तीन सहकारीलाई कर्जा तिर्न सहकारी बैंकको ३५ दिने ताकेता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बिशेष

तीन सहकारीलाई कर्जा तिर्न सहकारी बैंकको ३५ दिने ताकेता



काठमाडौं । सहकारीलाई कर्जा तिर्न आउन ताकेता गर्दे राष्ट्रिय सहकारी बैंकले ३५ दिने सुचना जारी गरेको छ । बैंकले शुक्रपथ बहुद्देश्यीय सहकारी संस्था, अग्नि बचत तथा ऋण सहकारी संस्था, एभरट्रष्ट बचत तथा ऋण सहकारी संस्थालाई कर्जा तिर्न ताकेता गर्दै सूचना जारी गरेको हो ।

बैंकले काठमाडौं न्युरोडको शुक्रपथ बहुद्देश्यीय सहकारी संस्थाको नाममा कर्जा तिर्न भन्दै ३५ दिने सूचना निकालेको छ । सहकारीले न्युरोड शाखाबाट उपभोग गरेको कर्जाको साँवा व्याज र हर्जना रकम तिर्न बुझाउनुपर्नेमा हालसम्म नतिरी नबुझाई कर्जासम्बन्धी सर्त तथा बन्देजहरु उल्लंघन गरेको बैंकले जनाएको छ ।

मौखिक तथा लिखित रुपमा कर्जा तिर्न बुझाउन बारम्बार ताकेता गर्दासमेत संस्थाले कर्जाको साँवा, व्याज, हर्जना र अन्य दस्तुर रकम चुक्ता भुक्तानी नगरी आलटाल गरेको बैंकले जनाएको छ । सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकलाई बुझाउनुपर्ने कर्जाको साँवा, व्याज, तथा हर्जनासमेत बुझाउन सम्बन्धित ऋणी संस्था, धितो जमानतकर्ता र जमानीकर्ताहरुलाई समेत सूचित गरिएको छ ।

उक्त समयभित्र सम्पूर्ण कर्जा रकम चुक्ता भुक्तान नगरे ऋण लिँदा धितो लिलाम बिक्री गरी सम्पूर्ण रकम असुल उपर गरिने जारी सूचनामा उल्लेख छ । साथै, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, सहकारी ऐन, नियमावली तथा प्रचलित कानुनबमोजिम असुल उपर गर्ने र ऋणी संस्थाका पदाधिकारी तथा जमानीकर्तालाई कालोसूचीमा राखिने बैंकले जनाएको छ।

प्रकाशित : २५ असार २०८०, सोमबार १६:१५