आइएमई जनरल इन्स्योरेन्स कम्पनी भित्रको व्यतिथि छताछुल्ल, १८ कर्मचारीले बुझाए राजीनामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

आइएमई जनरल इन्स्योरेन्स कम्पनी भित्रको व्यतिथि छताछुल्ल, १८ कर्मचारीले बुझाए राजीनामा



काठमाडौं । देशको प्रमुख इन्स्योरेन्स कम्पनी मध्येको आइएमई जनरल इन्स्योरेन्स कम्पनी भित्रको व्यतिथि छताछुल्ल भएको छ । इन्स्योरेन्स भित्र ट्याग मेशिन खरिदलगाएत प्रक्रियामा कमीसन लेनदेनको विवाद चर्केपछि कर्मचारीहरु सामूहिक राजीनामा दिनेसम्मको अवस्थामा पुगेका हुन् ।

कम्पनी भित्रका कर्मचारीले ट्याग र ट्याग मेशिन खरिदमा बिगतमा भएका कमिशन खेल बन्द हुनुपर्ने साथै कार्यालयको कम्प्युटर र ल्यापटप खरिदमा भेण्डरसँग कमिसन लिएको, पदीय जिम्मेवारीमा रहेकाले आफ्नो पदीय मर्यादा र नैतिक आचरण गुमाई आफ्ना व्यक्तिगत स्वार्थका लागि विभिन्न ‘कुकर्म’ गर्ने गरेको पाइएको छ ।

त्यस्ता गतिविधिबारेको चर्चा सतहमै आएपछि जुनियर कर्मचारीहरुले जागिरबाट राजीनामा दिनुपर्ने अवस्था आएको, घरबार समेत भाँडिने स्थितीमा पुगेको र जो जो कर्मचारीका बारेमा कार्यालयमा प्रश्न उठ्यो उनीहरुको प्रमोशनलगायतका सेवा सुविधा खोस्न खोजेको आरोप कम्पनीमाथि लागेको छ । जुन न्यायसंगत नभएको भन्दै कर्मचारीहरु आक्रोशित बनेका छन् ।

इन्सुरेन्सका कर्मचारीले यस्ता घट्ना र क्रियाकलापबारे वि सं २०७७ असोज २६ गते कम्पनीका जिम्मेबार व्यक्तिहरुलाई ध्यानाकर्षण गराएका थिए। ध्यानाकर्षणमा उनीहरुले मेहनती र इमान्दार सय स्टाफ बिना शाखाको काममा नकारात्मक असर पर्ने भएको हुँदा खाइपाई आएको सुविधा उपलब्ध गराई स्थायी गरिदिन आग्रह गरेका थिए ।

त्यसैगरी क्षमता र निरन्तरताको आधारमा मूल्यांकन गरी प्रमोशन गरीदिन, प्रतिस्पर्धीहरुसँग बजारमा प्रतिस्पर्धा गर्नका लागि भुगोल, परिवेश र बजार बुझेकालाई अधिकारसहित बाध्यताको प्रादेशिक जिम्मेवारी दिनुपर्ने, संस्थाले व्यापार लक्ष्यलाई तोकिएकै अवस्थामा पुर्याउन अल्पकालीन र दीर्घकालीन रणनीति बनाउन र प्रतिस्पर्धी बजारको हिसाबले क्लेम र अण्डर राईटिङलाई व्यवस्थित गर्न इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत योगेश बादे क्षेष्ठलाई ध्यानाकर्षण गराएका थिए ।

त्यसपछि आफ्ना व्यक्तिगत स्वार्थपूर्ति गर्ने किसिमका परिपाटीको अन्त्य नभएपछि आजित भएका हेटौडा, विरगञ्ज लगाएतका विभिन्न शाखाका १८ जना कर्मचारीले सामुहिक राजीनामा पठाएका थिए । तर त्यतिबेला कम्पनीले राजीनामा स्वीकृत नगरी आलटाल गरेको स्रोतको दाबी छ ।

त्यसपछि कर्मचारीहरुले नेतृत्वको रुपमा शरण रेग्मी आएपछि नकारात्मक गतिबिधि विस्तारै ‘संक्रमण रोगको भाइरस’जस्तै फैलिन थालेको आरोप लगाएका छन्। संस्थामा गुटगत चलखेल गरेर आफ्ना गुटमा लाग्ने, चाकरी गर्नेलाई प्रसय दिने, कम्पनीले दिएको टार्गेट पुरा नगरेपनि स्थायी र प्रमोशन गर्नेजस्ता क्रियाकलापहरु हुँदै आएको असन्तुट कर्मचारीहरुको भनाइ छ। असन्तुष्ट कर्मचारीहरुले बुझाएको सामूहिक राजीनामा पत्रमा तत्कालीन नारायणघाट शाखाका अनमोल श्रेष्ठ र तुलसीपुर शाखाका सुधीर पोखरेललाई उदाहरणका रुपमा लिन सकिने प्रष्ट पारेका छन्।

