सहकारी क्षेत्रमा विगत २५ वर्षदेखि विभिन्न केन्द्रीय भूमिकामा रहेर काम गरिरहेका केबी उप्रेती (कृष्ण बहादुर उप्रेती)हाल राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष छन् । सहकारी बैंकको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका उप्रेतीले यसअघि दुई कार्यकाल प्रबन्ध सञ्चालक(महाप्रबन्धकको जिम्मेवारी हेर्ने गरि) काम गरेका थिए ।
जिल्ला सहकारी संघ साथै राष्ट्रिय सहकारी महासंघको महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै १९ औं वार्षिक साधारण सभाबाट दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित भएर जिम्मेवारी सम्हालिरहेका छन् । हालै मात्र सरकारले उनलाई सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको वित्त विश्लेषकका रुपमा सदस्यमा मनोनीत पनि गरेको छ ।
यसै सिलसिलामा हालको सहकारी अभियान, बैंकको विगत र आगामी रणनीति साथै पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका समसामयिक घटनाक्रमलाई लक्षित गर्दै अर्थबजार डटकमका लागि डिल्ली प्रसाद सापकोटा र युवराज गौतमले संक्षिप्त कुराकानी गरेका छन् ।
सहकारी बैंकको स्थापना कालदेखि नै सक्रिय भूमिकामा हुनुहुन्छ । हाल अध्यक्षका रुपमा काम गरिरहँदा कस्तो अनुभव भइरहेको छ ?
बैंकको स्थापनाका सिलसिलामा शुरुमा हामी दिपक बाँस्कोटाको अगुवाइमा हामी अघि बढेका थियौं । २०५८ सालमा राष्ट्रिय भेलाबाट म संचालकमा चयन हुँदा दिपक बाँस्कोटा अध्यक्ष बन्नुभयो । त्यो समिति तदर्थ जस्तै थियो । २०६० सालमा राष्ट्र बैंकको सिफारिस गर्ने काममा बाँस्कोटा र मेरै भूमिका धेरै थियो । लबिङका लागि ७५ प्रतिशत म आफैं खटें । सिफारिस भइसकेपछि ०६० सालमै बैंक दर्ता गर्यौं । त्यसबेला प्राविधिक कारणले बाँस्कोटा अध्यक्ष भइरहँदा दर्ता गर्न समस्या भयो । त्यसका बाबजुत राजेश्वर जोशीलाई अध्यक्ष बनाएर अघि बढियो ।
बाँस्कोटाले धेरै दुःख गर्नुभए पनि संस्थापक चाहीं बन्न सक्नुभएन । तर म सेवा सुविधा नलिइकन सक्रिय थिएँ । लबिङ गर्ने काममा सक्रिय थिएँ । ०६० असार २५ गते दर्ता भएपछि केही बर्ष असार २५ लाई नै स्थापना दिवस पनि मनाएका थियौं । क्लोजिङको समय हुने भएकाले असारमा स्थापना दिवस मनाइरहने संभावना भएन । साउन १९ गतेबाट चाहीं कारोबार शुरु गरेका थियौं । त्यसपछि १९ गतेलाई स्थापना दिवसका रुपमा मनाउन थालेका हौं ।
त्यसबेला सरकारबाट बैंक स्थापनार्थ एक करोड रुपैंयाँ प्राप्त भयो । तत्कालीन अर्थमन्त्री महेश आचार्यले सो रकम छुट्याइदिनुभएको थियो । त्यो पैसालाई शेयरमा रुपान्तरण गर्यौं । त्यसबेलादेखि लगातार १५ बर्षसम्म प्रवन्ध संचालक भएर काम गरें । पछि २०६७ सालमा राष्ट्र बैंकबाट स्वीकृति पनि लियौं । तर लगातार दुई अवधी भन्दा बढी कार्यकारी रहन नपाउने भएपछि १५ बर्षपछि छाडें । ०७० मा अध्यक्ष भएँ । अहिले दोस्रो कार्यकालको अध्यक्षका रुपमा कार्यरत छु ।
अहिले बैंकको अवस्था तपाइँले देखिरहनु भएको छ । उतार चढाव त धेरै भइरहन्छ । शुरुमा पाँचसय वटा सहकारीबाट एक करोड र सरकारबाट प्राप्त एक करोड गरेर जम्मा गरी दुई करोडबाट काम शुरु भएको हो । त्यसपछि क्रमशः क्षेत्र, शाखा, सदस्य संख्या र रकम बढ्दै गयो । अहिले १६ हजार प्लस सदस्य छन् । ६७ अर्वजति कारोबार भइरहेको छ । ५८ अर्बजति बचत भयो होला । दुई अर्ब ८० करोडजति शेयर छ भने कर्जा ३३ अर्बजति छ । नयाँ तथ्यांक आइसकेको छैन । यसपाली नाफा दिन सकिदैन होला, प्रोभिजनको समस्या देखिएको छ ।
बैंक संचालन गर्न वा कारोबार गर्न नीतिगत समस्या छ भनिन्छ । वास्तविक समस्या चाहीं के के हुन् ?
