बैंकहरुले सरकारलाई बुझाए ३२ अर्ब बढी आयकरः पहिलो स्ट्याण्डर्ड चार्टर्ड, दोस्रो नबिल, कुनको कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बैंक / वित्त

बैंकहरुले सरकारलाई बुझाए ३२ अर्ब बढी आयकरः पहिलो स्ट्याण्डर्ड चार्टर्ड, दोस्रो नबिल, कुनको कति ?



काठमाडौं ।  बैंकहरुले सरकारलाई एक बर्षमा ३२ अर्ब रुपैयाँ भन्दा बढी आयकर बुझाएका छन् । गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्ममा नेप्सेमा सूचिकृत १६ वटा विकास बैंक र २० वटा वाणिज्य बैंकहरुले गरेको आम्दानी बापत सरकारलाई ३२ अर्ब २१ करोड ६४ लाख १७ हजार रुपैयाँ आयकर बुझाएका हुन् ।

यो अघिल्लो आवको तुलनामा ६.१७ प्रतिशतले बढी हो । अघिल्लो आवको यसै अवधिमा बैंकहरुले ३० अर्ब ३४ करोड ४४ लाख ३४ हजार रुपैयाँ सरकारलाई आयकर वापत बुझाएका थिए । नाफा रकम विभिन्न खर्च र कर छुट्याएपछि आउने नाफा मात्र बैंकहरुको खुद नाफा हो। पछिल्लो समय बैंकहरुको नाफा तथा आम्दानी बढेकाले नै आयकर भुक्तानीमा वृद्धि आएको हो । बैंक तथा वित्तीय संस्थाहरुले आम्दानीको ३० प्रतिशत कर तिर्नुपर्ने हुन्छ। बैंकहरुले कर पछिको नाफामा १० प्रतिशत कर्मचारी बोनस छुट्याएपछि बाँकीमा ३० प्रतिशत आय कर सरकारलाई बुझाउनु पर्ने प्रावधान छ ।

नेपालमा कुनै पनि संस्थाको वार्षिक आयकर १० हजार रुपैयाँभन्दा बढी भएमा वार्षिक अनुमानित आम्दानीको ४० प्रतिशत पुस मसान्तमा र ३० प्रतिशत थप गरी ७० प्रतिशत चैत मसान्तमा र असार मसान्तमा सत प्रतिशत बुझाउनुपर्छ ।

 वाणिज्य बैंकहरुले मात्र तिरे २९ अर्ब बढी आयकर

गत आवको चौथो त्रैमाससम्ममा वाणिज्य बैंकहरुले मात्र सरकारलाई २९ अर्ब ६० करोड ३१ लाख ८९ हजार रुपैंया बराबरको आयकर तिरेका छन् । जुन अघिल्लो आवको तुलनामा ८.४३ प्रतिशत बढी हो । अघिल्लो आवको यसै अवधिमा वाणिज्य बैंकहरुले आम्दानी बापत  २७ अर्ब ३० करोड ६ लाख रुपैंया भन्दा बढी आयकर तिरेका थिए । गत आवको अन्त्यसम्ममा सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टर्ड बैंकले एक अर्ब ५१ करोड ८ लाख ९३ हजार रुपैंया सरकारलाई आयकर बुझाएको छ । जुन अघिल्लो आवको तुलनामा ५५.३१ प्रतिशत बढी हो । अघिल्लो आवको यसै अवधिमा यस बैंकले ९७ करोड २७ लाख ९५ हजार रुपैंया आयकर बापत तिरेको थियो ।

