कहिले सुन्ने सरकार, सहकारी पिडितको चित्कार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बिशेष

कहिले सुन्ने सरकार, सहकारी पिडितको चित्कार ?



काठमाडौं । पछिल्लो समय बचतकर्ताहरु सहकारी विरुद्ध आक्रामक रुपमा देखिएका छन् । बचतकर्ताको रकम अपचलन गर्दै सहकारी व्यवस्थापक र सञ्चालकले पैसा फिर्ता नगरेपछि सहकारी बचतकर्ताहरु आक्रामक बनेका हुन् ।

पीडितहरूले सहकारीहरूले फिर्ता नगरेको सर्वसाधारणको बचत रकम फिर्ताका लागि स्थानीय तहदेखि केन्द्र सरकारसम्मले चासो नदिएको गुनासो गरेका छन् ।

बचतकर्ताले विभिन्न संघ संस्था लगाएतका नियमक निकाय धाउँदा पनि बचत फिर्ता नपाएपछि अहिले देशभरीका २५ सहकारी संस्थाका बचतकर्ताहरु पैसा फिर्ता नपाएर माइतीघरमा जम्मा भएर आन्दोलन गरिरहेका छन् । सहकारी बचतकर्ता पीडित महासंघ नेपाल संघर्ष समिति आयोजक रहेको यस आन्दोलनमा सबैका दर्दनाक गुनासा छन् ।

आफूले पसिना बगाएर कमाएको पैसा बाल बच्चाको पढाईमा केहि सहयोग हुन्छ भनेर बचत गरेको सहकारीका सञ्चालकहरूले अपचलन गरी फिर्ता नगरेपछि बचतकर्ताहरू ३२ दिनदेखि घाम, पानी, दिन, रात नभनी माइतीघरमा २४ सै घण्टा धर्ना बसिरहेका छन् ।

मंगलबार त्यहाँको दृश्य हेर्दा लाग्छ सरकार पिडितहरुको चित्कारमा किन मौन छ ? मध्य बर्खा छ । दिनदिनै मुसलधारे पानी पर्छ । उनीहरूले ओत लाग्न टाँगेको त्रिपालले पानी एकातिर अड्डायो अर्काे तिर चुहिन्छ । सडकमा ठूलो भल बग्छ । उनीहरूले बस्न भनेर ओछ्याएको पाल र कालो पोलिथिन फोमको चकटी बगाउँछ । तर आफूले पसिना बगाएर कमाएको पैसा फिर्ता पाउने उनीहरूको विश्वास डग्मगाएको छैन ।’ कति भोकै छन् । कति बिना निन्द्रा रात काटिरहेका छन् । अझ भनौ कतिपय संग त आफुले ल्याएको कागजात फोटोकपी गरेर पुलिसलाई दिने अबस्था पनि छैंन् । यस्तो अवस्थामा घर कसरी फर्किने ।

‘पानी नपर्दा खाली आकाशमै सुत्छौं । पर्दा त्रिपालमुनि जान्छौं । तर बचत फिर्ता पाउने ग्यारेन्टी नभएपसम्म माइतीघर छोड्दैनौं,’ देउराली सहकारी संस्थाका पिडित रामनारायण श्रेष्ठले बताए । उनि सहकारीपीडित बचतकर्ता महासंघ संघर्ष समिति नेपालका महासचिव पनि हुन् । उनको देउराली सहकारीले करिब १२ लाख जति रकम हिनामिना गरेको उनको आरोप छ । एक बर्षदेखि सहकारी संचालक बेपत्ता रहेको छ । कहिले जग्गामा मिलाउँछु भन्छन, कहिले यो दिन देखि पैसा बाड्छु भन्छन् मान्छे आउँदैन् । एक बर्ष भयो कुरा मात्र आउँछ, मान्छे आउँदैन् । उनले भने, पुलिसमा गए, हेटौडा प्रदेश सरकारकोमा गए, महासंघदेखि सबै ठाउँ धाउदा पनि आलटाल मात्रै भयो । सहकारी विभाग गए त्यहाँपनि हाम्रो मातहतमा परेन प्रदेशमा जानु भन्नु भयो । प्रदेशमा गए तर कारबाही भएन् । उनले भने सरकारसंग एउटै बिन्ती छ, कानुन संशोधन गरेर हुन्छ कि कसरी हुन्छ हाम्रो पैसा फिर्ता चाहियो । स्वनियमनमा चल्ने संस्थालाई सरकारले नियमन गनुपर्छ ।

