बलम्बु च्याउ सहकारीको साधारण सभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

बलम्बु च्याउ सहकारीको साधारण सभा सम्पन्न



काठमाडाैं । बलम्बु च्याउ सहकारी संस्थाको १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अमरदीप सिंह महर्जनको अध्यक्षतामा सम्पन्न साधारण सभाको प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य कृष्णगोपाल श्रेष्ठ रहेका थिए।

सभाका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य श्रेष्ठले सहकारीले आफ्ना शेयर सदस्यहरुलाई गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिनु पर्ने बताउँदै सहकारी संस्थाहरुले आफूलाई उत्पादनमुलक क्षेत्रमा केन्द्रित गर्नु पर्ने खाँचो रहेको औंल्याए ।

साधारण सभाको अध्यक्षता ग्रहण गर्दै सोही संस्थाका अध्यक्ष अमरदीप सिंह महर्जनले सभामा अध्यक्ष मर्हजनले सहकारी मार्फत सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक स्तरमा परिवर्तन गरी उनीहरुको जीवनस्तरमा अभिबृद्धि गर्ने हेतुले संस्था सुरु गरेबो बताउदै च्याउ खेतीको आधुनिक विकास र च्याउ खेतीमा आत्मनिर्भर बनाउने लक्ष्य र परिकल्पना लिएको बताए। १४औं बार्षिक साधारण सभासम्म आउदा आफ्नो लक्ष्य प्राप्तिका लागि संघर्षरत रहेको भन्दै उनले लक्ष्य प्राप्तिका लागि संस्थाका सम्पूर्ण शेयर सदस्यहरुले संस्थालाई अहिलेको अवस्थासम्म ल्याई पुर्‍याउन अतुलनीय सहयोग गरेकोमा सबैमा आभार व्यक्त गर्दै आगामी दिनहरुमा पनि सबैबाट नियमित सहयोगको अपेक्षा गरेको उनले बताए ।

सहकारीको सिद्धान्त , मुल्य र मान्यता तथा नियमनकारी निकायको निर्देशन , सल्लाह र सुझावलाई आत्मसाथ गरी समुदायमा आधारित रहेर संस्था सञ्चालन भइरहेको भन्दै उनले शेयर सदस्यहरुको साथ र सहयोगले संकटको बेलामा पनि आफ्नो साख जोगाउन सकेको बताए । संस्थाको संस्थागत विकास गर्न विधि र प्रविधिमा जोड दिदै सदस्य सन्तुष्टिको कार्यक्रममा केन्द्रित रहेर संस्थाले को–ब्राण्डेड डेबिड भिसा कार्ड, मोबाइल बैंकिङ, एटीएम सेवा, क्युआर बैंकिङ र एसएमएस बैंकिङ प्रविधि मार्फत सदस्यहरुलाई सरल र सहज वित्तीय सेवा प्रवाह गर्दै आएको उनले जानकारी दिए ।

चन्द्रागिरि नगरपालिकाकी उपमेयर वशन्ती श्रेष्ठको आतिथ्यता रहेको सो साधारण सभामा बागमती प्रदेश सभा सदस्य केशवप्रसाद पोखरेल, चन्द्रागिरि नगरपालिकाका वडा नं.१२ का वडाध्यक्ष न्हुछेबहादुर महर्जन, च्याउ विज्ञद्वय डा.महेशकुमार अधिकारी र डा. बुद्धिरत्न खड्गे र हसना भास्तिपुर साकोसका सचिव सम्पूर्ण महर्जनले शुभकामना मन्तव्य राखेका थिए।

साधारण सभामा संस्थाका सचिव सुजिन्द्र महर्जनले संस्थाको प्रगति प्रतिवेदन, कोषाध्यक्ष प्रदीप महर्जनले संस्थाको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक पुष्कर महर्जनले संस्थाको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । शेयर सदस्यहरुबीच व्यापक छलफल भई ती प्रतिवेदनहरु साधारण सभाबाट सर्वसम्मत पारित गरिएकाे संस्थाले जनाएकाे छ ।

सभामा संस्थाकी महिला उप(समितिकी सदस्य राजमाया महर्जनले स्वागत मन्तव्य व्यक्त गरेको उक्त साधारण सभामा काठमाडौं क्षेत्र नं.९ बाट नव निर्वाचित प्रतिनिधि सभा सदस्य कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेश सभा सदस्य केशवप्रसाद पोखरेल , चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी , उपप्रमुख बशन्ती श्रेष्ठ र सोही नगरपालिकाका वडा नं.१२ का वडाध्यक्ष न्हुछेबहादुर महर्जनलाई सम्मान गरिएको थियो ।

त्यसैगरी संस्थाका असल बचतकर्ता सदस्य काञ्छी श्रेष्ठ र रायन महर्जन,असल ऋणी सदस्य कृष्णराज पाण्डे र रामकृष्ण कार्की ,असल शेयर सदस्य गंगा ढुंगेल थिङ, युवा च्याउ उद्यमी आकाश बाडे, नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उसुमा स्वर्ण पदक जित्न सफल खेलाडी सञ्जिव महर्जन तथा इस्लिङ्टन कलेजमा स्नातक तहमा बीएस.टी.कम्प्युटिङ विषयमा कलेज टप गरेका सो संस्थापक सदस्य रवि श्रेष्ठलाई सम्मान गरियो भने स्थानीय समुदायमा रहेका ८ वटा बाजा खलस्लाई सम्मान सहित सहयोग प्रदान गरिएको थियो।

साधारण सभाको अबसरमा २०० जना शेयर सदस्यलाई एटिएम कार्ड वितरण गरिएको थियो । च्याउको अध्ययन अनुसन्धानमूलक कार्य गर्दै आएको यस संस्थाले च्याउको अचार र च्याउको पाउडर उत्पादन गर्दै आएको छ । यो संस्थाले कोब्राण्डेड भिजा डेबिड कार्ड सेवा दक्षिण एसियामा नै सहकारी क्षेत्रमा पहिलो भएको बताइएको छ । यसैगरी सो संस्थाले ई–टेलर सेवा प्रवाह पनि गरिरहेको छ । यो संस्थाको मोवाइल बैंकिङ सेवा उपयोग गरिरहेका सदस्यहरुले ई–टेलर सेवा मार्फत भौचर बिना नै संस्थामा पैसा जम्मा गर्ने र चेक बिना नै संस्थाबाट आफ्नो खाताको पैसा निकाल्ने सुविधा लिइरहेकाे संस्थाका व्यवस्थापक ज्ञानदास महर्जनले बताए ।

संस्थाले गत वर्षकाे असार मसान्तसम्म ३२४४ शेयर सदस्य, ३ कराेड ९९ लाख शेयरपुँजी, ५३ कराेड १ लाख बचत संकलन र ५७ कराेड ३३ लाख ऋण प्रवाह गरी १ कराेड १५ लाख नाफा कमाएकाे छ ।

प्रकाशित : १९ पुष २०७९, मंगलवार १४:४१