मौलाकाली केवलकार वैशाख १८ गतेदेखि सञ्चालनमा आउने, प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

मौलाकाली केवलकार वैशाख १८ गतेदेखि सञ्चालनमा आउने, प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्दै



काठमाडौं । मौलाकाली केबलकार प्रालिद्वारा प्रवर्द्धित मौलाकाली केबलकार यही वैशाख १८ गतेदेखि सञ्चालनमा आउने भएको छ। नवलपुर जिल्लाको गैँडाकोट १ मा निर्माण सम्पन्न केबलकार यही वैशाख १ गतेदेखि परीक्षण सञ्चालन भएको थियो। केबलकारको वैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम छ।

आईएमई ग्रुपको मुख्य लगानी रहेको मौलाकाली केबलकारको निर्माण गत वर्षदेखि सुरु गरिएको थियो। गैँडाकोट–१ बाट मौलाकाली मन्दिरसम्म १.२ किलोमिटर लामो केबलकारमा १२ वटा गोन्डोला रहेका छन्।

केबलकारमार्फत बटम स्टेसनबाट टप स्टेसनसम्प पुग्न करिब ५ मिनेटको समय लाग्छ। केबलकार सञ्चालनसँगै मौलाकालीको दर्शन तथा पूजाआजाका लागि जाने भक्तजनहरुका लागि सहज हुनेछ।

केबलकारको माथिल्लो स्टेसनमा सुविधासम्पन्न ६० रुमको होटेल, ब्यांक्वेट हल र रेस्टुरन्ट सञ्चालनमा रहनेछन्। केबलकार सञ्चालन भए पनि होटेल सञ्चालनका लागि भने अझै केही महिना लाग्ने मौलाकाली केबलकार प्रालिले जनाएको छ।

नवलपुर र चितवन जिल्लाको पर्यटकीय पूर्वाधारमा उल्लेख्य योगदान पुग्ने उक्त परियोजनामा २ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ।

आईएमई ग्रुपको मुख्य लगानी रहेको केबलकारसहितको नयाँ पर्यटकीय गन्तव्य निर्माण काठमाण्डौको चन्द्रागिरीमा निर्माणसम्पन्न भई सञ्चालनमा रहेको छ।

त्यसैगरी यस ग्रुपको मुख्य लगानी रहेको लुम्बिनी केबलकार प्रालिद्वारा प्रवर्द्धित अर्को केबलकार परियोजना रुपन्देही जिल्लाको बुटवल बजारदेखि पाल्पाको बसन्तपुरमा निर्माणाधीन रहेको छ। उक्त केबलकार परियोजना पनि यसै महिनाको अन्त्यदेखि सञ्चालनमा आउने कम्पनीले जनाएको छ। आइएमई ग्रुपको लगानीमा सातवटै प्रदेशमा ठूला र नमुना पर्यटकीय पूर्वाधार निर्माणको चरणमा रहेका छन्।

प्रकाशित : ११ बैशाख २०८०, सोमबार १२:०९