महानगरमा थपिँदै ‘सहकारी ठगी’ मुद्दाको चाङ : आफ्नै बचत निकाल्न सास्ती « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बिशेष

महानगरमा थपिँदै ‘सहकारी ठगी’ मुद्दाको चाङ : आफ्नै बचत निकाल्न सास्ती



काठमाडौं ।  पछिल्लो समय सहकारी विभागमा उजुरी गर्नेको सङ्ख्या बढेको पाइएको छ। सहकारीमा आबद्ध सदस्यले सङ्कलन गरेको निक्षेप पाउन नसकेपछि यस क्षेत्रबाट ठगिएको भन्दै न्यायका लागि उजुरी गर्न थालिएको हो। काठमाडौं महानगरपालिका भित्र सञ्चालनमा रहेका ७४ सहकारी विरुद्ध करिब १ अर्ब २२ करोड रुपैयाँ भन्दा बढीको मागदावी सहित ठगीको उजुरी परेको छ ।

बचतकर्ताले विभिन्न समयमा फरक फरक वचतकर्ताबाट दैनिकी, चल्ती र मुद्दतीमा बचत गरी राखेको कुरा अवगत गराउदै सो दैनिक बचत, चल्ती र मुद्दती बचतको भुत्तान समयवधि परिपक्क भइसके पछि भुक्तानी लिन जादा आज भोली भन्दै भाखा माग्दै आएको बताएका छन् । साथै, उनिहरुले तोकिएको भाखा पनि नाघीसके पछि भुक्तानीका लागि जादा विभिन्न बहाना बनाउदै भुत्तानी नदिएको र संस्थाको सम्बन्धित व्यक्तिसंग सम्र्पक गर्न खोज्दा सम्पर्कमा समेत आउन आना कानी गरेको हुदा सो हाम्रो बचत र सहमती वमोजिमको व्याज रकम भराई दिन अनुरोध गरदै विभागमा उजुरी दिएका छन् ।

पछिल्लो समय काठमाडौँ महानगरपालिका सहकारी विभागमा २०० वटा सहकारी विरुद्ध करिब ८ अर्बको उजुरी परेको छ । जसमध्ये बिभागले ६८ वटा संस्थाविरुद्धको उजुरी मिलापत्र गर्न नसकी प्रहरीकोमा पठाएको छ । उक्त संस्था विरुद्ध २ हजार ७०० भन्दा बढी बचतकर्ताले १ अर्ब १३ करोड रुपैयाँ भन्दा बढीको मागदावी सहित उजुरी परेको हो ।

यसरी संस्था डुब्नु संस्था सञ्चालक तथा पदाधिकारीले सदस्यलाई सुनियोजित रूपमा उच्च प्रतिफल दिने प्रलोभनमा रकम लामो समयावधिसम्म बचत गर्न लगाउने, सङ्कलित निक्षेपलाई कर्जाका रूपमा प्रवाह गर्न नयाँ सदस्य थप गर्ने, नियमभन्दा बाहिर रहेर अनुत्पादक क्षेत्र, घरजग्गा र शेयर बजारमा लगानी गर्ने जस्ता कार्यले यस क्षेत्रमा जोखिमयुक्त समस्या बढ्दै गएको विज्ञहरुको भनाई छ ।

६८ सहकारीलाई कारबाही गर्न प्रहरीलाई पत्र

विभागले सदस्यको बचत फिर्ता गर्न अटेर गरेपछि ६८ वटा संस्थालाई कारवाहीका लागि प्रहरीमा लेखि पठाएको जानकारी दिएको छ । ति सहकारी संस्थाका २ हजार ७०० भन्दा बढी बचतकर्ताले बचत फिर्ता नपाएको गुनासो सहितको निवेदन विभागमा दिएका थिए । विभागले पटकपटक ती संस्थाका सञ्चालकहरुलाई सदस्यको बचत फिर्ता गर्नका लागि ताकेता गर्दा पनि आनाकानी गरेपछि कारवाहीका लागि प्रहरीमा लेखिपठाएको विभागकी उपनिर्देशक बिमला कोइरालाले जानकारी दिइन् ।

कोइरालाका अनुसार प्रहरीमा उजुरी लेखाइएका सहकारीहरुमध्ये हालसम्म सबैभन्दा बढी   ५ वटा बहुउद्देश्यीय सहकारी विरुद्ध ५ करोड ८५ लाख ८५ हजार ३११ रुपैयाँको मागदावीसहित २३८ बचतकर्ताले उजुरी दिएका छन् । जसमा स्वर्ण पथ, किरणोदय, हितकोष, मध्यविन्दु र गरुण बहुउद्देश्यीय सहकारी संस्था रहेका छन्

