पशुपति सहकारीका सञ्चालक र कर्मचारीलाई भुक्तानीसम्बन्धी कार्य नगर्न निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

पशुपति सहकारीका सञ्चालक र कर्मचारीलाई भुक्तानीसम्बन्धी कार्य नगर्न निर्देशन



काठमाडौं । समस्याग्रस्त घोषित पशुपति सेभिङ एन्ड क्रेडिट को–आपरेटिभको सञ्चालक समिति, व्यवस्थापन तथा कर्मचारी अधिकार स्वतः निलम्बन भएको छ।

सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको गत साउन १ को निर्णयबाट पशुपति सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको थियो। योसँगै सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न सहकारी व्यवस्थापन समितिको कार्याललाई मन्त्रालयले आग्रह गरेको छ।

सोही ऐनको दफा १११९१० बमोजिम पशुपति सहकारी संस्थाको सञ्चालक समिति, व्यवस्थापन तथा कर्मचारीको अधिकार स्वतः निलम्बन भएको समितिद्वारा सूचनामा उल्लेख छ। सञ्चालक तथा कर्मचारीले पशुपति सहकारीसँग सम्बन्धित सम्पूर्ण कागजात तथा सम्पत्तिहरु समितिसमक्ष बुझाई कार्यालय बन्द गर्नुका साथै कुनै पनि कारोबार नगर्न समितिले निर्देशन दिएको छ।

सञ्चालक र कर्मचारीले समितिसमक्ष उपस्थित भई आवश्यक सहयोग गर्न पनि समितिले निर्देशन दिएको छ। ऋणी सदस्यहरुले समितिमा सम्पर्क राखी ऋण भुक्तानी गर्न र साबिक सञ्चालक र कर्मचारीसँग भुक्तानीसम्बन्धी कारोबार नगर्न पनि समितिले आग्रह गरेको छ।

समितिले बचतकर्ताहरुले बचतसँग सम्बन्धित सम्पूर्ण प्रमाण सुरक्षित राखी समितिबाट मागदाबी निवेदन आवेदनको सूचना जारी भएपछि निवेदन पेस आग्रह गरेको छ।

समस्याग्रस्त घोषित संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागी समितिको कार्यालयसँग मात्र कामकारबाही गर्न सूचनामा उल्लेख छ।

प्रकाशित : १२ श्रावण २०८०, शुक्रबार २२:११