भदौ १५ देखि भृकुटीमण्डपमा विद्युतीय सवारी साधनको एक्स्पो हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

भदौ १५ देखि भृकुटीमण्डपमा विद्युतीय सवारी साधनको एक्स्पो हुने



काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही भदौ १५, १६ र १७ गते नेपाल ईभी एक्स्पो सुरू हुने भएको छ । इलेक्ट्रिक भेइकल म्यानुफ्याक्चरर्स एन्ड ईम्पोर्टर्स असोसिएसन अफ नेपाल र मीडिया स्पेस सोलुसनस तथा फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्टट्को संयुक्त आयोजनामा उक्त ईभी एक्स्पो शुरु हुन लागेको हो । नेपालमा विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ एक्स्पो आयोजना हुन गइरहेको आयोजकले जानकारी गराएका छन् ।

विद्युतीय सवारीलाई प्रवद्र्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले ३ दिनसम्म सञ्चालन हुने एक्स्पोमा १ सयभन्दा बढी प्रतिष्ठित कम्पनीहरूको सहभागिता र १ सय ५० भन्दा धेरै ब्राण्डका गाडी तथा विद्युतीय सामग्रीहरु प्रदर्शनीका लागि राखिने छ ।

एक्स्पोमा विशेष गरी विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल, साइकल, विद्युतीय बस, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेशन, ब्याट्री तथा अन्य विद्युतीय सामग्रीहरू, अटोकम्पोनेण्ट, टायर, व्याट्री, ग्यारेज इक्यूपमेण्टस, चार्जिङ स्टेशन लगायत बैंक तथा इन्स्योरेन्स कम्पनीहरुको उल्लेखनीय सहभागिता रहने विश्वास आयोजकले लिएका छन् ।

विद्युतीय यातायातको सुविधाले परम्परागत गाडीहरूले निम्त्याउने स्वास्थ्यका साथै जलवायु परिवर्तनका समस्याहरू पनि कम गर्दछ । यसरी विद्युतीय गाडीको प्रयोगले वैकल्पिक ऊर्जाहरूको खपतलाई प्रोत्साहन गर्दै देशभित्रै क्लिन इनर्जीको खपत बढाउने काम गर्छ ।
हालका दिनहरुमा प्रायःजसो ग्राहकहरुको रोजाई विधुतिय सवारी नै हुने गरेको र आर्थिक मन्दीको अवस्थामा पनि विद्युतीय सवारीहरु राम्रोसँग बिक्री भइरहेको इभ्मिनका अध्यक्ष तथा यस एक्स्पोका संयोजक श्यामसुन्दर सापकोटाले बताएका छन् ।

यस्तै सापकोटाले इभ्मिनका विद्युतीय सवारी साधनसम्बन्धी काम गर्ने आयतकर्ता, निर्माणकर्ता, व्यवसायी, डिलर, चार्जिङ स्टेशन सञ्चालक सबैको साझा संस्था रहेको भन्दै विगत ११ वर्षदेखि विद्युतीय सवारीको प्रवर्धन, विस्तार तथा नीति निर्माणको काममा सहयोग गर्दै आएको बताए ।

प्रकाशित : १ श्रावण २०८०, सोमबार २१:१२