प्रशस्त समस्याहरु छन् । दोहोरो नियमन भएकाले धेरै कठिनाइ ब्यहोरिरहनु परेको छ । सहकारी विभाग र राष्ट्र बैंकको नियमन गर्ने भएकाले समस्याहरु आइरहन्छन् । मिलाउँदै अघि बढिरहेका छौं । पूर्ण बैंकिङका सुविधाहरु दिन सकेका छैनौं । क्लिलियरिङ, इन्टर बैंकको कुराहरुमा कठिनाइ छ । हामी विशेष अवस्थामा आएकाले समस्या ब्यहोरिरहेका छौं । यस्ता प्राविधिक समस्या समाधान गर्न छुट्टै सहकारी बैंक ऐन बनाउन सिफारिसको प्रयासमा छौं ।
यतिबेला सिंगो सहकारी क्षेत्रमा विश्वासको संकट देखिन्छ । बचत फिर्ता नभएको भनेर आन्दोलन भइरहेको छ । यसलाई कसरी समाधान गर्ने ?
सबैभन्दा धेरै चाहीं मिडियाले नकरात्मक सूचना फैलाए । सहकारी खराबै हुन भन्ने म्यासेज गइरहेको छ । हुनत केही सहकारीमा शुसासनको कमी भयो होला । तर सबै सहकारी खराब होइनन र छैनन । सफलताका कथाहरु मिडियामा आएनन् । सहकारीका राम्रा र उपलब्धीमुलक काम मिडियाले बाहिर ल्याइदिनुपर्छ । ठगीको मात्र खबर बाहिर आउँदा अभियानलाई असर गरिरहेको छ । एउटा पक्ष यसैबेला सहकारीलाई तह लगाउनुपर्छ भनेर अघि बढेका छन् । सरकारले पनि सकरात्मक भूमिका निर्वाह गरिरहेको छैन । सरकारले पनि सहकारीलाई ठगी, फटाह र खराब मात्र देखिरहेको छ ।
तर यि सबै समस्याहरुलाई समाधान गरेर अघि बढ्नुपर्छ । सुधारेर अघि बढ्नुपर्छ । महासंघको आन्दोलन पनि अघि बढेन । हालको कार्यदलले यस्ता समस्याहरुको समाधानमा पहल गर्छ । एक्सन प्लान बनाएर, भइरहेको ऐन र नियमावलीलाई कार्यान्वयन गराएर अघि बढ्नुपर्छ ।
थप विषयमा पनि छलफल गरेर अघि बढ्नुपर्छ । कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायधीकरण, बचत तथा ऋण सुरक्षित कोष, एक व्यक्ति, एक प्रकृति, एकठाउ सदस्य हौं भन्ने व्यवस्था, संघहरुले अनुगमन गर्ने, सिआइबीमा पठाउने भन्ने कुरा त माग भएकै विषय हुन । यि सबैमा ध्यान दिन सकियो भने समस्या समाधान हुन्छ । अर्को कुरा स्थानीय तहमा सहकारी प्राथमिकता परेको छैन । राजनीतिक दलको दबाबका भरमा दर्ता गर्ने क्रम चलिरहेको छ । यसका लागि सबै एकजुट भएर समस्या समाधानमा लाग्नुपर्छ ।
बाणिज्य बैंक, विकास बैंकको तुलनामा सहकारी बैंकको सेवा सुविधा न्यून छ भनिन्छ नि ?