अर्का पिडित रामेछापका ५९ वर्षिय अर्जुन प्रसाद प्रसाईंको अवस्था पनि दयनिय छ । रामेछापको मन्थलीमा रहेको जग्गा र अस्थायी शिक्षक हुँदा जम्मा भएको सञचय कोषको रकम समेत गरेर उनले १० लाख रूपैयाँ हाम्रो भविष्य बचत तथा ऋण सहकारी संस्थामा राखेमा थिए । सहकारीका अध्यक्ष को हुन् भने थाहा नभए पनि उपाध्यक्ष कृष्णबहादुर कार्की हुन् भन्ने उनलाई थाहा छ। आफ्नो सबै जायजेथा बचेर आएको १० लाख रुपैयाँ लिएर सहकारी फरार भएपछि उनी घर न घाटको भएका छन् ।

‘रामेछापमा आफ्नो जग्गा बेचेपछि उनलाई घर भएको ठाउँबाट निकालियो। काठमाडौँमा पैसा बचत राखेकोमा सहकारी सञ्चालक नै फरार भए । बचत फिर्ता पाइन्छ कि भनेर काठमाडौँ आएका उनको विगत २ महिनादेखि सडकको बास भएको छ । न्यायका लागि प्रहरी प्रशासन गुहारीरहेका उनलाई न प्रहरीसँग न्याय दिन्छ भन्ने आश छ न सरकारले नै ।

उनले भने , मैले सहकारीमा ४ वर्षको मुद्दती निक्षेपमा १६ प्रतिशत त्रैमासिक रूपमा ब्याज पाउने गरी राखेको हो । ४ वर्ष पुगेपछि म पैसा निकाल्न जाँदा आफैँ नवीकरण गरेको थाहा पाएँ । अनि शंका लागेर फिर्ता मागेँ । वार्षिक १७ प्रशितशत ब्याज दिने लोभ देखायो । त्रैमासिक १६ र वार्षिक १७ प्रतिशत उस्तै हो भनेपछि ठिकै छ भनेर छोडें,’ उनले भने, ‘चाबहिलमा रहेको सहकारीको कार्यालय अहिले बन्द छ । सञ्चालकहरू सम्पर्कमा छैनन् । अब मसँग न पैसा छ न बस्ने बास नै । साथमा भएको मोबाइल फोन पनि सडक पेटीमा सुत्दा चोरले उडाइदिएछ ।’ सम्बन्धित निकायले माग्यो भने आफुसंग भएको कागजातको फोटोकपी गरेर दिन पनि नसक्ने अवस्थामा रहेको गुनासो गरे । विगतमा चाबहिल क्षेत्रमै सडकमा सुत्ने गरेका प्रसाईं अहिले सहकारीपीडितहरू माइतीघरमा धर्ना बसिरहेका छन् भन्ने थाहा पाएपछि आएका हुन् । अब पैसा फिर्ता नभएसम्म माइतीघर नछोड्ने उनले निश्चय गरेका छन् ।

