वित्तीय साक्षरतालाई थप प्रभावकारी बनाऔ : प्रमुख जिल्ला अधिकारी श्रेष्ठ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

वित्तीय साक्षरतालाई थप प्रभावकारी बनाऔ : प्रमुख जिल्ला अधिकारी श्रेष्ठ



बागलुङ । बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले आफ्ना सदस्यहरुलाई जागरुक बनाउनका लागि सहकारीहरुले वित्तीय साक्षरता अभियानलाई थप प्रभावकारी बनाउनुु पर्नेमा जोड दिएकी छन् । जिल्ला सहकारी संघ बागलुङ र विषयगत संघहरुका तर्फबाट सहकारी सुधारका लागि सरकारले गर्नु पर्ने १३ बुदे माग बुझेपछि सहकारीकर्मीहरुसंग कुरा गर्दै उनले यस्तो सुझाव दिएकी हुन् ।

केही सहकारी जो, नियमसंगत रुपमाचलेका छैनन्, तिनका कारण नीतिगत रुपमा सञ्चाल नभएका, आफ्ना शेयर सदस्यहरुसंग मात्रै कारोबार गरेका र सहकारीको मर्म र भावना आत्मसात गरेका सहकारीहरुमा पनि समस्या बढ्दै गएको छ, प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भनिन,–‘यस्तो बेलामा नीतिगत रुपमा सञ्चालनमा रहेका सहकारीहरुले आफ्ना सदस्यहरुलाई जागरुक बनाउनका लागि वित्तीय साक्षरता लगायत सचेतना अभियानलाई थप प्रभावकारी बनाउनु पर्दछ ।’

बागलुङमा सञ्चालित २ वटा सहकारीले वचतकर्ताहरुको ठुलो रकम जोखिममा पारिदिएका कारण आम समुदायमा सबै सहकारीका बारेमा गलत धारणाको विकास भएको छ, यस्तो बेलामा सहकारी अभियानले अगुवाई गरेर सदस्य लगायत आम समुदायलाई सचेत बनाउन उनले सुझाव दिइन् ।

सहकारीमा राखेको वचत सुरक्षित छ, सदस्यहरुसंग ऋण लगानीमा छ, सहकारीको मर्म र भावनाअनुसार नै चलेको छ भन्ने कुरा आम समुदायलाई विश्वस्तपार्नका लागि सबै सहकारीहरुले वित्तीय साक्षरतालगायत संस्थागत सचेतना प्रदान गर्नु पर्नेमा प्रमुख जिल्ला अधिकारी श्रेष्ठको जोड थियो ।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले इमेज र शिवशिखर सहकारीमा आएको समस्या समाधान गर्न र वचतकर्ताको रकम फिर्ताका लागि संघीय सहकारी विभाग र प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयसंग नियमित रुपमा समन्वय भइरहेको पनि जानकारी गराइन् ।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठलाई १३ बुदे मागपत्र बुझाउदै जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमाकुमारी जिसी (अञ्जु)ले सहकारीमा देखिएका समस्या समाधानका लागि सहकारी ऐन तथा नियमावलीको प्रभावकारी कार्यान्वयनमा जोड दिएकी थिइन् ।

सरकारले कर्जा सुरक्षण केन्द्र, कर्जा न्यायाधिकरण लगायत सहकारी ऐनमा व्यवस्था भएका विषयहरु कार्यान्वयन नगरेका कारण सहकारीबाट ऋण लगेर भुक्तान नगर्नेहरुको संख्या बढ्दै गएकोले पनि सहकारीहरुमा समस्या आएको भन्दै उनले सरकारले छिटो भन्दा छिटो सहकारीलाई सहजता प्रदान गर्ने कानुनहरु निर्माणका लागि समन्वय गरिदिन प्रमुखजिल्ला अधिकारी श्रेष्ठलाई आग्रह गरिन् ।

जिल्ला सहकारी संघका अध्यक्ष जिसीको नेतृत्वमा गएको जिल्ला सहकारी संघका पदाधिकारी सदस्यहरु, विषयगत सहकारी संघका अध्यक्ष तथा प्रतिनिधिहरु लगायत सहकारीकर्मीहरुको टोलीले राष्ट्रिय सहकारी महासंघले अगाडि सारेका १३ बुदे माग प्रमुख जिल्ला अधिकारी श्रेष्ठ मार्फत संघीय सरकारलाई पठाएको जिल्ला सहकारी संघ बागलुङका सचिव तेज प्रसाद शर्माले जानकारी दिएका छन् ।

प्रकाशित : १५ जेष्ठ २०८०, सोमबार ११:५८