बीमाको दायरामा ४३.७८ प्रतिशत नागरिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

बीमाको दायरामा ४३.७८ प्रतिशत नागरिक



काठमाडौं । जीवन बीमाको पहुँच कार्तिक मसान्तसम्ममा ४३.७८ प्रतिशत जनसंख्यामा पुगेको छ। बीमा प्राधिकरणका अनुसार आर्थिक वर्षको कार्तिक मसान्तसम्म म्यादि, लघु म्यादी र बैदेशिक रोजगार जीवन बीमालेख सहित बीमाको पहुँच ४३.७८ प्रतिशतमा पुगेको हो ।

गत आर्थिक बर्षको सोहि अवधिमा ३०.३८ प्रतिशत नेपालीमा बीमाको पहुँच पुगेको थियो । त्यस्तै, कार्तिक मसान्तसम्म कुल जीवन बीमालेख ४६.६५ प्रतिशतले बढेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको तथ्याङक अनुसार गत वर्षको कार्तिक मसान्तसम्म कुल जीबन बीमालेख सङ्ख्या ९५ लाख ७ हजार ४२१ रहेकोमा यस वर्षको सोही अवधिमा १ करोड ३९ लाख ४२ हजार ३०९ पुगेको छ ।

त्यस्तै, बैदेशिक रोजगार बीमा सङ्ख्यामा पनि यस वर्ष ११०.०२ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको कार्तिक मसान्तसम्म ५ लाख ७७ हजार ३१३ बीमालेख रहेकोमा यस वर्ष बढेर १२ लाख १२ हजार ४६२ पुगेको छ ।

म्यादी, लघु म्यादी र वैदेशिक रोजगार बीमा, जीवन बीमालेख बाहेक जीवन बीमालेख सङ्ख्यामा पनि ४२.५५ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा उक्त बीमालेख सङ्ख्या ५३ लाख ६ हजार ९७६ पुगेको छ भने म्यादी र लघु म्यादी जीवन बीमालेखको सङ्ख्या ७४ लाख २२ हजार ८७१ पुगेको छ ।

कुल निर्जीवन बीमालेख संख्या ६.८७ प्रतिशतले घटेर ९ लाख १९ हजारमा झरेको छ । गत बर्षको कार्तिक मसान्तसम्म ९ लाख ८५ हजार पुगेको थियो ।

साथै, यस अवधिमा कुल बीमा शुल्क संकलन पनि २.५३ प्रतिशतले घटेको छ । गत वर्ष यसै अवधिमा ६० अर्ब ९१ करोड १५ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन भएकोमा यस वर्ष ५९ अर्ब ३७ करोड १ लाख रुपैयाँ भन्दा बढी बीमा शुल्क संकलन भएको छ ।

यस अवधिमा म्यादी, लघु म्यादि र वैदेशिक रोजगार जीवन बीमालेख बाहेक पाँच प्रतिशत घटाएर लिएको बीमालेखको सङ्ख्या ५० लाख ४१ हजार ६२७ रहेको छ । त्यस्तै, पाँच प्रतिशत घटाएर लिएको म्यादी जीवन बीमालेख सहितको सङ्ख्या १ करोड २० लाख ९३ हजार रुपैंया भन्दा बढी रहेको छ ।

म्यादि, लघु म्यादि र बैदेशिक रोजगार जीबन बीमालेख बाहेक बीमाको दायरामा आएको जनसंख्या कार्तिक मसान्तसम्म १६.५९ प्रतिशत रहेको छ । प्राधिकरणको तथ्याङक अनुसार बीमा कम्पनीहरूको कार्यालयको सङ्ख्या ३.८४ प्रतिशतले बढेर ३ हजार३५७ वटा पुगेका छन् ।

प्रकाशित : २६ मंसिर २०७९, सोमबार १६:३७