त्यस्तै नबिल बैंक पनि धेरै आयकर तिर्ने मध्ये दोस्रो स्थानमा पर्छ । यस बैंकले गत आवको अन्त्यसम्ममा सरकारलाई आयकर बापत तीन अर्ब २५ करोड ७३ लाख ११ हजार रुपैंया तिरेको छ । यो अघिल्लो आवभन्दा ५२.८२ प्रतिशत बढी हो । त्यस्तै, लक्ष्मी सनराइज बैंकले पनि यो एक बर्षमा ९३ करोड ३३ लाख २२ हजार रुपैंया भन्दा बढी आयकर बुझाएको छ । जुन अघिल्लो आव भन्दा ४२.५६ प्रतिशतले बढी हो । त्यस्तै एभरेष्ट बैंकले तिर्ने आयकर गत असारमसान्तसम्म ३३.२७ प्रतिशतले बढेर एक अर्ब ४५ करोड ४२ लाख बढी पुगेको छ ।

त्यसैगरी समिक्षा अवधिमा ग्लोबल आइएमई बैंक र नेपाल एसबीआइ बैंकको सरकारलाई बुझाउने आयकर २५ प्रतिशतले बढेर क्रमश: दुई अर्ब ८५ करोड ४ लाख ८६ हजार, ९७ करोड ९० लाख भन्दा बढी पुगेको छ । एक बर्षमा वाणिज्य बैंक मध्ये सबैभन्दा कम आयकर बुझाउने प्राइम कमर्सियल बैंक रहेको छ । यसले गत आवको अन्त्यसम्ममा सरकारलाई आयकरबापत एक अर्ब सात करोड १५ लाख ८ हजार रुपैंया तिरेको छ । जुन अघिल्लो आवको तुलनामा ३४.२५ प्रतिशतले कमी हो ।

१६ वटा विकास बैंकले कति तिरे एक बर्षमा आयकर ?

गत आर्थिक बर्षको अन्त्यसम्ममा नेप्सेमा सूचिकृत १६ वटा विकास बैंकहरुले सरकारलाई आफ्नो आम्दानीबाट तिर्ने आयकर घटेको छ । अघिकांश विकास बैंकहरुको गत आवको चौथो त्रैमासमा खुद नाफा घटेसंगै आयकर भुक्तानीमा पनि कमी आएको हो । समिक्षा अवधिमा यी विकास बैंकहरुले सरकारलाई दुई अर्ब ६१ करोड ३२ लाख २७ हजार रुपैंया आयकर बुझाएका छन् । यो अघिल्लो आवको तुलनामा १४.१५ प्रतिशतले कमि हो । अघिल्लो आवको यसै अवधिमा बैंकहरुले तीन अर्ब चार करोड ३८ लाख १६ हजार रुपैंया बुझाएको थियो ।

समिक्षा अवधिमा आयकर बुझाउनेमा अग्रस्थानमा कर्पोरेट डेभलपमेन्ट बैंक रहेको छ । यसले चौंथो त्रैमाससम्म ७९ लाख ३४ हजार रुपैंया बुझाएको छ । जुन अघिल्लो आवको तुलनामा ७६.५२ प्रतिशत बढी हो । अघिल्लो आवमा यसले ४४ लाख ९५ हजार रुपैंया बुझाएको थियो । त्यस्तै, अर्को साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको आयकर १७.३७ प्रतिशतले बढेर ३४ करोड ४५ लाख ५४ हजार भन्दा बढी तिरेको छ । अघिल्लो आवमा यसले २९ करोड ३५ लाख ७२ हजार रुपैंया तिरेको थियो । त्यस्तै, गरिमा विकास बैंकले ५२ करोड १७ लाख ३० हजार रुपैंया आम्दानी बापत सरकारलाई आयकर तिरेको छ । यो अघिल्लो आवको तुलनामा १५.२१ प्रतिशतले बढी हो । समीक्षा अवधिमा सबैभन्दा कम आयकर तिर्ने विकास बैंकमा एक्सेल डेभलपमेन्ट बैंकले एक करोड ९२ लाख ६७ हजार रुपैंया तिरेको छ । जुन अघिल्लो बर्षको तुलनामा ६० प्रतिशत भन्दा बढीले कमी आएको छ ।

प्रकाशित : २३ श्रावण २०८०, मंगलवार १०:४९