बालकुमारी साकोसको २२औं साधारणसभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

बालकुमारी साकोसको २२औं साधारणसभा सम्पन्न



काठमाडाैं । बालकुमारी बचत तथा ऋण सहकारी संस्थाको २२औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठको सभापतित्व एंव मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । सभामा बोल्दै मेयर श्रेष्ठले सहकारीहरुलाई व्यवस्थित गर्न आफुहरु निर्वाचित भएर आएको एक महिना भित्रै सहकारी ऐन बनाएको बताउँदै नियमावली अन्तिम चरणमा रहेको बताए ।

नगरपालिकाभित्र रहेका संस्थाहरुलाई आयव्यय सहित सहकारी शाखामा सुचिकृत गर्न सूचना जारी गरेको भए पनि हालसम्म ४५ सहकारीले मात्र सुचिकृत गरेको उनले बताए । नगरपालिकामा रहेका कतिपय संस्था तरलताका कारण समस्या परेको भन्दै उनले ती संस्थाहरुलाई कसरी सघाउन सकिन्छ भनेर लागि परेको बताउँदै उनले गलत ढंगले संस्थालाई कारवाही गर्ने समेत बताए । मध्यपुर थिमि धेरै उत्कृट संस्थाहरु रहेकाले व्याजको लोभमा नपरि बचत सुरिक्षत हुने संस्थामा मात्रै कारोबार गर्ने उनले सुझाव दिए । विकास बजेट समयमा निकास नहुँदा अहिले बैंक तथा वितीय संस्थामा तरलता समस्या रहेको भन्दै उनले स्थानियतहमा विकास निर्माणको कार्य अगाडी बढेपछि तरलता समस्या समाधान हुने बताए । बालकुमारी साकोसले मध्यपुर थिमिमा मात्रा नभई भक्तपुर जिल्लाकै एक उत्कृष्ट संस्थाको पहिचान बनाउन सकेको उनले जनाए ।

सभामा सोही नगरपालिका वडा न.४ का वडा अध्यक्ष बालकृष्ण पात्याले शुभकामना मन्तव्य राख्दै बालकुमारी साकोसले वातावरण र सरसफाईको क्षेत्रमा वडासँग मिलेर काम गर्न आग्रह गरे । संस्थाको सामाजिक उतरदायित्व अन्तर्गत वडा र सहकारी मिलेर समुदायलाई हित हुने थुप्रै काम गर्न सकिने उनको भनाई छ । गठ्ठाघरमा रहेको कृषि बचत तथा ऋण सहकारी संस्थाले सदस्यबाट बचत संकलन गरेर एकै परिवारका सदस्यले २५ करोड रुपैया अपचलन गरेको तथ्य फेला पारेको भन्दै उनले उक्त संस्थालाई कारवाहीका लागि कार्यपालिकाबाट निर्णय गरेर अगाडी बढाएको सभामा बताए । सभामा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोख्रेल र भक्तपुर बचत संघका उपाध्यक्ष हरि बल्ल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सभामा अध्यक्ष तुईलाल श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समुदायमा छरिएर रहेको पूँजीलाई संकलन गरी सो पूँजीलाई सदस्यहरुको आर्थिक सामाजिक उत्थानमा लगाउने उद्देश्यका साथ संस्था सुरु गरेको बताए । २०५७ साल असोज २ गते २८ जना सदस्यबाट सुरु भएको संस्थाले हालसम्म आइपुग्दा उलेख्य प्रगति गर्न सकेको बताए । बैंक तथा वित्तीय संस्थाले तरलता अभावको कारण ऋण प्रवाह गर्न नसकेको अवस्थामा पनि संस्थाले प्रयाप्त मात्रामा तरलता व्यवस्थापन गरी सदस्यको आवश्यकता अनुसार सुरक्षित रुपमा ऋण लगानी गर्दै आएको उनले बताए । संस्थालाइ थप प्रभावकारी रुपमा अगाडि बढाउन निकट भविष्यमा नै ४ वर्षे रणनीतिक योजना निमार्ण गरी सदस्यहरुलाई अझ सरल सहज रुपमा सेवा प्रदान गर्ने उनले जानकारी दिए । त्यसैगरी नियामक निकायसँग स्वीकृति लिई संस्थाको कार्यक्षेत्र र सेवा केन्द्र विस्तार गर्ने समेत उनले बताए । संस्थाको चालु आ.व. २०७९/८० को कार्य योजना प्रस्तुत गर्दै उनले सञ्चालक तथा कर्मचारीहरुको क्षमता अभिबृद्धिका लागि तालिम सञ्चालन गर्ने, सदस्यहरुको जोखिम न्यूनिकरणका लागि सदस्य बीमा लागू गर्ने र सदस्यहरुलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने जनाए ।

संस्थाका सचिव पृथ्वीराज श्रेष्ठले आ.व.०७८/०७९को प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए । संस्थाका कोषाध्यक्ष सुदिप श्रेष्ठले गत आ.ब.को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत असार मसान्तसम्म संस्थाको शेयर पूँजी ६.१९ प्रतिशतले बृद्धि भई १३ करोड ५३ लाख ३४ हजार, जगेडा तथा अन्य कोषहरु ३०. १० प्रतिशतले बृद्धि भई ६ करोड ६६ लाख ३९ हजार, बचत १२.६४ प्रतिशतले बृद्धि भई १ अर्ब ६३ करोड ६३ लाख र ऋण लगानी २४.५८ प्रतिशतले बृद्धि भई १ अर्ब ३९ करोड ८८ लाख पुगेको बताए । संस्थाले गत आ.ब. मा १ करोड १३ लाख राजश्व भुक्तानी गरेको छ भने २ करोड ३७ लाख १७ हजार खुद नाफा आर्जन गरेको छ । संस्थामा ५४३० जना सदस्य रहेका छन् ।

संस्थाले साधारणसभाको अवसर पारेर आर्दश माध्यमिक विधालय र बालपे्रमी माध्यमिक विधालयमा अध्ययनरत जेहेन्दार विभार्थीहरुलाई बालकुमारी छात्रवृति समेत प्रदान गरिएको थियो । त्यसैगरी आ.व. २०७८/०७९मा संस्थाद्धारा आयोजित विभिन्न तालिम,प्रतियोगिता तथा शिविरमा योगदान पुन्याएका व्यक्तिहश्रलाई कदर पत्र सहित सम्मान गरिएको थियो । सभामा जेष्ठ सदस्यहरुलाई नगद, खानेकुरा र प्रमाणपत्र दिएर सम्मान गर्नुका साथै एसईईमा उत्कृष्ट अंक ल्याउने सेयसर सदस्यका छोरा छोरीलाई नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो । सभामा संस्थाका उपाध्यक्ष पंचकृष्ण श्रेष्ठले स्वागत मन्तव्य गरेका थिए भने सभाको सञ्चालन सचिव पृथ्वीराम श्रेष्ठले गरेका थिए ।

प्रकाशित : २४ पुष २०७९, आईतवार १४:०१