काठमाडौं । राष्ट्र बैंकले कुनैपनि लघुवित्तले १५ प्रतिशत भन्दा बढी ब्याज लिएको छ भने त्यसलाई तत्काल कारबाही गर्ने जनाएको छ । सोमबार काठमाडौँमा आयोजित ‘संकटमा लघुवित्तः कारण र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले यस्तो बताएका हुन् ।
सेवा सुविधाको नाममा लघुवित्तले पछिल्लो समय बदमासी गरेको भन्दै बदमासी गरी बढी रकम असुलेका लघुवित्तबाट राष्ट्र बैंकले पैसा फिर्ता गर्न निर्देशन दिएको उनले बताए । लघुवित्त खारेज गर्ने भन्दापनि सुधार गर्दै जानुपर्नेमा जाेड दिदै उनले अहिले लघुवित्तमा जुन समस्या आएकाे छ, त्याे ‘केहि सेयरका खेलाडी पसेर’ यसलाई बिगारेको उनको आरोप छ ।
त्यसैगरी, कर्मचारीलाई विभिन्न टार्गेट दिएर घर- घरमा गएर पैसा बाढ्ने प्रवृतिले यो समस्या निम्त्याएको उनले बताए । जुन कोरोना र तरलता अभाव मुख्य जड रहेकाे उनको भनाई छ ।
लघुवित्तमा धेरै समयदेखि समस्या देखिएकाे भन्दै नेपाल राष्ट्र बैंकले एकै व्यक्तिले धेरै वटा लघुवित्तबाट ऋण लिन नपाउने व्यवस्था गर्ने तयारी गरिरहेको पनि उनले बताएका छन्। लघुवित्तले केवाईसी समेत कार्यान्वयन नगरेको, सदस्यले छलेर ऋण लिएको, एउटाको ऋण तिर्न अर्को लघुवित्तबाट ऋण लिएको पाईएको लगायतका कारणले एकै व्यक्तिले धेरै लघुवित्तबाट ऋण लिन नपाउने व्यवस्था गर्ने बारे चाँडै निर्देशन जारी गर्ने जनाएका छन् ।
Comment