यस्तै पिडामा रुमलिएकी घर इलाम हाल पुरानो बानेश्वर बस्दै आएकी अर्की पिडित कोपिला पाण्डेको त्यहि पुरानो बानेश्वर स्थित रहेको सहकारीमा काम गर्ने सिलसिलामा आफुले थोरै थोरै बचत गरेको पैसा जम्मा पारेर ३ लाख ६० हजार फिक्स डिपोजिटमा ४ बर्षदेखि राखेकी थिइन् । उक्त पैसा निकाल्ने समय पुगेर गत बैशाखमै निकाल्न जादाँ क्लोजिङको समयसम्म पर्खिनु बरु ब्याज दिउला भने । तर, अहिले दिने केहि अत्तोपत्तो छैन् । त्यसको कारणले घरमा दिनै गाली खानुपर्छ । उनले भनिन्, मैले आफ्नो मात्र नभएर आफु काम गर्ने त्यहाँको कर्मचारी भएको नाताले अरुको पनि आफु मातहत नै राखेकोले त्यो पैसा उठाउँन जादाँ रिन्यु गरेर चलाइरहेको उनले सुनाइन् । सहकारी चल्छ भने किन नगर्ने भनेर खोजी खोजी ल्याएर गरे । तर अन्तिममा संञ्चालक नै फरार रहेको बताईन् । निर्जन राई र अर्जुन राई सञ्चालक रहेको उक्त सहकारीमा जग्गा बेचेर आउँछौ । यहाँ लोनहरु उठाइदिनु भन्दै हिन्छन् । हामीलाई कस्ले दिन्छ र लोन् । उनले सुनाइन् । यति सम्म गरेको छ सहकारीले करिब एक महिनादेखि आएर धर्ना दिइरहेका छौं । हामीले चोरेको सम्पती हैन् । हाम्रो पैसा फिर्ता पाउँनुपर्यो साथै यसरी भागेर हिड्नेलाई राज्यले कारबाही पनि गर्नपर्यो ।

यसरी थप्रै पिडित छन् जो भोक प्यास नभनी पैसा फिर्ता गर्न लागिपरिरहका छन् । यस्तै पिडामा रहेकी रिता भट्टराई बस्नेतको पनि उस्तै छ हविगत । हाल कोटेश्वर बस्दै आएकी रिताले कोटेश्वरमा रहेको प्रोस्पोरस सहकारीमा विगत ३ बर्ष देखि ३ लाख ५० हजारको कारोबार गर्दै आएकी थिइन् । अवधि खातामा रहेको उनको पैसा यस पटकको पैसा लिन १५ दिन मात्रै बाकी थियो । पैसा हिनामिना अफिस बन्द गरेर मान्छे हरायो । दिपेन्द श्रेष्ठ संञ्चालक रहेको उक्त सहकारीमा दुईवटा ब्रान्चमा गरेर जम्मा १२ करोड बचत रहेको रिताले बताइन् । उक्त सहकारीले ४ करोड बचत फिर्ता गरिसकेको छु, बाँकी चार करोड दिन अझै सक्छु बाँकी चार करोड दिन गाहो छ भनेको मान्छे अहिले बेपत्ता छन् । आफुले खाइ नखाइ गरेर बच्चा कलेज पढ्न जोहो गरेर राखेको पैसा बच्चा पढ्ने बेलामा काम आएन् । बच्चालाई महंगो ब्याजमा ऋण गरेर पढाइरहेको छ । बरु हामीलाई बोनस ब्याज केहि चाहिएन सावामात्र पनि दिनु भनेको पाएनौं । यसका लागि पुलिस भएको ठाउँमा जादाँ उता जानु भन्छन् । उता गयो टेकु जानु भन्छन् । उता बाट हेटौडा जानु भन्छन् । यसमा सहि नियत कसैको देखिएन् । हामीलाई झुलाउने मात्र भइरहेको छ । उनले भनिन्,

ओरियण्टल सहकारीले १४ वर्षदेखि बचत फिर्ता नदिएका काठमाडौंको मुलपानीका हरिषचन्द्र श्रेष्ठ यो आन्दोलनका संयोजक हुन् । उनले ओरेन्टल सहकारीमा राखेको ९० लाख रुपैयाँ फिर्ता लिनुपर्ने छ । तर प्रहरी प्रशासनले मात्रै नभएर सर्वोच्च अदालतले पनि पीडितहरूलाई जिताइदिँदा पनि पैसा फिर्ता पाएका छैनन् । यसरी एक्लै लडेर नहुने रहेछ भन्ने निष्कर्ष निकालेका उनले देशभरीको सहकारी पीडितहरूलाई संगठित गरी सहकारी पीडित महासंघ बनाएर त्यसको संयोजकका रूपमा आन्दोलनको नेतृत्व गरीरहेका छन् ।‘६ महिनादेखि महासंघ बनाएर आन्दोलन गर्ने योजना बनाएका थियौं। २० जेठबाट भने यहाँ निरन्तर २४ घण्टा धर्नामा छौं,’ उनले भने, ‘माग सम्बोधन नहुँदासम्म छाड्नेलावाला छैनौं । २५ वटा सहकारीका पिडित औपचारिक रूपमा आन्दोलनमा र देशभरका १०० भन्दा बढी सहकारीका पीडित सम्पर्कमा हुनुहुन्छ । अहिले काठमाडौं बोलाएका छैनौं, आवश्यक पर्दा ल्याउने तयारीमा छौं,’ उनले भने ।

