तीन अर्ब रुपैयाँ भुक्तानी नपाए पछि कृषी बीमा बन्द गर्ने घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बिशेष

तीन अर्ब रुपैयाँ भुक्तानी नपाए पछि कृषी बीमा बन्द गर्ने घोषणा



काठमाडाैं । सरकारबाट कृषी बीमाकाे दाबीवापत पाउनुपर्ने झण्डै तीन अर्ब रुपैयाँ भुक्तानी नपाएपछि निर्जीवन बीमकले कृषी बीमालेखकाे बिक्री बन्द गर्ने घाेषणा गरेका छन् ।

निर्जीवन बीमा कम्पनीहरूकाे संस्था नेपाल बीमक संघले प्रेस विज्ञप्ती जारी गर्दै जेठ ७ गतेदेखि कृषी बीमालेख जारी गर्ने र बीमालेख अन्तर्गतकाे दाबी भुक्तानी दिने कार्य बन्द गरिने जानकारी गराएकाे हाे ।

संघका अनुसार बाली बिमा अनुदानको रकम २०७८ असोजदेखि चैत सम्मको आंशिक पाएपनि अरु रकम पाउन बाँकी छ । माछापालन बीमा अनुदान वापतको रकम २०७७ सालदेखि नै बीमा कम्पनीहरूले भुक्तानी पाएका छैनन् । पशुपंक्षी बिमाको रकम २०७८ असोज देखी बाँकी रहेको छ ।

‘बीमा कम्पनीहरुले बीमा ऐन नियमावली नियामकको निर्देशिका र परिपत्रको आधारमा काम गरेकोले बीमा प्रधिकरणले जारी गरेको निर्देशिका बमोजिम कार्य गरेका कम्पनीको भुक्तानी रोक्दा नेपाल सरकारको कृषी योजनामा नै नकारात्क प्रभाव पार्ने हुँदा नियामक निकाय नेपाल बीमा प्राधिकरण, कृषि विभाग र कृषि तथा पशुपंछि मन्त्रालयको गंभीर ध्यानाकर्षण गराउँछौँ’ विज्ञप्तिमा भनिएको छ ।

सरकारबाट उपलब्ध गराउनुपर्ने रकम उपलब्ध गराउन पटक पटक लिखित र मैखिक अनुरोध गर्दा पनि उक्त रकम उपलब्ध नहुँदा बीमा कम्पनीहरु जोखिममा परेको पनि संघले जनाएको छ ।

स‌ंघले अनुदानवापतकाे बक्याैता रकम भुक्तानी र कृषी बीमालेखकाे बीमांक सम्बन्धमा कृषी विभागकाे स्पष्ट धारणा नआएसम्म बीमालेख बिक्री र दाबी भुक्तानी कार्य बन्द गरिने घाेषणा गरेकाे छ। स‌ंघले नेपाल बीमा प्राधिकरण र कृषी विभागले कृषी बीमालेखकाे बीमांकसम्बन्धमा स्पष्ट सहमति गरेर अन्याैलता हटाउनुपर्ने सुझाव दिएकाे छ।

किसानले बीमा गरेकाे अवस्थामा बालीनाली, पशु पंक्षीमा क्षति पुगेमा बीमा कम्पनीले क्षतिपूर्ती उपलब्ध गराउने भएकाले किसानलाई ठूलाे आर्थिक नाेक्सानी व्यहाेर्नुपर्दैन । सरकारले कृषी उत्पादनकाे प्रवर्द्धनका लागी २०६९ सालदेखि कृषी बीमालेखकाे बीमाशुल्कवापतकाे रकममा निश्चित प्रतिशत रकम आफै‌ंले व्यहाेर्दै आएकाे छ।

प्रकाशित : १ जेष्ठ २०८०, सोमबार १०:५१