नेपाल इन्स्योरेन्सका अध्यक्ष पौडेल र संचालक अग्रवाल बर्खास्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

नेपाल इन्स्योरेन्सका अध्यक्ष पौडेल र संचालक अग्रवाल बर्खास्त



काठमाडाैं । नेपाल बीमा प्राधिकरणले नेपाल इन्स्योरेन्स कम्पनीका अध्यक्ष अर्जुन शर्मा पौडेल र सञ्चालक विष्णु खेतान अग्रवाललाई सञ्चालक समितिबाट हटाउन निर्देशन दिएको छ । पौडेल र अग्रवाल कम्पनीमा सञ्चालकको रुपमा २ कार्यकाल पुरा भएपनि मर्जरमा जाने भएपछि दुवै जनालाई सञ्चालकमा पुनःनियुक्ति गर्न प्राधिकरणले अनुमति दिएको थियो ।


संस्थागत सुशासन विपरित संचालक रहँदा रहँदै पनि प्राधिकरणले कम्पनी मर्जरमा जाने सहमति अनुसार उनीहरुको नियुक्ति स्वीकृत गरेको थियो । तर, सोमबार प्राधिकरणले पत्राचार गरि अध्यक्ष पौडेल र संचालक अग्रवाललाई बर्खास्त गरेको हो ।

अध्यक्ष पौडेल र संचालक अग्रवालको बर्खास्तसंगै बीमा प्राधिकरणले नेपाल इन्स्योरेन्सका अर्का संचालक चन्द्रसिंह साउदलाई पनि निगरानीमा राखेको छ । यसअघि नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल र आइएमई जनरल इन्स्योरेन्स कम्पनी मर्जरमा तयारी समेत रहेको थियो । तर, नेपाल इन्स्योरेन्सका तीन संचालकका कारण सो नै मर्जर भाँडिएको कम्पनीको आरोप समेत छ ।

मर्जरको बाधक बनेपछि प्राधिकरणले बर्खास्त गरेको बताइएको छ । अग्रवाल गत २९ जेठमा सञ्चालक पदमा पुनः नियुक्ति भएका थिए । नेपाल इन्स्योरेन्स कम्पनीले दुवै जनालाई संस्थागत सुशासन विपरीत सञ्चालक पदमा नियुक्त गर्दा गर्दै पनि प्राधिकरणले मर्जरमा जाने सर्तमा अनुमोदन गरिदिएको थियो ।

प्रकाशित : १५ फाल्गुन २०७९, सोमबार १७:४०