नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको ठूलो स्रोत चीन भएको छः प्रधानमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको ठूलो स्रोत चीन भएको छः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा प्रतयक्ष वैदेशिक लगानीको सबैभन्दा ठूलो स्रोत चीन रहेको बताएका छन्। नेपाल उद्योग परिसंघ र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेडको संयुक्त आयोजनामा भएको ‘नेपाल चाइना इन्भेस्टमेन्ट र बिजनेस फोरम २०२३’को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यो बिजनेस फोरमले नेपाल चीनको विद्यमान व्यापारिक सम्बन्धलाई सुदृढ गर्न, आर्थिक तथा व्यापारिक साझेदारीका नयाँ क्षेत्रहरु खोज्न उत्कृष्ट अवसर प्रदान गर्ने बताए। उनले चीन नेपालको दोस्रो ठूलो व्यापार साझेदार रहेको पनि बताए।

‘हाम्रा छिमेकीहरुले हासिल गरेको अभूतपूर्व आर्थिक प्रगतिले निर्यात व्यापारको विस्तार र आन्तरिक लगानीको स्तरवृद्धि गरी नेपालको विकास र समृद्धिको अवसरका फराकिलो मार्गहरु खोल्नेछ भन्ने हाम्रो विश्वास छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी हाम्रा छिमेकीहरुको विशाल बजारहरुमा हाम्रा उत्पादनहरुको सजिलो र वृहद बजार पहुँचको आशा गर्छौं।’

विदेशी लगानीका लागि स्थिर राजनीतिक वातावरण चाहिन्छ भन्नेमा सचेत रहेको उल्लेख गर्दै उनले नीतिमा निरन्तरता र स्थिरताको वातावरण बनाउने बताए।

प्रधानमन्त्री प्रचण्डले नेपालले लगानी प्रणालीमा ठूला सुधारहरु गरेको भन्दै प्रत्यक्ष विदेशी लगानीलाई प्रोत्साहन, प्रवर्द्धन र संरक्षण गरेको बताए। उनले जलविद्युत, औद्योगिक उत्पादन, पूर्वाधार विकास, पर्यटन, कृषि, खनिज, खानीलगायतका क्षेत्रमा लगानी गर्नसमेत आग्रह गरे।

प्रधानमन्त्री प्रचण्डले नेपालको कानुनले लगानीबाट कमाएको आम्दानी लैजान कुनै समस्या नरहेको भन्दै स्वदेशी र विदेशी लगानीकर्ताबीच कुनै भेदभाव नगरिनेसमेत बताए। उनले नेपालको चीनसँगको बढ्दो व्यापार घाटा र चीनबाट आएको एफडीआईको प्रतिबद्धता र वास्तविक लगानीमा देखिएको कमीका केही समस्या यस्ता फोरमले व्यावहारिक समाधानका साथ सम्बोधन गर्ने प्रयास गर्नुपर्नेमा जोड दिए।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले दुई देशको हितमा पारस्परिक सम्बन्धलाई मजबुत बनाउन तथा नयाँ व्यापारिक सम्पर्क स्थापित गर्ने उद्देश्यले फोरमको आयोजना गरिएको बताए। नेपालको लागि चीन विकासको महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै उनले उत्पादनमूलक उद्योग, सूचना प्रविधि, सिमेन्ट, पर्यटन, जलविद्युतलगायतका क्षेत्र लगानीका लागि अत्यन्त उपयुक्त रहेको बताए।

पूर्वाधार एवं निर्माणका क्षेत्रमा र उद्योगहरुमा भएको चिनियाँ लगानी सफल रहेको र थप चिनियाँ लगानी खोजिरहेको अग्रवालको भनाइ थियो। नेपाल चाइना इन्भेस्टमेन्ट र बिजनेस फोरमले नेपालमा चिनियाँ लगानी बढ्ने विश्वास उनले व्यक्त गरे।

नेपालका लागि चिनियाँ राजदूत छन् सोङले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न र व्यापार गर्न प्रोत्साहित गरिरहेको बताए। उनले स्वच्छ ऊर्जा, जलविद्युत, विद्युतीय अटोमोबाइललगायतका नयाँ विकासमा लगानी गर्न आवश्यक रहेको बताए। नेपालले चीनमा निर्यात विस्तार गरेको भन्दै उनले दुई देशबीचको सीमाहरुमा दुईतर्फी व्यापार र यात्रु आवागमन पुनः सुचारु गर्न सक्दो प्रयास गरिरहेको बताए।

