कर्जा विस्तार नहुँदा बैंकमा अधिक तरलता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बैंक / वित्त

कर्जा विस्तार नहुँदा बैंकमा अधिक तरलता



काठमाडौं । बैंकिड प्रणालीमा अधिक तरलता भएपछि साउनका लागि अधिकांश बैंकहरुले ब्याजदर घटाएका छन् । पछिल्लो तथ्यांकलाई हेर्ने हो भने केही समयदेखि कर्जा लगानी लगभग स्थिर जस्तो देखिएको छ भने निक्षेप संकलन बढ्दो छ । कर्जा विस्तार नहुँदा अधिक तरलताको अवस्था र्सिजना भएको हो।

साउनका लागि बाणिज्य बैंकहरुको औसत ब्याजदर ९.७८ प्रतिशत रहेको छ ,भने असार मसान्तसम्म यी बैंकहरुको औसत ब्याजदर ९.९९ प्रतिशत थियो । बैंकिङ प्रणालीमा निक्षेप निरन्तर बढ्दै जाँदा बैंकहरुको अन्तर बैंक ब्याजदर १ प्रतिशत विन्दु भन्दा तल झरेको छ । जेठ ३२ गते वाणिज्य बैंकहरुको औसत अन्तरबैंक ब्याजदर ५.४८ प्रतिशत कायम भएको राष्ट्र बैंकको तथ्याडकमा उल्लेख छ।

पछिल्लो एक बर्षमा आर्थिक गतिविधिमा देखिएको मन्दी, महँगो ब्याजदर, बैंक तथा वित्तीय संस्थाप्रति आमनागरिकमा बढ्दै गएको वितृष्णा, बैंकहरूविरुद्ध गतिविधि, निजी क्षेत्रको खस्किएको मनोबललगायत कारण बैंकहरूले चाहेर पनि कर्जा प्रवाह गर्न नसकेको जानकारहरू बताउँछन् । बैंक तथा वित्तीय संस्थाले विभिन्न आकर्षक योजना ल्याइरहँदा पनि अपेक्षित रूपमा कर्जा प्रवाह बढ्न सकेको छैन ।

बिचमा केहि बैंकहरुले ब्याजदर अपेक्षा गरेभन्दा बढी बढाएका पनि छन् । यस्तो संस्थागत निक्षेपहरु जहा बढी ब्याज छ त्यही बढी लैजाने प्रबलता बढी हुन्छ । अहिलेको परिस्थिती अनुसार कम ब्याजदर भएको बैंकबाट बढी ब्याज भएको बैंकहरुमा निक्षेपकर्ताहरु जाने सम्भावना रहेको एभरेष्ट बैंकका सिइओ सुदेश खालिङ बताउछन् । यसले अगामी महिनामा कस्तो अवस्था ल्याउछ । सोहि अनुसार अगाडी बढ्न सकिन्छ । पहिले देखि नै असारमा कर्जाको माग न्युन हुने र निक्षेपको वृद्धिदर भने उच्च हुने गर्छ । यसले बैंकिङ प्रणालीमा थप तरलता बढाउँछ ।

असारमा कर्जाको माग न्यून हुने भएकोले सीडी रेसियो घट्दै जाने खालिङले बताए । अहिले बजारमा कर्जाको माग आएको छैन् । राष्ट्र बैंकको क्षेत्रको तथ्याङ्क हेर्ने हो भने आयात निर्यात दुबै घटेको अवस्था रहेको छ । उनले भने , राष्ट्र बैंकले चालु पुँजीकर्जा सम्बन्धि निति ल्यायो । त्यसले गर्दा पनि कर्जा विस्तार हुन नसकेको उनको भनाई छ । जब चाडबाड नजिकिदै गर्दा आयात निर्यातमा बृद्धि हुदै जान्छ । ‘रेमिट्यान्सको आप्रवाह पनि राम्रो देखिन्छ अनि बजारमा हलचल हुने खालिङको बुझाई छ ।

नेपाल राष्ट्र बैंकको गत जेठ मसान्तको तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५५ खर्ब ४७ अर्ब ४० करोड पुग्दा कर्जा लगानी ४८ खर्ब ५२ अर्ब पुगेको थियो । चालु आर्थिक वर्षमा कर्जाको तुलनामा निक्षेपको वृद्धि उच्च भएपछि बैंकिङ प्रणालीमा तरलता सहज भएर असारमा अधिक तरलताको अवस्था आएको हो। २०७९ असार मसान्तमा ५१ खर्ब ५९ अर्ब रहेको बैंकहरुको कुल निक्षेप २०८० असार ३१ गतेसम्म आइपुग्दा ५ खर्ब ८१ अर्ब २९ करोडले वृद्धि भएर ५७ खर्ब ४० अर्ब २९ करोड रुपैंया पुगेको हो ।

