मार्जिन कारोबारः सुविधा दिन सकस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बिशेष

मार्जिन कारोबारः सुविधा दिन सकस



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले हरेक आर्थिक वर्ष मार्जिन कारोबार योग्य धितोपत्रको सूची सार्वजनिक गर्दै आएको छ । चालु आर्थिक बर्ष २०७९/०८० मा पनि नेप्सेले सूचिकृत ८७ वटा कम्पनी मात्रै मार्जिन कारोबारका लागि योग्य रहेको सुची निकाल्यो । नेप्सेले गत कार्तिक २१ गते सुचना जारी गर्दै १७ वाणिज्य बैंक, १० बिमा कम्पनी, ८ विकास बैंक, ५ वित्त कम्पनी, १३ जलविद्युत् कम्पनी र २९ लघुवित्त कम्पनी योग्य रहेको ठहर गरेको थियो । तर यो सूची निकाल्नुको कुनै अर्थ नहुने देखिएको छ।

नीतिगत व्यवस्था भएको लामो समय सम्म पनि धितोपत्र ब्रोकरले लगानीकर्तालाई मार्जिन कारोबार (सेयर खरिद कर्जा) सुविधा दिन सकेका छैनन् । मार्जिन कारोबार सम्बन्धी कार्यविधिमा आफूले भनेजस्तो (लगानीकर्ताको सेयर बैंकमा धितो राखेर कर्जा लिने र सोही रकमबाट लगानीकर्तालाई कर्जा दिन भन्ने) व्यवस्था नभएपछि ब्रोकरहरू मार्जिन कारोबार सुविधा दिन अनिच्छुक देखिएका हुन् ।

धितोपत्र ब्रोकरबाट ऋण लिएर लगानीकर्ताले सेयरमा लगानी गर्न सकून् भन्ने उद्देश्यले नियामक निकाय धितोपत्र बोर्डले २०७५ जेठमा यससम्बन्धी कार्यविधि जारी गरेको थियो ।

तर मार्जिन कारोबार स्वीकृती लिएका २८ धितोपत्र दलाल कम्पनी मध्ये नासा सेक्युरिटिजले मात्र मार्जिन सेवा उपलब्ध गराएको छ । भिजन सेक्युरिटिले भने कार्यन्वयनमा ल्याउन सबै तयारी पुरा गरेपनि सिस्टम नमिलेका कारण ग्राहकले कुन मार्जिनमा किनेको हो वा होइन छुट्याउन नसकिने अवस्था रहेको जनाएको छ । साथै सिस्टम बिना एक दुई जनाको भन्दा गर्न नमिल्ने भएकोले सिस्टममा जानका लागि नेप्सेबाटै होस भनेर पर्खिरहेको कम्पनीको भनाई छ ।

यता नासाले कार्यविधि बमोजिम लगानीकर्ताहरुलाई दुई प्रकारका योजना सार्वजनिक गर्दै मार्जिन कारोबार सुविधा सञ्चालनमा ल्याएको थियो। पहिलो योजना अन्तर्गत १० लाख रुपैयाँसम्मको पोर्टफोलियोमा काम गर्ने ग्राहकले ४० प्रतिशत नगद मार्जिन राखेर कारोबार सुरु गर्न सक्नेछन् । ३० दिने अवधिका लागि यो योजना उपलब्ध हुनेछ । यसमा सेवा शुल्क र ब्याजसहित ९ हजार ९९९ रुपैयाँ शुल्क लाग्ने कम्पनीले जनाएको छ । १० लाख रुपैयाँसम्मको पोर्टफोलियोमा भने ५८ दिने अवधिको अर्को प्याकेज नासाले ल्याएको छ । जसको सेवा शुल्क र ब्याजसहित २१ हजार ५८ रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ ।

किन आउन सकेन कार्यान्वयनमा

विशेष गरी नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र ब्रोकरबीचको समन्वय नहुँदा कार्यान्वयनमा आउन नसकेको सरोकारवलाहरुको भनाई छ । अहिलेको कार्यविधि अनुसार नै मार्जिन कारोबार गर्न ब्रोकरहरुलाई समस्या हुने नेपाल ब्रोकर एसोसिएसनका पुर्व अध्यक्ष सन्तोष मैनालीले बताए । उनले भने,‘ अहिलेको कार्यविधि अनुसार ब्रोकरहरुले मार्जिन कारोबार सुरु गरे पनि प्रभावकारी हुन सक्दैन । त्यसका लागि स्रोत व्यवस्थापनको उचित व्यवस्था हुनैपर्छ ।’