नेपाल चिनियाँ नागरिकका लागि सबैभन्दा आकर्षक गन्तव्य रहेको भन्दै उहाँले कोडिभ १९ पछि मार्च १५, २०२३ देखि चीनको समूह भ्रमणको गन्तव्यमा नेपाललाई समावेश गरिएको बताए। यसले सन् २०२३ मा नेपालको सुन्दर परिदृश्य र नेपाली जनताको न्यानो आतिथ्यताको अनुभव गर्न थप चिनियाँ पर्यटक नेपाल आउने उहाँले विश्वास व्यक्त गरे।

चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेडका उपाध्यक्ष चाङ साओ गाङले चीन नेपालको विदेशी पुँजीको सबैभन्दा ठूलो स्रोत र पर्यटकको दोस्रो ठूलो बजार रहेको बताए। उनले चिनियाँ आधुनिकीकरण र चीनको उच्च गुणस्तरीय विकासले नेपालसहित अन्य मुलुकको विकासमा नयाँ अवसरहरु ल्याउने विश्वास व्यक्त गरे।

गाङले नेपाल चाइना इन्भेष्टमेन्ट र विजनेस फोरमले द्विपक्षीय आर्थिक तथा व्यापारिक सहयोगको जगलाई थप सुदृढ गर्ने र चिनियाँ तथा नेपाली व्यापारिक समुदायलाई नयाँ यात्रातर्फ अघि बढाउने लक्ष्य राखेको बताए। नेपालमा विद्युत, सञ्चार र सडक निर्माणजस्ता महत्वपूर्ण पूर्वाधार विकास र लगानीको ठूलो माग रहेको भन्दै उनले चीनसँग राम्रो औद्योगिक प्रणाली र पुँजी, प्रविधि र अनुभवबाट नेपालले फाइदा लिन सक्ने बताए। उनले सीसीपीआईटी चीनको सबैभन्दा ठूलो व्यापार र लगानी प्रवर्द्धन गर्ने एजेन्सी रहेको र नेपालमा नेपाल उद्योग परिसंघसँगको सहकार्यमा दुई देशबीच व्यापार र लगानी सहयोगलाई सहज बनाउन आफुहरु तयार रहेको बताए।

नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले नेपालका लागि चिनियाँ लगानी महत्वपूर्ण रहेको बताए। उनले चिनियाँ लगानीकर्ताले सञ्चार, खानी, उत्पादनमुलक उद्योगलगायतका क्षेत्रबाट लाभ लिन सक्ने धारणा राखे।

फोरमको विजनेस सेसनमा लगानी नीति, सुविधा तथा लगानीको अवसरका क्षेत्रहरुको विषयमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, उद्योगमा लगानीको अवसरका विषयमा नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजबहादुर शाह, अटो क्षेत्रको विषयमा बीवाईडीको नेपाल निर्देशक हु झिउ, पूर्वाधार तथा निर्माण क्षेत्रको विषयमा नेपाल पूर्वाधार बैंकका प्रमुख कार्यकारी अधिृत रामकृष्ण खतिवडा, प्रविधिको विषयमा वाङ झिन्सान, नेपालको पर्यटन उद्योगको विषयमा परिसंघका महानिर्देशक दीपकराज जोशी, जडिबुटी क्षेत्रको विषयमा जडिबुटी उत्पादक संघ नेपालका अध्यक्ष प्रेमराज तिवारीले प्रस्तुती दिनुभएको थियो भने परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले समापन मन्तव्य राखेका थिए।

कोडिभ १९ पछि पहिलो पटक भएको नेपाल चाइना इन्भेष्टमेन्ट र विजनेस फोरम २०२३ मा चिनियाँ ६० भन्दा बढी लगानीकर्ता, परिसंघका उपाध्यक्षहरु कृष्णप्रसाद अधिकारी, विरेन्द्रराज पाण्डे, हेमराज ढकाल, परिसंघ गभर्निङ काउन्सिलका सदस्यहरु, स्वदेशी उद्योगी व्यवसायी सहित १५० भन्दा बढी उद्योगी व्यवसायीहरुको सहभागिता थियो।

प्रकाशित : १ चैत्र २०७९, बुधबार १२:३८