सोही अवधिमा कर्जा लगानी भने १ खर्ब ४० अर्ब ७७ करोड मात्रै वृद्धि भएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । २०७९ असार मसान्तमा ४७ खर्ब १४ अर्ब १४ करोड रहेको कुल कर्जा लगानी २०८० असारमसान्तसम्ममा ४८ खर्ब ५४ अर्ब ९१ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । निक्षेपको तुलनामा कर्जा लगानी कम हुँदा बैंकिङ प्रणालीमा तरलता सहज भएर अधिक तरलताको अवस्था आएको हो। जेठ मसान्तको तथ्याङ्कङअनुसार बैंकिङ प्रणालीको औसत कर्जा निक्षेप अनुपात ९सीडी रेसियो० ८३.९७ प्रतिशत रहेको थियो।

असार मसान्तमा बैंकिङ प्रणालीमा ६८ अर्ब ९७ करोड तरलता रहेको छ । असार मसान्तमा विगतदेखि कर्जाको माग न्युन हुने र सरकारले गर्ने पूँजीगत खर्चको कारण निक्षेपको वृद्धिदर भने उच्च हुने गर्छ । यसले बैंकिङ प्रणालीमा थप तरलता बढाउँछ ।

कर्जाको माग नहुने र निक्षेप बढ्दा अधिक तरलताको कारण अन्तरबैंक ब्याजदर जेठ मसान्तमा ५.४८ प्रतिशत रहेको थियो भने चालु आर्थिक बर्षको अन्त्यसम्ममा घटेर ०.४ प्रतिशत कायम भएको छ । राष्ट्र बैंकले अन्तरबैंक ब्याजदरलाई नीतिगत दरभन्दा २ प्रतिशत बिन्दुले मात्रै तलमाथि हुनेगरी कायम गर्ने लक्ष्य चालु मौद्रिक नीतिले लिएको छ । ७ प्रतिशत नीतिगत ब्याजदर तोकेको राष्ट्र बैंकले अन्तरबैंक ब्याजदर ५ प्रतिशतभन्दा तल झर्दा तरलता खिच्ने र ९ प्रतिशत माथि पुग्दा प्रणालीमा तरलता पठाउने लक्ष्य लिएको छ ।

असारमा मात्रै राष्ट्र बैंकले रिभर्स रिपो मार्फत ९० अर्ब तान्यो

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले रिभर्स रिपो मार्फत असार महिनामा मात्रै ९० अर्ब तरलता तानेको छ । गत असार ७ गते राष्ट्र बैंकले १० अर्ब रुपैंया रिभर्स रिपो मार्फत तानेको थियो । जुन बैंक तथा वित्तिय संस्थालाई ७ दिनको अबधि दिएको थियो । त्यस्तै, फेरी असार १० गते पनि ७ दिने अवधिको २० अर्ब तान्यो । साथै, असार १९ गते १० दिने अबधिको २० अर्ब, असार २६ गते १४ दिने अवधिको २० अर्ब र पुन भोलिपल्ट असार २७ गते २० अर्ब रुपैंया रिपो मार्फत उठाएको थियो ।

सरकारले आगामी आर्थिक वर्ष २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण मार्फत स्रोत व्यवस्थापन गर्ने लक्ष्य लिएको छ । त्यस्तै बजेटमा १ खर्ब ८२ अर्ब रुपैयाँ आन्तरिक ऋण भुक्तानी गर्ने लक्ष्य लिएको छ । यसअनुसार आगामी आर्थिक वर्षमा सरकारले खुद ५८ अर्ब रुपैयाँ मात्रै आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य लिएको देखिन्छ । यसले पनि तरलतामा ठूलो दबाब नपर्ने गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक फोरममा नै बताइरहेका छन् । जसको परिणाम स्वरुप साउनमा अधिकांश बैंकहरुले ब्याजदर घटाएको बुझ्न सकिन्छ ।

प्रकाशित : २ श्रावण २०८०, मंगलवार ०६:४५