बागलुङ । जिल्ला सहकारी संघ लिमिटेड बागलुङले इमेज वचत तथा ऋण सहकारी संस्था लिमिटेडका वचतकर्ताहको रकम फिर्ता गर्न प्रभावकारी प्रक्रिया अगाडि बढाउनका लागि सहकारी रजिष्ट्रार कार्यालय पोखराका रजिष्ट्रार रोशन अर्यालकाे ध्यानाकर्षण गराएको छ ।
संघका तर्फबाट सञ्चालक जगन्नाथ सापकोटाले आइतवार ध्यानाकर्षण पत्र बुझाउदै वचतकर्ताको रकमको सुरक्षणका लागि आवश्यक कानुनी प्रक्रियालाई छिटो र प्रभावकारी रुपमा अगाडि बढाउन माग गरेका हुन् । जिल्ला सहकारी संघले वचतकर्ताहरुको रकम जोखिममा पारेर सञ्चालकहरु सम्पर्क विहिन भएको भन्दै सञ्चालकहरुको खोजी गरी कानुनी कारवाही अगाडि बढाउन समेत माग गरेको छ ।
जिल्ला सहकारी संघको ध्यानाकर्षण पत्रबुझे पछि सहकारी रजिष्ट्रार रोशन अर्यालले वचतकर्ताहरुको वचतको सुरक्षणका लागि रजिष्ट्रारको कार्यालय सचेत रहेको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइ सकेको जानकारी गराए ।
वचतकर्ताहरुको उजुरी पछि कार्यालयकातर्फबाट संस्थाको वित्तीय अवस्थाको पहिचान गर्नुका साथै सहकारीको कार्यालय सिलगर्न जिल्ला प्रशासन कार्यालयलाई र आवश्यक खोजी प्रक्रिया अगाडि बढाउनका लागि केन्द्रीय अनुसन्धान व्यूरोमा सिफारिस गरिएको उनले बताए ।
इमेज सहकारी संस्थाको समस्या समाधानमा जिल्ला सहकारी संघ लगायत सहकारी अभियानका तर्फबाट भएको समन्वय र सहकार्यलाई निरन्तरता दिन आग्रह गर्दै उनले संकटको यो घडिमा सबैलाई संमयताका साथ समस्या समाधानमा सहयोग गर्न आग्रह गरेका छन् ।
हाम्रो पहिलो प्राथमिकता वचतकर्ताहरुको वचत फिर्ता गराउने हो, अनुसन्धानका क्रममा दोषी देखिएका सबैलाई कानुनी दायरामा ल्याएर वचत फिर्ता गराउन आफुहरु प्रतिवद्ध रहेको रजिष्ट्रार अर्यालले बताए । बागलुङमा पछिल्लो समयइमेज र शिवशिखर सहकारीका कारण वचतकर्ताहरुको करिव २ अर्ब रकम जोखिममा परेको छ ।
वचतकर्ताहरुका तर्फबाट गठित संघर्ष समितिले शनिवार जिल्ला सहकारी संघलाई सहजीकरणका लागि अनुरोध गरेको थियो । जिल्ला सहकारी संघले शनिवार नै वैठक बसी सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराको ध्यानाकर्षण गराउने निर्णय गरेको र संघका तर्फबाट आइतवार सञ्चालक जगन्नाथ सापकोटाले रजिष्ट्रार अर्याललाई ध्यानाकर्षण पत्र बुझाएको जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमाकुमारी जिसी (अञ्जु) ले जानकारी दिइन् ।
इमेज सहकारीले सूचना प्रकाशित गरेर कार्यालय बन्द गरेदेखि नै जिल्ला सहकारी संघको अगुवाईमा संस्थालाई सहज रुपमा सञ्चाल नगर्न र वचतकर्ताहरुको रकम फिर्ताका लागि समन्वय गर्दै आएको र आगामी दिनमा पनि वचत फिर्ताका लागि सरोकारवालाहरुसंग समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता अध्यक्ष जिसीले व्यक्त गरिन् ।
Comment