बहालवाला र पूर्वअर्थमन्त्री कस्को अवस्था कस्तो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

बहालवाला र पूर्वअर्थमन्त्री कस्को अवस्था कस्तो ?



काठमाडाै । संघीय चुनावमा एकजना बहालवाला र ४ जना पूर्वअर्थमन्त्री चुनावी दौडमा छन् । बहालवाला अर्थमन्त्री जनार्दन शर्मासँगै पूर्वअर्थमन्त्रीहरु सुरेन्द्र पाण्डे, वर्षमान पुन, विष्णु पौडेल र ज्ञानेन्द्रबहादुर कार्की प्रतिनिधिसभा सदस्यको लागि मैदानमा रहेका छन् ।

अर्थमन्त्री शर्मा र पूर्वअर्थमन्त्रीहरु पुन र कार्की सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

ज्ञानेन्द्रबहादुर कार्की

बहालवाला सञ्चार एवं सूचना प्रविधिमन्त्री एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । उनीसँग एमालेका जगदीशप्रसाद कुसियैत संघीय चुनावमा भिड्दैछन् । प्रतिनिधिसभा सदस्यको लागि सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा कार्की र कुसियैत भिड्ने तय भएको हो । कार्कीले अघिल्लो निर्वाचन पनि सोही निर्वाचन क्षेत्रबाट जितेका थिए ।

जनार्दन शर्मा प्रभाकर

रुकुम पश्चिमबाट निर्वाचन लडेका बहालवाला अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्मा प्रभाकरले ३ हजार ३३ मत गणना भइसक्दा एक हजार ९४४ मत ल्याएका छन्। उनको निकट प्रतिस्पर्धी नेकपा एमालेका नन्दराम देवकोटाले ७३४ मत ल्याएका छन्। यो तथ्यांकअनुसार माओवादीका शर्मा एक हजार २१० मतले अघि छन्।

यस क्षेत्रमा राप्रपाका दीपककुमार मल्लले ८१, सूर्यमुखी चिह्नबाट लडेका तारक केसीले १३८, खुकुरी चिह्नबाट लडेका राजन पाण्डेले ६ र कुखुराको भाले चिह्नबाट लडेका हरिबहादुर पुनले ८ मत ल्याएका छन्।

वर्षमान पुन अनन्त

रोल्पामा पूर्वअर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका माओवादी नेता वर्षमान पुन अनन्तले १० हजार ९७३ मतगणना भइसक्दा ६ हजार ७६८ मत ल्याएका छन्। उनका निकट प्रतिस्पर्धी एमालेका पूर्ण बुढामगरले २ हजार ६०१ मत ल्याएका छन्। पुन ४ हजार १६७ मतले अघि छन्।

रोल्पामा राप्रपाका लीला राउतले ४६६, राप्रपा नेपालका रामबहादुर क्षेत्रीले १६५ र मादल चिह्नमा चुनाव लडेका नातिभाइ ह्याम्बोले १६ मत ल्याएका छन्।

सुरेन्द्र पाण्डे

चितवन निर्वाचन क्षत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार सुरेन्द्र पाण्डेले मतान्तर घटाउँदै गएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले ६३६७ मत ल्याउँदा एमालेका पाण्डेले ६०४८ मत ल्याएका छन् । यस्तै नेपाली कांग्रेसका विश्व पौडेलले ५५९१ मत पाउँदा राप्रपाका माधव भट्टराईले ५३१ मत ल्याएका छन् । अहिले सो क्षेत्रमा १९८१९ मतगणना गरिएको छ ।

विष्णु पौडेल

रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले अग्रता कायम गरेका छन् । मतगणनाको सुरुवातदेखि नै अग्रता लिइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई उनले पछि पारेका छन् । १५ हजार ६२४ मत गणना हुँदा एमालेका पौडेलले ५ हजार ३११ मत ल्याएका छन् भने रास्वपाका पौडेलले ५ हजार १३६ मत पाएका छन् । सत्ता गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा ३ हजार ९६० मत पाउँदै तेस्रो स्थानमा छन् ।

१ लाख २६ हजार ८०७ मतदाता रहेको क्षेत्र नम्बर २ मा ८० हजार मत खसेको थियो । यो क्षेत्रमा विष्णु पौडेलले यसअघि लगातार तीनवटा निर्वाचन जितेका थिए ।

प्रकाशित : ६ मंसिर २०७९, मंगलवार २०:०८