ग्लोबल आइएमई बैंकको नाफामा सामान्य सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्लोबल आइएमई बैंकको नाफामा सामान्य सुधार



काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा २ अर्ब ७८ करोड २३ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसैअवधिको तुलनामा यसले ४.४७ प्रतिशतले मात्र खुद नाफा वृद्धि गरेको हो। गत वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ११ करोड रुपैयाँ रहेको छ। दोस्रो त्रैमाससम्म बैंकले ३ अर्ब ७९ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा ३.१९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकको यस्तो मुनाफा ३ अर्ब ६७ करोड रुपैयाँ रहेको थियो।

बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ६ अर्ब ५४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा बैंकको यस्तो आम्दानी ४ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो। यो हिसाबले ब्याज आम्दानी ३६.४५ प्रतिशतले उकालो लागेको छ।

बैंकको चुक्तापुँजी ३५ अर्ब ७७ करोड रुपैयाँको उचाइमा पुगेको छ। रिजर्भ पनि ७१.१४ प्रतिशतले बढेर १८ अर्ब ३१ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिसम्म रिजर्भमा १० अर्ब ७० करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म बैंकले ४ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ६३ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले २ खर्ब ७६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५८ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो।

बैंकको निष्क्रिय कर्जा (एनपीएल) बढेर २.९२ प्रतिशत पुगेको छ। गत वर्ष यही अवधिसम्म एनपीएल १.१३ प्रतिशतमा सीमित रहेको थियो।

सीडी रेसियो ८९.४३ प्रतिशत रहेको बैंकको आधार दर १०.८० प्रतिशत रहेको छ। बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १८.०७ रुपैयाँमा झरेको छ। गत वर्ष यही अवधिसम्म ईपीएस २२.३९ रुपैयाँ रहेको थियो।

प्रकाशित : ७ माघ २०७९, शनिबार १५:२२