बीमा कम्पनीहरूलाई चुक्ता पुँजीको चटारो : पूँजी नपुगेका कम्पनीहरुले कसरी पुर्याउँदैछन् ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बिशेष

बीमा कम्पनीहरूलाई चुक्ता पुँजीको चटारो : पूँजी नपुगेका कम्पनीहरुले कसरी पुर्याउँदैछन् ?



काठमाडौं । बीमा प्राधिकरणले चुक्ता पुँजी पुर्याउन बीमा कम्पनीहरुलाई दिएको समयसीमा सकिन अब चारदिन मात्र बाकी छ । बीमा कम्पनीहरुले २०७९ चैत मसान्तसम्ममा न्युनतम चुक्ता पूँजी पुर्याउनु पर्ने थियो । तर उक्त अवधि पर्याप्त नभएको भन्दै समय थप्न आग्रह गरेपछि प्राधिकरणले तीन महिना अर्थात असारसम्म समय थपेको हो।

प्राधिकरणले जीवन बीमा कम्पनीको हकमा ५ अर्ब र निर्जीवन बीमा कम्पनीको हकमा भने २ अर्ब ५० करोड चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको थियो । पूँजी बढाउन अधिका‌श बीमा कम्पनीहरुले मर्जरमा जोड दिएका छन् । प्राधिकरणले यस निती ल्याउनु भन्दा पहिले निर्जीवन बीमा व्यवसाय गर्ने २० वटा र जीबन बीमा गर्ने १९ वटा कम्पनी थिए ।

बीमा क्षेत्रमा हालसम्म जीवन र निर्जीवन गरी २१ वटा बीमा कम्पनीहरुले मर्जरमा जाने निर्णय लिएका छन् । जसमध्ये निर्जीवन बीमा क्षेत्रमा १२ र जीवन बीमा क्षेत्रमा ९ वटा कम्पनीहरु रहेका छन् ।

हालसम्म मर्जरमा गएका १२ वटा निर्जीवन बीमा कम्पनीहरुमध्ये एकीकृत कारोबार थाल्नेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स, सानिमा जिआईसी इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्स रहेका छन् ।

साविकको १२ वटा निर्जीवन बीमा कम्पनीहरु मर्ज भएर ६ वटामा भएका छन् । योसंगै निर्जीवन बीमा कम्पनीहरुको संख्या १४ वटामा सीमित भएका छन् ।

यसमध्ये आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले आफ्नो चुक्ता पुँजी पुर्याइसकेका छन् । साथै, अन्य हिमालयन एभरेष्ट इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब २३ करोड रुपैयाँ रहेको छ । पुँजी पुर्याउन कम्पनीले २६ करोड रुपैयाँ मात्रै थप्नु पर्ने देखिन्छ । कम्पनीले चालु आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर वितरण गरेर पूँजी पुर्याउने देखिन्छ ।

सानिमा जीआईसी कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ रहेको छ । कम्पनीले ५० करोड रुपैयाँ पूँजी थप्नु पर्ने देखिन्छ । कम्पनीले प्राधिकरणको निर्देशन अनुसार पूँजी पुर्याउन सेयरधनीहरुलाई बोनस वा हकप्रद सेयर निष्काशन गर्ने तयारी गरेको छ ।

नेको इन्स्योरेन्सको २ अर्ब १ करोड रुपैयाँ रहेको छ । यसले पनि पूँजी पुर्याउन ४८ करोड ७६ लाख रुपैयाँ थप्नु पर्नेछ । कम्पनीले सो बराबरको हकप्रद सेयर निष्काशन गरेर चुक्ता पूँजी पुर्याउने तयारी गरेको छ ।

त्यस्तै, नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र प्रभु इन्सयोरेन्सले भने मर्जरबीनै न्युनतम चुक्ता पूँजी पुर्याउने तयारी गरेका छन् । यी सबैले पूँजी पुर्याउन सेयरधनीहरुलाई बोनस वा हकप्रद सेयर निष्काशन गर्ने तयारी गरेका छन् ।

यता राष्ट्रिय बीमा कम्पनीको चुक्ता पूँजी हाल २६ करोड ६६ लाख रुपैयाँ मात्रै रहेको छ । कम्पनीले पुँजी पुर्याउन अझै २ अर्ब २३ करोड रुपैंया पुर्याउनु पर्ने देखिन्छ । यस्तै विदेशी कम्पनीको रुपमा ओरेन्टल र नेशनल इन्स्योरेन्स रहेका छन् । यी दुई कम्पनीले हालसम्म चुक्ता पूँजी उल्लेख गरेका छैनन् ।

बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पाैडेलले भने पुँजी नपुर्याउने कम्पनीहरुलाई हकप्रद सेयर निष्काशन गर्न दिएर भएपनि पुँजी पुर्याउने बताएका छन् ।

यता, जीबन बीमा कम्पनीहरु ९ वटा मर्जरमा गएर ४ वटा भएका छन् । मर्जरमा गएका कतिपयले एकिकृत कारोबार थालि पनि सकेका छन् । एकीकृत कारोबार थाल्नेमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, सुर्यज्योति लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स रहेका छन् । प्रभु र महालक्ष्मीले भने आगामी असार २९ गतेबाट एकिकृत कारोबार थाल्ने तयारी गरेका छन् । साविकको ९ वटा जीबन बीमा कम्पनीहरु मर्ज भएर ४ वटा भएका छन् । योसंगै जीबन बीमा कम्पनीहरुको संख्या १४ वटामा सीमित भएका हुन् ।

त्यसमध्ये हालसम्मको पुँजीको अबस्था हेर्दा नेशनल लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सले पुँजी पुर्याइसकेका छन् । एशियन लाइफ इन्स्योरेन्सको हालको चुक्ता पुँजीमा प्राधिकरणले तोकेको पुँजी पुर्याउन १ अर्ब ८४ करोड थप्नुपर्ने देखिन्छ । हाल यसको ३ अर्ब १५ करोड रुपैंया छ ।

त्यस्तै, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, सुर्यज्योती इन्स्योरेन्स, आइएमइ लाइफ इन्स्योरेन्सको पुँजी ४ अर्ब माथि छ । नपुगेको पुँजी हकप्रद सेयर जारी गरेर पुर्याउने भएका छन् । हालसम्म रिलायबल लाइफ इन्स्योरेन्सको सबै भन्दा कम चुक्ता पुँजी देखिन्छ । यसको १ अर्ब ४० करोड मात्र पुँजी रहेको छ । यसले पुँजी पुर्याउन अझै ३ अर्ब ६० करोड थप्नुपर्ने देखिन्छ । साथै, मिट लाइफले भने हालसम्म चुक्ता पूँजी उल्लेख गरेको छैन ।

प्रकाशित : २७ असार २०८०, बुधबार २१:५०