काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरुले कृषि तथा पशुपन्छी बीमाबाट ५५ करोड भन्दाबढी बीमाशुल्क संकलन गरेका गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार चालु आर्थिक बर्षको असोजमसान्तसम्म १९ वटा निर्जिबन कम्पनीहरुले ४४ हजार १७४ वटा बीमा लेख बिक्री गरी ५५ करोड ४८ लाख ८ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् ।
कुनै पनि प्रकारका प्राकृतिक वा मौसमी समस्याका कारण किसानले कृषिजन्य कार्य गर्दा गरेको लगानी खेर जाने अवस्थामा लगानी सुरक्षित गर्ने एउटा उत्तम उपाय कृषि बीमा हाे । कृषि बीमा गर्दा किसानहरुको लगानीको जोखिम कम हुन्छ । जसले गर्दा कृषि तथा बाली बीमा गर्नेहरुको संख्या बढेको छ ।
गत भदौ महिनाको तुलनामा बीमा कम्पनीहरुको बीमा शुल्क संकलन ३९.५३ प्रतिशतले बढेको छ । अघिल्लो महिना सम्ममा कम्पनीहरुले ३३ हजार १७४ बीमालेख बिक्री गरी ३९ करोड ७६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।
त्यस्तै प्रदेशगत बीमाशुल्क संकलनको अवस्था हेर्दा यस अवधिमा कुल बीमा शुल्क आर्जन निकै बढेको देखिन्छ । तथ्याङ्क अनुसार यस अवधिमा निर्जीवन बीमा कम्पनीहरुले कृषि तथा पशुपन्छी बीमाबाट बागमती प्रदेशमा सबै भन्दाबढि बीमाशुल्क आर्जन गरेका छन् ।
कम्पनीहरुले यस अवधिमा बागमती प्रदेशमा १७ हजार ३९६ बीमालेख बिक्री गरी २२ करोड १४ लाख ५६ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । त्यस्तै, सोही अवधिमा कम्पनीहरुले प्रदेश नम्बर १ बाट ६ हजार ६१६ बीमा लेख बिक्री गरी ७ करोड ७७ लाख ७० हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । त्यस्तै मधेश प्रदेशबाट ३ हजार ५३५ बीमा लेख बिक्रि गरी ५ करोड ८९ लाख ६१ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।
प्राधिकरणका अनुसार गण्डकी प्रदेशमा पनि कृषि तथा बाली बीमा वापत गरिने बीमा शुल्क बढेको छ । कम्पनीले यस अवधिमा उक्त प्रदेशबाट ५ हजार ६७ बीमालेख बिक्री गरी ७ करोड २२ लाख ८० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, लुम्बिनी प्रदेशमा निर्जिबन बीमा कम्पनीहरुले कृषि तथा बाली बीमाबाट ९ करोड ५१ लाख ३६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुले यस अवधिमा ८ हजार ९५१ बीमालेख जारी गरी सो बराबरको बीमाशुल्क आर्जन गरेका हुन् ।
सुदुरपश्चिम प्रदेशबाट एक करोड ९९ लाख ७१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । यस अवधिमा उक्त प्रदेशमा बीमालेख भने १ हजार ८१८ बिक्री गरेको तथ्यांकमा उल्लेख छ । त्यसैगरी, कर्णाली प्रदेशमा यस अवधिमा एक हजार २१२ बीमालेख बिक्री गरी ९२ लाख ३५ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।
Comment