सहकारीहरू सक्किए, खत्तम भए भन्ने हल्लाको पछि नलागाैँः मन्त्री राई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सहकारीहरू सक्किए, खत्तम भए भन्ने हल्लाको पछि नलागाैँः मन्त्री राई



काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र कुमार राईले सहकारीहरू सक्किए, खत्तम भए भन्ने हल्लाको पछि नलागी समस्याको समाधान गरेर सहकारीको प्रवद्र्धनमा लाग्नुपर्ने बताएका छन् । आइतबार आर्थिक मिडिया सञ्चालक संघ (इमान) ले आयोजन गरेको सहकारीका संकट: समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री राईले सहकारी खत्तम छन् भन्ने प्रचार सत्य नभएको र गल्ती गर्ने केहीलाई नियम बमोजिम कारबाही गर्नुपर्ने बताएका हुन्।

उनले भने, सबैलाई पैसा कमाउने इच्छा छ । सबै धनी हुन चाहन्छौं तर, सिमा र विधिमा रहेर गर्नुपर्छ । कानुनलाई अवज्ञा नगरी गर्नुपर्छ । धनी हुने इच्छा भयो भन्दैमा सिमा र विधि मिच्नु हुँदैन ।’

‘केही सहकारी संस्थाले विधि भन्दा बाहिर गए होलान् तर, गाँउठाँउमा राम्ररी चलेका छन् बजारमा सहकारी सकियो भन्ने हल्लाले यो समस्या आएको उनको भनाई छ । ‘गाउँगाउँमा सहकारीले आर्थिक परिचालनका लागि राम्रो काम गरेका छन् । तिनीहरूलाई हामीले प्रोत्साहन गर्नुपर्छ । समस्या छन् भने समाधानका लागि पहल गर्नु पर्छ,’ मन्त्री राईले भने ।

सहकारीमा देखिएका समस्या समाधानका लागि आफू सधै सकारात्मक रहेको पनि उनले बताए। सरोकारवाला मार्फत आएका लिपिबद्ध सुझावलाई आफूले मन्त्रीका रुपमा गर्नुपर्ने पहलमा हुनै कमी नहुने विश्वास पनि व्यक्त गरे ।

‘उनले भने, ‘आजको यो गोष्ठिमा भएको निष्कर्षलाई तपाईहरुले लिपी बनाएर ल्याउनुहोस् । त्यसलाई कार्यान्वयन गर्न मैले ढिला गरे भने तपाईहरुले प्रश्न चिन्ह गर्न सक्नुहुन्छ। त्यसलाइ तुरुन्त कार्यन्वयन गर्छु ।’

प्रकाशित : १४ फाल्गुन २०७९, आईतवार १७:१८