अबदेखि इसेवामा रहेको रकम एटीएम मार्फत पनि झिक्न सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

अबदेखि इसेवामा रहेको रकम एटीएम मार्फत पनि झिक्न सकिने



काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाका प्रयोगकर्ताले अबदेखि आफ्नो इसेवा खातामा रहेको रकम एटीएम मेसिनमार्फत पनि सहजै झिक्न सक्ने भएका छन्। इसेवाले हाल एभरेस्ट बैंकसँगको सहकार्यमा इसेवा खातामा रहेको रकम एटीएमबाट समेत झिक्न सकिने सेवाको सुरुआत गरेको हो।

इसेवामा रहेको रकम एटीएमबाट निकाल्दा कुनै किसिमको कार्ड प्रयोग गर्नुपर्ने छैन। इसेवाका प्रयोगकर्ताले आफ्नो मोबाइलमा आउने ओटीपीमार्फत सहजै एटीएमबाट नगद रकम झिक्न सक्नेछन्। यसअघि इसेवामा रहेको रकम झिक्न आफ्नो खाता रहेको बैंकमा ट्रान्सफर गर्नुपर्ने हुन्थ्यो। तर, अबदेखि एटीएममार्फत पनि रकम झिक्न सकिने भएपछि इसेवा प्रयोगकर्तालाई झनै सहज हुनेछ। यो सेवा वालेट कम्पनीहरुमा नेपालमै पहिलोपटक सुरुआत गरिएको हो।

इसेवामा रहेको रकम एटीएममार्फत पनि झिक्न सकिने सेवाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले भने, ‘इसेवा प्रयोगकर्तालाई इसेवामा रहेको रकम झिक्न अझ सहज होस् भन्ने उदेश्यले हामीले एभरेस्ट बैंकसँगको सहकार्यमा एटीएमबाटै रकम झिक्न सकिने सेवाको सुरुआत गरेका हौँ। हामी जहिले पनि क्यासलेस अर्थतन्त्रलाई प्राथमिकता दिँदै सोही किसिमका सेवा सञ्चालन गर्दै आएका छौँ। तर कहिलेकाहीँ इसेवामा रहेको रकम क्यासमा नै चाहिए पनि प्रयोगकर्तालाई सहज होस् भन्ने उद्देश्यले हामीले यो सेवाको सुरुआत गरेका हौँ। हामी नेपाल सरकार र नेपाल राष्ट्रबैंकको क्यासलेस अर्थतन्त्र बनाउने अभियानमा निरन्तर लागिरहेका छौँ र लागि नै रहनेछौँ। जसका लागि आगामी दिनमा पनि हामीले सोहीअनुसारका सेवा–सुविधा थप गर्दै जान प्रतिबद्ध छौँँ।’

पत्रकार सम्मेलनमा एभरेस्ट बैंकका डेपुटी सीईओ विजयकुमार शर्माले भने, ‘एभरेस्ट बैंक जहिले पनि आफ्ना ग्राहकलाई नयाँ सेवा र सुविधा दिन तत्पर छ। यसै क्रममा इसेवाजस्तो नेपालको पहिलो र अग्रणी वालेट कम्पनीसँग सहकार्य गर्न पाउँदा हामी पनि उत्साहित छौँ। इसेवाका प्रयोगकर्ताले एभरेस्ट बैंकका देशभर रहेका कुनै पनि एटीएम मेसिनमार्फत सहजै रकम झिक्न सक्नुहुनेछ। हामी यो आशा गर्दछौँ कि यसले नेपालभर रहेका इसेवाका लाखौँ प्रयोगकर्तालाई धेरै सहज बनाउनेछ।’

हाल इसेवाको सेवा एन्ड्रोइड तथा आईओएस मोबाइलमार्फत ७५ लाख ग्राहकले सेवा लिइरहेका छन्। यसैगरी देशभर रहेका २ लाखभन्दा बढी एजेन्ट ९इसेवा जोन तथा प्वइन्ट०मार्फत अप्रत्यक्ष रुपमा डेढ करोडभन्दा बढी जनसंख्याले सेवा लिइरहेका छन्।

इसेवाबाट इन्स्योेरेन्सको प्रिमियम भुक्तानी, स्कुल कलेजको शुल्क भुक्तानी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाईजहाजको टिकट, बस टिकट, मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, विभिन्न किसिमका सरकारी सेवाको शुल्क भुक्तानीलगायतका करिब ३ हजार मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ।

प्रकाशित : ६ असार २०८०, बुधबार १५:४५