होइन, उनीहरुको प्रकृति र हाम्रो फरक हो । हामी संख्यात्मक रुपमा बढी छौं, उनीहरु भोलममा अघि छन । त्यसो हुँदा कस्ट कम पनि हुन्छ । हामी सहकारी ऐनमा चल्छौं भने उनीहरु कम्पनी ऐनमा चल्छन् । त्यस कारणले पनि हामी फरक हौं । मुल्य मान्यता नै फरक हो । हामी धेरै संख्या भएकाले पनि मानिसहरु आत्तिएका छन् । मनीटरिङ कसरी हुन्छ भन्नेमा छन् । विभागले कति करोड माथिको हेर्ने ? राष्ट्र बैंकले कतिसम्म हेर्ने भन्ने कुरा त व्यवस्थापन गर्न सकिन्छ । सेल्फ रेगुलेशनका कुराहरु पनि छन् । त्यसका लागि सरकारले सहयोग गर्नुपर्यो र सहकारी अभियानले साथ दिनुपर्यो । जे भए पनि संयुक्त रुपमा अघि बढ्न सक्नुपर्छ ।
तपाइँ अध्यक्ष निर्वाचित भएर आएपछि त वित्तिय संकट मात्र देखिएको छ । काम गर्न कत्तिको गार्हो भइरहेको छ ?
वितेको दुई बर्ष वित्तिय सुचांक राम्रो छैन । प्रोभिजन धेरै आइरहेका छन् । पछिल्लो समय झनै संकट देखिरहेको छ । पैसाको अभाव छ ।
तरलता व्यवस्थापनमा चाहीं बैंकले कस्तो भूमिका निर्वाह गरिरहेको छ ?
हामीले केही मापदण्डमै परिमार्जन गरेर अघि बढेका छौं । बोर्डले नै निर्णय गरेर काम अघि बढाएका छौं । तरलता व्यवस्थापनमा सहयोग गर्दा संस्थालाई राम्रो हुन्छ भने किन सहयोग नगर्ने । यता सदस्यता बृद्धि, निक्षेपमा हामी सन्तोसजनक अवस्थामै छौं । तर संकटका कारण नाफा, कर्जा, शेयरलगायतका क्षेत्रमा लक्ष्य अनुसार काम गर्न सकिएको छैन ।
सहकारी बैंकले उत्पादनमुलक क्षेत्रमा कामै गरेन, जथाभावी लगानी गर्यो भन्ने आरोप छ नि ? यस सम्बन्धमा अबको योजना के छ ?
उत्पादनसँग जोडिएका कुनै पनि प्रोजेक्ट हामीले अस्वीकृत गरेका छैनौं । मुख्य कुरा त प्रस्ताव आउनुपरो । रिर्टन आउने प्रोजेक्टमा लगानी गरेका छौं । सहकारीहरु नै उत्पादनतिर गइरहेका छैनन् । अब हामी ५० प्रतिशत लगानी उत्पादनमुलक क्षेत्रमा नै गर्नेछौं । उत्पादन क्षेत्रमा गएकाहरुलाई वित्तिय समस्या पनि आएको छैन । तरलताको अभाव छैन । बचत ऋण दिएर भएपनि उत्पादन क्षेत्रमा काम गर्ने लक्ष्य छ । नाम अनुसार काम गर्ने लक्ष्य छ । कोपोमिसका क्षेत्रमा पनि बेग्लै रुपमा काम गरिरहेका छौं । यसमा सबैभन्दा धेरै योगदान हाम्रै होला । यसलाई परिमार्जन गर्नुपर्ने बाध्यता चाहीं छ । लगानीको सवालमा डाटा संकलन आवश्यक देखिएको छ ।
प्रदेश संरचनाका कारण सहकारीहरुलाई नीतिगत र कानूनी जटिलता चाहीं कस्तो छ ?