विभागका अनुसार बहुउद्देश्यीय सहकारी बाहेक बचत तथा ऋणको कारोबार गर्ने ६३ सहकारी विरुद्ध २ हजार ४१५ बचतकर्ताले एक अर्ब ६ करोड ६२ लाख ८१ हजार रुपैयाँ बराबरको मागदावी सहित उजुरी दिएका छन् ।

उजुरी परेका सहकारीमा न्युज डेभलपमेन्ट बचत तथा ऋण सहकारी विरुद्ध एक बचतकर्ताको दुई लाख ८४ हजार रुपैयाँ बराबरको मागदावी परेको छ । त्यस्तै, अष्ट मङ्गल बचत तथा ऋण सहकारी विरुद्ध एक बचतकर्ताले २९ लाख ५० हजार रुपैयाँ, ढुकु पिकु सहकारी विरुद्ध ५० लाख रुपैयाँ, चाइना टाउन सहकारी विरुद्ध २ बचतकर्ताले १८ लाख ४७ हजार रुपैयाँ बराबरको मागदावी सहित उजुरी दिएका छन् ।

त्यस्तै, समुन्नत सहकारी विरुद्ध सात बचतकर्ताले एक करोड ५२ लाखको मागदावी गरेका छन् । विभागका अुसार विज्नेश बचत तथा ऋण सहकारी विरुद्ध १५ बचतकर्ताले २ करोड ५८ लाख ८० हजार रुपैयाँ, एल पी जी सहकारी विरुद्ध ८५ बचतकर्ताको ४३ लाख ८७ हजार ९८६ रुपैयाँ, लक्ष्मीबास सहकारी विरुद्ध ९ जनाको २० लाख ३४ हजार ७१७ रुपैयाँ, सूर्योदय ज्योतिविरुद्ध ४९ बचतकर्ताले १६ लाख ५१ हजार १२३ रुपैयाँ र स्वतन्त्र शान्ति सहकारीका ४७ जानले २ करोड ५८ लाख ९३ हजार १३३ रुपैयाँ मागदावीसहित उजुरी दिएका छन् ।

त्यस्तै, यस अवधिमा मानापाथी सहकारी विरुद्ध ४ करोड ५३ लाख ८६ हजार ४८० रुपैयाँ बराबरको मागदावी सहित ६९ जना बचतकर्ताको उजुरी परेको छ । ल्होत्से सहकारीका २३ जनाले ९१ लाख २४ हजार १२२ रुपैयाँ, सोसाइटी सहकारीका दुई बचतकर्ताले ५ लाख ९२ हजार ७९३ रुपैयाँ बराबरको मागदावी सहित विभागमा उजुरी दिएका छन् ।

विभागका अनुसार एउटै सहकारी विरुद्ध ३९ करोड ११ लाख ४१ हजार ३४० रुपैयाँ मागदावी सहित उजुरी परेको छ । गृहशान्ती बचत तथा ऋण सहकारी विरुद्ध उक्त रकम बराबरको मागदावीसहति उजुरी परेको हो ।

६० वटा सहकारी संस्थालाई कार्यालयबाटै मिलापत्र

विभागले ऋणीहरुबाट पैसा उठाइदिने र बचतकर्तालाई रकम फिर्ता गर्न समन्वय गर्दै आएको छ । विभागमा विभिन्न वर्गका सदस्यहरु सहकारीबाट बचत फिर्ता नपाएको गुनासो सहित उजुरी गर्न आउने गरेका छन्। जसमा, धेरैजसो ब्यापारीहरु रहने गरेको छन् भने ज्याला दारी काम गर्ने र सोहि संस्थामा काम गर्ने कर्मचारीहरु पनि रहेको उपनिर्देशक कोइरालाले बताइन् । उनले भनिन्, ‘पछिल्लो समय उजुरी रकमका साथै मुद्धा विचाराधिन भएका, कसैको कार्यसमिती नमिलेर मिलाइदिनुपर्यो भनेर आउने गरेका छन्। त्यस्ताका समस्या हामीले सकेसम्म मिलाउने कोशिस गरिरहेका छौं। नसकेमा मात्र प्रहरीमा पठाउने हो।‘

 विभागमा पछिल्लो समय समस्या पुरानै तर ठुलो रुप लिन सक्ने समस्या बढ्दो रहेको महानगरको भनाई छ । हालसम्म महानगर सहकारी विभागले ६० वटा उजुरीको मिलापत्र गराएर पठाएको कोइरालाले जानकारी दिइन ।

प्रकाशित : २७ जेष्ठ २०८०, शनिबार ०७:५८