मंगलबार देखि लागू हुने गरि बजेटले बढायो मदिराको मूल्य, कुनमा कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

मंगलबार देखि लागू हुने गरि बजेटले बढायो मदिराको मूल्य, कुनमा कति ?



काठमाडाैं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् मदिराको कर बढाएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यसबारे आज संसदमा जानकारी गराएका हुन्। उनकाअनुसार बढेको मुल्य भोलि मंगलबार देखि नै लागू हुनेछ ।आर्थिक वर्ष २०८०/८१ का लागि संसदमा प्रस्तुत बजेटअनुसार अन्तःशुल्क बढ्दा समग्र मूल्य बढ्ने भएको हो।

सरकारले वियरको अन्तशुल्क दुई सय २८ रुपैयाँबाट बढाएर दुई सय ३५ रुपैयाँ पुर्याएको छ। बढेको ७ रुपैयाँमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) जोड्दा वियरमा प्रति ६५० मिलिलिटरमा १० रुपैयाँ बढ्ने छ ।

कुनमा कति

-अल्कोहलरहित बियरमा सरकारले प्रतिलिटर ५ रुपैयाँ अन्तशुल्क बढाएको छ । आर्थिक वर्ष २०७९/८० को बजेटमा सरकारले प्रतिलिटर ३० रुपैयाँ अन्तशुल्क तोकेको थियो । सरकारले अन्तशुल्क बढाएर ३५ रुपैयाँ पुर्याएको छ ।

-जौबाट बनेको बियरमा प्रतिलिटर ७ रुपैयाँ अन्तशुल्क बढाएको छ । २२८ रुपैयाँ अन्तशुल्क रहेकोमा प्रतिलिटर २३५ रुपैयाँ तोकेको छ ।

-ईएनएको (एक्स्ट्रा न्युट्रल अल्कोहल) मा ४ रुपैयाँ अन्तशुल्क बढाएको छ । सरकारले गत वर्षकाे बजेटमा ८६ रुपैयाँ रहेकोमा अहिले बढाएर ९० रुपैयाँ अन्तशुल्क तोकेको छ ।

-अन्य मदिरामा प्रतिलिटर ८६ रुपैयाँ रहेकोमा बढाएर प्रतिलिटर ९० रुपैयाँ पुर्याएको छ ।

-डिनेचर्ड स्प्रिट ३० रुपैयाँ रहेकोमा बढाएर ३५ रुपैयाँ पुर्याएको छ । जसमा सरकारले ५ रुपैयाँले बढाएको छ ।

-वाइन वा व्राण्डीको कच्चा पदार्थको रुपमा प्रयोग हुने सबै प्रकारका मादक द्रवहरुसमेत अन्तशुल्क ७ रुपैयाँले बढाएको छ । सरकारले हाल कायम रहेको २२८ रुपैयाँ अन्तशुल्क बढाएर प्रतिलिटर २३५ रुपैयाँ तोकेको छ ।

-१५ युपि शक्ति ४८.५ प्रतिशत अल्कोहलको मात्रा भएको तयारी मदिरा अन्तशुल्क प्रतिलिटर १७५० रुपैयाँ रहेकोमा १८०० रुपैयाँ तोकेको छ । साथै, प्रतिएलपि लिटर २०५९ रुपैयाँ रहेकोमा अन्तशुल्क बढाएर २१ सय २० रुपैयाँ पुर्याएको छ ।

-२५ युपी शक्तिको ४२.८ प्रतिशत अल्कोहल भएको तयारी मदिरामा प्रतिलिटर १३०६ एलपि लिटर १७४१ रुपैयाँ थियो । सरकारले अन्तशुल्क बढाएर प्रतिलिटर १३४५ रुपैयाँ र प्रति एलपी १७९० कायम गरेको छ ।

-३० युपी शक्तिको ३९.९४ प्रतिशत अल्कोहलको मात्रा भएको तयारी मदिरामा प्रतिलिटर १२१५ र प्रति एलपि लिटर १७३५ रुपैयाँ थियो । सरकारले बढाएर प्रतिलिटर १२५० अन्तशुल्क तोकेको छ भने प्रतिएलपी लिटर १७९० रुपैयाँ कायम गरेको छ ।

-अन्य मदिरामा पनि सरकारले प्रतिलिटर अन्तशुल्क १७५० रुपैयाँबाट बढाएर १८०० पुर्याएको छ भने प्रतिएलपि लिटरमा २०५९ रहेकोमा २१२० पुर्याएको छ ।

-कच्चा पदार्थमा प्रयोग हुने मादक द्रवहरुको १५ सय भन्सार महसुल छ भने २२८ अन्तशुल्क बढाएर २३५ रुपैयाँ कायम भएको छ ।

-४० युपी शक्तिको ३४.२३ प्रतिशत अल्कोहलको मात्रा भएको मदिरा प्रतिलिटर ६१० रुपैयाँ बढाएर ६३० र प्रतिएलपी लिटर १०१७ रुपैयाँ बढाएर १०५० रुपैयाँ कायम गरेको छ ।

-५० युपी शक्तिको २८.५३ प्रतिशत अल्कोहलको मात्रा भएको मदिरा प्रतिलिटर ४७२ रुपैयाँबाट बढाएर ४८५ रुपैयाँ र प्रतिएलपी लिटर ९४४ रुपैयाँबाट बढाएर ९७० रुपैयाँ तोकेको छ ।

-७० युपी शक्तिको १७.१२ प्रतिशत अल्कोहलको मात्रा भएको मदिरा प्रतिलिटर ४२ रुपैयाँबाट बढाएर ५० रुपैयाँ र प्रतिएलपी लिटर १३८ रुपैयाँबाट बढाएर १६५ रुपैयाँ तोकेको छ ।

प्रकाशित : १५ जेष्ठ २०८०, सोमबार २१:४६