आगन्तुक सहकारीका अध्यक्ष राजु घर्ती पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आगन्तुक सहकारीका अध्यक्ष राजु घर्ती पक्राउ



काठमाडाै । सहकारीमा बचतकर्ताहरूले जम्मा गरेको रकम हिनामिना पारेर सम्पर्कविहीन भएका आगन्तुक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजु घर्तीलाई रूपन्देही प्रहरीले पक्राउ गरेको छ। बुटवलको अमरपथमा कार्यालय रहेको सहकारीलाई समस्याग्रस्त बनाएर घर्ती सम्पर्कविहीन भएका थिए। उनीविरूद्ध सहकारीका बचतकर्ताहरूले लिखित उजुरी दिएपछि रूपन्देही प्रहरीले खोजी गर्न थालेको थियो।

खोजी गर्दै जाँदा मंगलबार भैरहवाबाट उनलाई पक्राउ गरिएको डिएसपी श्यामु अर्यालले जानकारी दिए। उनीविरूद्ध बचतकर्ताहरूले प्रहरी कार्यालयमा लिखित उजुरी दिएका छन्। डिएसपी अर्यालका अनुसार उनीविरूद्ध ५० जना भन्दा बढीले उजुरी दिएका छन्। यस्तै घर्तीले काठमाडाैमा पनि सहकारी खोलेर ठगी गरेको तथ्य भेटिएको छ ।

उनले कलंकीमा स्वर्णकालिन बहुउद्देश्यीय सहकारी संस्था खोलेर करोडाै अपचलन गरेको उजुरी समेत परेको छ । त्यस्तै उनि काठमाडाैको न्यूरोडमा रहेको तिरुपति सहकारीको सञ्चालक समेत रहेको बुझिएको छ । अहिले तिरुपति र स्वर्णकालिन सहकारी बन्द छन् । उनले विभिन्न जिल्लामा स्थानमा फरक फरक नाममा सहकारी खोल्दै ठग्दै आएको तथ्य समेत भेटिएको छ ।

सहकारीको संस्थागत शुसासन कायम गर्दै प्रभावकारी रुपमा नियमन तथा सुपरिवेक्षण हुन नसक्दा सहकारीमा समस्या देखिने गरेको छ । नियमनकारी निकाय सहकारी विभागले सहकारी संस्थाका सदस्यहरु बचत फिर्ता माग गर्दै मैदानमा आएपछि मात्रै सस्थाको बारेमा जानकार हुने गरेको छ ।

प्रकाशित : १७ असार २०८०, आईतवार १४:५४