अग्रवालको नेतृत्वमा फर्निचर तथा फर्निसिङ संघको कार्यसमिति चयन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

अग्रवालको नेतृत्वमा फर्निचर तथा फर्निसिङ संघको कार्यसमिति चयन



काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ संघ काठमाण्डौंमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार राजधानीमा सम्पन्न संघको २३ औं साधारण सभा तथा अधिवेशनले दिनेश अग्रवालको अध्यक्षतामा २ वर्षे कार्यकालका लागि १७ जना सर्वसम्मत चयन भएका हुन् ।

संघको वरिष्ठ उपाध्यक्षमा मनीष अग्रवाल, प्रथम उपाध्यक्षमा अरुण कुमार चौधरी, द्धितीय उपाध्यक्षमा अर्जुन घिमिरे र महासचिवमा सञ्जय लामा निर्बिरोध भएका हुन् । त्यसै गरी कोषाध्यक्षमा रमिता कसजू श्रेष्ठ, सचिवमा केदारनाथ बस्ताकोटी र डमरु बल्लभ पराजुली निर्बिरोध भएका छन् ।

संघको सदस्यमा दिल बिक्रम श्रेष्ठ, भोला मान योञ्जन, ऋषि किशोर अग्रवाल, सम्यक मान सिंह, मुकेश अग्रवाल, गीता अच्छामी, रन्जू श्रेष्ठ, निकुञ्ज अग्रवाल र टेक बहादुर कार्की निर्बिरोध भएका हुन् ।

निवर्तमान अध्यक्ष शुभेन्द्र जोशी रहेको कार्यसमितिले थप ३ जना सदस्यहरु मनोनयन गरी २१ सदस्यीय कार्यसमितिलाई पुर्णता दिनेछ । संघको साधारण सभालाई सम्बोधन गर्दै काठमाण्डौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले घर बहालका सन्दर्भमा व्यापक गुनासोहरु आएकाले घरबेटी र बहालमा बस्नेलाई सहज हुने किसिमको कानुनी प्रावधान गर्न लागिएको जानकारी दिएकी थिइन् ।

कार्यक्रमका वक्ताहरुले उपमेयर डंगोललाई उपत्यकामा मालवस्तु ढुवानीमा गरिएको कडाईले फर्निचरका उत्पादन ओसारपोसारमा समस्या भएकोतर्फ ध्यानाकर्षण गराएका थिए । महानगरले अघि सारेका योजना राम्रा भए पनि व्यवसायीसँग छलफल नगर्दा व्यवस्थापकीय समस्या उत्पन्न भएको उनीहरुको भनाई थियो ।

संघका निवर्तमान अध्यक्ष शुभेन्द्र जोशीले फर्निचर व्यवसायीलाई काठ कटानीको टेण्डरमा सहभागी हुनबाट बञ्चित गराइएकोतर्फ ध्यानाकर्षण गराए । टेण्डरमा सहभागि हुनबाट बञ्चित गराइँदा कच्चा पदार्थको अभावमा फर्निचर उद्योगहरु समस्यामा पर्ने र अर्कोतर्फ वनजंगलमा काठ खेर जाने अवस्था बनेको बताए ।

संघका नवनिर्वाचित अध्यक्ष दिनेश अग्रवालले उच्च विन्दुमा पुगेको बैंक व्याजदरका कारण फर्निचर व्यवसायीहरु बिस्थापित हुने अवस्थामा पुगेको बताए । विद्यमान कानुनहरु समयसापेक्ष रुपमा संसोधन नहुँदा फर्निचर व्यवसाय अघि बढाउन असहज हुनुका साथै वन पैदावारको उचित सदुपयोग हुन नसकेको उनको भनाई थियो । वैज्ञानिकीकरण बजारीकीकरण, आधुनिकीकरण हुन नसक्दा वन पैदावरको सरल उपयोग हुन नसकेको साधारण सभाका अन्य वक्ताहरुले राखेका थिए । अनौपचारिक रुपमा फर्निचर व्यवसाय गरिरहेकाहरुलाई दर्ता भएर काुनी रुपमा व्यवसाय सञ्चालन गर्न पनि उनीहरुले आग्रह गरेका थिए ।

कार्यक्रममा संघका पुर्वअध्यक्ष राजेश अग्रवाल सहित संघलाई स्थापित गर्न योगदान पुर्याउनेहरुलाई सम्मान गरिएको थियो । संघमा २०० आजीवन र ४०० साधारण सदस्य गरी ६०० फर्निचर व्यवसायी आबद्ध छन् ।

देशभर १२ हजारको संख्यामा फर्निचर व्यवसायी छन् । यो व्यवसायले २ लाखभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । फर्निचर व्यवसायमा करिब ३० अर्ब रुपैयाँको लगानी छ भने वार्षिक कारोबार ४० अर्ब रुपैयाँभन्दा माथि छ । जसमा कुल कारोबारको ६० प्रतिशत वस्तु विदेशबाट आयात हुँदै आएको अनौपचारिक तथ्यांक छ ।

प्रकाशित : १० पुष २०७९, आईतवार ११:४७