२०६८ सालमा श्रेष्ठले आफ्नै मिहेनतले जोडेको ४ आना जग्गा बेचेको ६० लाख रूपैयाँ पैसा ओरियण्टल सहमारीमा नै राखेका थिए । तर पैसा राखेपछि एकपटकलाई ६ महिनाको ब्याज मात्रै उनले लिन पाए । त्यसपछि सहकारीमा समस्या परेको चर्चा हुन लागेपछि उनले पैसा फिर्ता लिन गए । तर, सहकारीका एक प्रबन्धक साथीजस्तै थिए। ‘उसले बैंकभन्दा बलियो सहकारी पनि डुब्छ ? भनेपछि आश्वस्त भएँ र पैसा निकालिनँ । तर केही समयमै सहकारी डुब्यो।

केही समयअघि उनको निक्षेप ब्याजसहित ९० लाख पुगेको थियो । अहिले ब्याज समेत थप्दा कति पुग्यो उनीसँग कुनै हिसाब छैन । ‘२०५४ सालदेखि दैनिक २५ रूपैयाँबाट बचत सुरू गरेको थिएँ । २५ बाट ५० हुँदै बचत बढाउँदै गएँ । विभिन्न सडक आयोजनामा काम गरेर कमाएको पैसाले किनेको जग्गा बेचेर एकमुष्ठ ६० लाख राखेको थिएँ। सबै स्वाहा भयो,’ उनले आफ्नो पीडा सुनाउँदै भने ।

माइतीघरमा सहकारी संस्थाहरूबाट पीडितहरूले २४ घन्टे धर्ना थालेको ३२ दिनसम्म पनि राज्यको आँखा नपुगेको भन्दै श्रेष्ठले आन्दोलन अझै चर्काउने बताए । सरकार त आएन आएन, आफूलाई जनताको पक्षमा रहेको बताउने नेता तथा सांसद्हरु पनि ऐक्यबद्धता जनाउन नआएकोमा सहकारी पीडितहरूले चित्त दुखाएका छन् । ‘केही सांसद आए । चित्रबहादुर केसी, रवि लामिछाने, ज्ञानेन्द्र शाहीलगायत आए। तर, उनीहरूको राजनीतिक स्वार्थ मात्रै देखियो,’ धर्नामा बसेका बचतकर्ता भन्छन्, ‘सहकारीका ठगहरूलाई राजनीतिक दलका नेताहरूले नै संरक्षण गरेका छन् । राजनीतिज्ञको आडमा उनीहरू खुलेआम हिंडिरहेका छन् । अदालतले दोषी ठहर गरेका सुधीर बस्नेत कालो सिसा लगाएर बाउन्सर राखेर हिंड्छन् । बचतकर्तालाई उनले पैसा फिर्ता गर्नुपर्छ भनेर सर्वोच्चले फैसाल गरिसक्दा पनि बचत फिर्ता पाएनौं ।’ आन्दोलनलाई निष्कर्षमा नपुर्यानउन्जेल पछि नहट्ने श्रेष्ठको अठोट छ । उनि भन्छन् यति संङघर्ष गर्दा पनि सरकारले हाम्रो माग सुनेन भने यो भन्दा कडा निति अपनाउन बाध्य हुने उनले बताए ।

प्रकाशित : १९ असार २०८०, मंगलवार १७:०९