महिला सहकारीकर्मीहरुका लागि संस्थागत अभिमुखीकरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

मुख्य समाचार

महिला सहकारीकर्मीहरुका लागि संस्थागत अभिमुखीकरण

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

म्याग्दी । सामाजिक विकास कार्यालय म्याग्दीको आयोजना तथा अन्नपूर्ण गाउँपालिकासंगको सहकार्य तथा मिलन म्याग्दीको व्यवस्थापनमा महिला सहकारीहरुको संस्थागत विकास तथा अभिमुखीकरण सम्बन्धी २ दिने कार्यक्रम बुधवारदेखि शुरु भएको छ ।

अन्नपूर्ण गाँउपालिका भित्र महिलाद्वारा सञ्चालित सहकारीमा आवद्ध महिला सञ्चालक तथा कर्मचारीहरुका लागि तालिम आयोजना गरिएको छ । महिलाहरुले सञ्चालन गरेका सहकारीहरुको संस्थागत विकाससंगै सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणमा सहकारीको योगदान बढाउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले जानकारी दिए ।

महिलाहरुको आर्थिक विकास र सामाजिक अवस्था सुधार गर्नका लागि ग्रामिण क्षेत्रमा सहकारी सबैभन्दा उत्तम विकल्प हो, सहकारीमार्फत आयआर्जन, बचत लगायत क्षमता विकासमा समेत महत्वपूर्ण काम गर्न सकिन्छ, कार्यालय प्रमुख थापाले भने,–‘महिला शसक्तिकरणका लागि सहकारीलाई सहयोगी बनाउनका लागि सहकारीको नेतृत्व र व्यवस्थापनमा रहेका सहकारीकर्मी महिलाहरुको क्षमता विकास गर्नु पर्दछ ।’

तालिमका प्रशिक्षक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले सहकारीलाई दिगो, व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालनका लागि रणनीतिक योजना निर्माण गरी स्पष्ट लक्ष्यका साथ काम गर्न आवश्यक रहेको बताए ।

तालिमको शुभारम्भ अन्नपूर्ण गाउँपालिका वडा नं. ३ का अध्यक्ष रमेश पुर्जाले गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया विटालुले गरेकी थिइन् ।

कार्यक्रममा अन्नपूर्ण गाउपालिकामा सञ्चालित महिला सहकारीहरु सिर्जना महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दाना, निलगिरी महिला विकास वचत तथा ऋण सहकारी संस्था लिमिटेड नारच्याङ, न्यू कान्छी बराही महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेड शिख र सयपत्री महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेड सिखका सञ्चालक र कर्मचारी गरी ३० जनाको सहभागिता रहेको थियो ।

साविकको महिला विकास कार्यालयद्वारा सञ्चालित महिला सहकारीहरुको संस्थागत विकासमा योगदान गर्ने योजनाका साथ सामाजिक विकास कार्यालय म्याग्दीले संस्थागत विकासका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

प्रकाशित : ७ बैशाख २०८०, बिहिबार १२:३९ 20 April, 2023 12:39 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।