सहकारीको ऋण नतिर्नेलाई कारबाही, एकाघरको सम्पत्ति समेत बिक्री गर्न सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सहकारीको ऋण नतिर्नेलाई कारबाही, एकाघरको सम्पत्ति समेत बिक्री गर्न सकिने



काठमाडौं । सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीबाट लगेको ऋण तिर्दिन भन्ने छुट कसैलाई नभएको बताएका छन् । राष्ट्रिय सहकारी बैंकको सदस्य सम्मान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै रजिष्ट्रार घिमिरेले सहकारीको ऋण नतिर्नेहरुलाई कानुनी कारबाही गर्ने बताएका हुन् ।

मुलुकमा कानुन छ । सहकारीबाट ऋण लगेर तिर्दिन भन्ने अराजकतालाई कानुन अनुसार कारबाही हुन्छ । ऋणीको जग्गा तथा हकभोग लाग्ने एकाघरको सम्पत्ति समेत बिक्री गरेर ऋण तिर्ने कानुनी व्यवस्था छ । त्यसैले ऋण नतिर्ने छुट कसैलाई पनि नभएको घिमिरले भने ।

सहकारीमा धितो राखेको वा नराखेको ऋणीको हकभोग लाग्ने एकाघरको सम्पत्ति समेत बिक्री गरेर ऋण तिराउने सहकारी ऐनमा व्यवस्था छ । सहकारीबाट लगेको ऋण नतिरे राज्यले सहजीकरण गरेर ऋण तिर्ने वातावरण बनाउने घिमिरेले प्रष्ट पारे ।

सहकारीका नाममा निजी सम्पत्ति जोड्ने, आफु र आफन्तका कम्पनी चलाउने र वित्तीय संकट देखाएर वचतकर्ताहरुको रकम फिर्ता नगर्नेहरुलाई कारबाही गरी वचतकर्ताहरुको रकम फिर्ता गराउनका लागि विभागले प्रक्रिया अगाडि बढाएको राजिष्टार घिमिरेको भनाई छ ।

प्रभावकारी नियमन हुन नसकेका कारण सहकारीहरुले वित्तीय अनुशासन पालना नगरेको चर्चा गर्दै उनले सहकारीहरुलाई ऐन अनुसार सञ्चालनका लागि विभागले खबरदारी गर्ने बताए । सहकारी राम्रोसंग चलाउदै गर्दा वित्तीय क्षेत्रको संकटका कारण तरलता समस्या भएका सहकारीहरुले श्वेतपत्र जारी गरेर वचत फिर्ताका लागि समय तोक्न सक्ने व्यवस्था गरिएको छ । सहकारीको रकमबाट निजी सम्पत्ती जोड्न प्रयोग गर्नेहरुलाई कार्वाही गरेर वचतकर्ताको रकम फिर्ता गरिने उनले बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश प्रसाद पोखरेल, नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोइराला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बैंकका तालिम अधिकृत राजकुमार बरालले सहकारीको वर्तमान अवस्था तथा भावी कार्यक्रम विषयमा सहजीकरण गरेका थिए ।

प्रकाशित : ६ असार २०८०, बुधबार १२:१४