आर्थिक क्षेत्रलाई गतिशील बनाउनु राज्यको दायित्व हाे : मन्त्री श्रेष्ठ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

आर्थिक क्षेत्रलाई गतिशील बनाउनु राज्यको दायित्व हाे : मन्त्री श्रेष्ठ



काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अहिले समग्र अर्थतन्त्र र निजी क्षेत्रमा देखिएका समस्यालाई सरकारले गम्भीररूपमा लिएको बताएका छन् ।

आज काठमाण्डाैमा आयोजित खिचापोखरी न्यूरोड व्यापार सङ्घको १५औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनलाई सम्बोधन गर्दै उनले सरकार निजी क्षेत्रका समस्या समाधान हल गर्न प्रयत्नशील रहेको जानकारी दिए।

आर्थिक क्षेत्रलाई गतिशील बनाउनु राज्यको दायित्व रहेको भन्दै निजी क्षेत्रका समस्या समाधानका लागि सरकारले पहल गरिरहेको पनि उनले बताए । “आफ्नो दायित्व पूरा गर्नका लागि सरकार र निजी क्षेत्रका आ-आफ्ना भूमिका छन् । निजी क्षेत्रमा देखिएका समस्यालाई सरकारले गम्भीररूपले लिएको छ । समाधानका लागि छलफल पनि भइरहेको छ”, मन्त्री श्रेष्ठले भने ।

निजी क्षेत्रको सहकार्यमा मात्र आर्थिक समृद्धि सम्भव रहेको पनि उनको भनाइ छ । “अहिलेको राष्ट्रिय साझा कार्यभार देशलाई समृद्ध बनाउनु हो । यो कार्यभार कुनै एक पक्षले मात्र पूरा गर्न सक्दैन भन्ने स्पष्ट छ । निजी क्षेत्र समस्यामा रहेको बारे सरकार जानकार छ”, उनले भने ।

कार्यक्रममा खिचापोखरी न्यूरोड व्यापार सङ्घका अध्यक्ष गणेशकुमार न्यौपानेले कोभिड १९ महामारीपछि निजी क्षेत्रले निरन्तर सङ्कट भोगिरहेको बताए । सरकारले कोभिड महामारीपछिको पुनरुत्थानमा ध्यान पुर्याउन नसकेको भन्दै सरकारले कर प्रशासनलाई चुस्त बनाई न्यून बिजकीकरणको समस्या हल गर्नतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ ।

प्रकाशित : १९ फाल्गुन २०७९, शुक्रबार १३:३२