त्यसैगरी, मार्जिन कारोबार कार्यन्वयनमा ल्याउन केहि बिषय बाधक रहेको स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष धर्मराज सापकोटाले बताए। उनले स्रोत व्यवस्थापनमा मिलाउनुपर्ने भन्दै अहिले इक्युटी बेसमा ल्यन्डिङ गनुपर्ने व्यवस्था छ । तर, यो व्यवस्था अपनाउदा एउटा निश्चित लिमिट भन्दा बढी लेन्डिङ गर्न सकिदैन् । जसको कारण मार्केटले बढी डिमाण्ड गरेको बेला त्यो स्रोतले धान्न सक्दैन् । अर्को भनेको मार्जिन लेन्डिङबाट रिकभर गर्नका लागि अहिले कार्यविधिले मात्रै नहुने र नियामवाली चाहिने उनले बताए।

बैंकहरुले जमानत राखेर, धितो रोक्का उठाउन समस्या भइरहेको बेला मार्जिन कारोबारको लागि कार्यविधी बेसमा मात्रै लेन्डिङ गर्दा यसले ठुलो असर गर्ने भन्दै यसका लागि नियामवली चाहिने सापकोटाले बताए । साथै , मार्जिन लेन्डिङ कारोबार गर्नका लागि सिस्टमबाटै गर्ने हो कि नगदमा कारोबार गर्ने त्यो छुट्याउने सिस्टम हुनुपर्ने उनको भनाई छ।

त्यस्तै यता नेप्सेले भने हिसाब किताब सिस्टमको काम सबै दलाल कम्पनीहरु आफैले गनुपर्ने बताएको छ । ब्रोकरले मार्जिन कारोबार गर्न बनाउने सिस्टमको काम आफुहरुकाे नभएको नेप्सेको भनाई छ । इक्युटी बेशमा ल्यन्डिङ गनुपर्ने व्यवस्था भन्दा फरक तरिकाले जानुपर्छ भन्ने कुरा प्राबिधिक रुपमा अलमलाउने काम रहेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए । उनले भने , मार्जिन कारोबार कार्यन्वयनमा आउन नसक्नु मुख्य कारण ब्याज (कस्ट अफ फण्ड ) रहेको भन्दै लगानीकर्ताले ब्रोकरकोमा सेयर किन्न लाग्ने ऋणको लागत बढी भयाे । जसका कारण ठुला कम्पनीहरुलाई लाइसेन्स दिने विषयपनि त्यहिबाट उठेको उनले बताए । ‘कम्पनी आफु योग्य छु भने मात्र न हो गर्ने नत्र सबै श्रोत जुटाउन सकिदैन भने किन अरुलाई दोष थुपारेर बस्नु उनले भने।’

के हो मार्जिन कारोबार ?

सेयर कारोबारीले आफूसँग भएको रकमभन्दा बढी रकममा सेयर खरिद गर्न पाउने सुविधालाई मार्जिन कारोबार भनिन्छ । आफूसँग सेयर किन्नका लागि पर्याप्त रकम नहुँदा पनि सेयर किन्न सकिने सुविधालाई मार्जिन ट्रेडिङ अर्थात् मार्जिन कारोबार भनिन्छ । यस्तो ऋण सेयर ब्रोकरहरूले उपलब्ध गराउँछन् । यसरी, ऋण दिलाएवापत सेयर ब्रोकरहरूले ब्याज अथवा अन्य शूल्कहरु लिन्छन् ।

मार्जिन कारोबार बजारमा हुने उतारचढाबबाट प्रतक्ष्य लाभ लिनका लागि तत्कालिन रुपमा गरिने कारोबार हो । यो मार्जिन कारोबारमा लगानीकर्ताले आफूसँग भएकोभन्दा केही बढी रकम कारोबार गर्ने गर्दछन् । ब्रोकरले मार्जिनको रुपमा उपलब्ध गराउने रकमको ब्याज अथवा अन्य शूल्कहरू तिरेर यस्तो कारोबार गर्ने प्रचलन छ । मार्जिन कारोबार दीर्घकालीनभन्दा अल्पकालीन रुपमा बढी उपयोगी हुन्छ । यो मार्जिन बढीमा ३ महिनाको लागि दिइन्छ ।

प्रकाशित : १८ असार २०८०, सोमबार १४:०१