आफ्नो गुटमा नलाग्ने काम र कम्पनीको हितलाई ध्यानमा राखेर काम गर्ने कर्मचारीलाई विभिन्न तरिकाबाट हतोत्साहित गर्ने, बिजनेस भएका ठाउँमा शाखा खोल्न र मार्केटिङ कर्मचारीहरु थप्न पटकपटक लेखेर पठाउँदा पनि सुनुवाइ नगर्ने तर जहाँ बिजनेस कम हुन्छ त्यो ठाउँमा आफ्ना नातागोताका मान्छे रहेको ठाउँमा शाखा खोली हाल्ने (जस्तो, विराटचोक)कम्पनीमा कर्मचारी भर्ना गर्दा औचित्यलाई प्रसय दिनुपर्ने ठाउँमा आफ्ना नातागोताको भर्ती केन्द्र बनाएर गुट निर्माण गर्दा पनि लाचार भएर आफूहरुले टुलुटुलु बसेर हेरीराख्नु परेको गुनासो उनीहरुको छ ।

यस्ता अब्यवहारिक र कम्पनीको अहित हुने किसिमका गतिविधिबाट आक्रान्त बनेका विभिन्न शाखाका १८ जना कर्मचारीले पुनः २०७८ मंसिर १० गते सामुहिक राजीनामा दिएका थिए । त्यसपश्चात भोलिपल्टै इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत योगेश बादे श्रेष्ठ र मार्केटिड हेड शिव लामिछानेले हेटौडा शाखामा पुरेर विभिन्न आश्वासन दिइ राजीनामा थामथुम पारेको तर आफुले दर्ता गरी पठाएको राजीनामा फिर्ता नलिएको असन्तुष्ट एक कर्मचारीले नाम नबताउने सर्तमा जानकारी दिएका छन् ।

तर उक्त समयमा प्रमुख कार्यकारी अधिकृतले जनाएको प्रतिबद्धता र कम्पनीमा मौलाउदै गएको बेतिथि थोरैमात्रामा न्यून भइ राम्रो बातावरण बन्ने आशामा काम सुरु गर्न थालेको अर्का एक कर्मचारीले बताए । तर कर्मचारीहरुले राखेका माग र दिएको सुझावका रुपमा ग्रहण नगरेर उल्टो अर्थमा बुझ्ने र सुझाव दिनेलाई बुझेर केहि गर्छु मात्र भनेर आश्वासन दिने गरेको पाइएको छ । तर व्यवहार भने उल्टो गर्न थालेको, कम्पनीका जिम्मेबार व्यक्तिहरुलाई बजारमा व्यापार गर्न आइपरेका समस्याहरु टेलिफोनमा जानकारी गराउँदा झन् झन् उल्टो अर्थ लगाउने गरेको कर्मचारीहरुको भनाइ छ ।

कम्पनीलाई राम्रो होस भनी मार्केटको अवस्थाबारे जानकारी दिंदा गुटबन्दी, आफ्ना नजिकका व्यक्ति र नाताका मान्छेलाई कम्पनीमा भर्ती गर्न थालेको उनीहरुको भनाइ छ । असन्तुष्ट कर्मचारीहरुले राजीनामा पत्रमा कम्पनी भित्रको यथार्थ प्रष्ट पारिदिएका छन् । उनीहरुले कम्पनीहरूको बीचमा उच्च व्यापार गर्ने र सम्भावित व्यापार भएको क्षेत्रमा शाखा स्थापना गर्न सकियोस् भन्ने चाहना राखेर पटकपटक कम्पनीको हितकालागि साथ र सहयोग गर्दै आएको तर पटकपटक धोखा खाने र कोपभाजनमा परिरहेको पनि जनाएका छन् ।

राजीनामा पत्रमा उनीहरुले लेखेका छन्, ‘स्वाभिमान बन्दकी राखी दास बनेर कम्पनीले कर्मचारीको लागि बनाएको कर्मचारी नियमावली समेत पढ्न पाइँदैन भने काम गर्न सक्ने अवस्थामा नरहेको हुँदा २०७९ साउन ३१ गते गते देखि लागु हुने गरि सामुहिक रुपमा १८ जनाले राजीनामा बुझाएका छौं ।’

प्रकाशित : २ फाल्गुन २०७९, मंगलवार १३:०४