/८१ को २४ दिनको अवधिमा ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार गत एक वर्षमा मुद्दा दायर गरिएका ७६० मध्ये सबैभन्दा बढी ३५६ कर्मचारी र त्यसपछि जनप्रतिनिधिहरू रहेका छन् । सो अवधिमा निर्वाचित र मनोनीत गरी २२६ जना जनप्रतिनिधिविरुद्ध भ्रष्टाचारमा मुद्दा चलाइएको छ । भ्रष्टाचारमा मुद्दा चलाइएका कर्मचारी र जनप्रतिनिधि सबै हाल निलम्बित अवस्थामा छन् ।

अख्तियारका अनुसार मुद्दा दायर गरिएकाहरूबाट १ अर्ब ७७ करोड ५८ लाख ४६ हजार रुपैयाँ बिगो माग दाबी गरिएको छ । उनीहरू भ्रष्टाचारी ठहरिए देशको राजस्वमा १ अर्ब ७७ करोड आउने देखिएको छ ।

प्रकाशित : २५ श्रावण २०८०, बिहीबार ११:१९