बैंकलाई भन्दा पनि संस्थाहरुलाई चाहीं असर परेको छ । सहकारी अभियानलाई असर पुर्याएकाले एकरुपता ल्याउनुपर्छ भन्नेमा छौं । संघीय, प्रदेश र पालिका ऐन फरक पर्ने भएकाले सहकारी अभियानमा प्रत्यक्ष असर परेको छ । सहकारीलाई स्थानीय तहसम्मलाई अधिकार दिंदा समस्या आयो, विकृति भित्रिएको छ । यसको परिणाम राम्रो आएन । ठूला पालिकाहरुमा राम्रो भएपनि समग्रमा तल्लो तहलाई हस्तान्तरण गर्दा परिणाम राम्रो आएन ।
सहकारी क्षेत्रमा दलीय राजनीतिक बढी भयो है ?
राजनीति क्षेत्र बाहिरका त मान्छे नै छैनन् । तर सहकारीमा आएर राजनीति गर्न नखोजे हुन्छ । सेवामा राजनीतिक पूर्वाग्रह राख्नुहुँदैन ।
सहकारी व्याजदर व्यवहारिक र बैज्ञानिक छैन भनिन्छ नि ?
हाम्रो ऐनमा सन्दर्भ ब्याजदर भन्ने छ । व्याजदर समिति पनि छ तर मापदण्ड र क्यापिङ लगाउने कुरा बैज्ञानिक छैन । दफा नै खारेज गर्नुपर्छ भन्ने कुरा उठिरहेका छ ।
सहकारी बैंकले वा सहकारी अभियानले राज्यबाट के अपेक्षा गरेको छ ?
राज्यले भएको ऐनलाई कार्यान्वयन गर्नुपर्छ । आवश्यकता अनुसार परिमार्जन गर्नुपर्छ । गैर वित्तिय क्षेत्रमा सफ्ट लोन र अनुदानको व्यवस्था होस । क्षमता विकास र पाठ्यक्रम विकास कार्यक्रममा सरकारको सहयोग आवश्यक छ । नीति परिमार्जन गर्ने सवालमा राज्य सकरात्मक बन्नुपर्छ । जनशक्ति र प्रविधिको व्यवस्थापन पनि जरुरी देखिएको छ । विभिन्न निकायहरुबीच सहमति र सम्झौता गरेर काम गर्नुपर्ने छ ।
सहकारी बैंकको अबको लक्ष्य के हो ?
बैंकको लक्ष्य र सपना असिमित छन् । कारोबार खर्ब माथि पुर्याउने लक्ष्य छ । शेयर, निक्षेप, सदस्य संख्या, शाखा बृद्धि गर्नुपर्ने छ । प्रविधियुक्त बनाउनुपर्ने छ । छुट्टै बैंक ऐन ल्याएर पूर्ण बैंकको काम गर्ने बनाउनुपर्नेछ । सहकार्य गरेर क्रमश शुसासन गर्नुपर्ने कामहरु छन् । जनशक्ति बृद्धि, क्षमता अभिबृद्धि, कारोबार बृद्धि र भौतिक पूर्वाधारको विकासमा धेरै काम गर्नुपर्नेछ । २१ औं बर्ष प्रवेशका अवसरमा बेग्लै रणनीतिका साथ अघि बढ्नुपर्ने छ । वित्तिय तरलता व्यवस्थापनका लागि सबै सदस्यहरु संयमताका साथ लाग्न अनुरोध गर्दछु । सदस्यहरुले नै संस्था जोगाउने भएकाले सोही अनुसार काम गर्न अनुरोध गर्दछु । मिडियाहरुले सफलताका कथाहरुलाई प्राथमिकता दिन साथै संस्थाहरुले सदस्यता लिन र लिएकाहरुले लक्ष्य उदेश्य अनुसार काम गर्न आग्रह गर्दछु ।
Comment