नयाँ स्टक एक्सचेन्ज,ब्रोकर कम्पनीको लाइसेन्स बिरुद्ध सर्वोच्चमा मुद्दा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

बिशेष

नयाँ स्टक एक्सचेन्ज,ब्रोकर कम्पनीको लाइसेन्स बिरुद्ध सर्वोच्चमा मुद्दा



काठमाडौं । नयाँ स्टक एक्सचेन्ज,ब्रोकर कम्पनीको लाइसेन्स बिरुद्ध सर्वोच्चमा मुद्दा परेको छ। नयाँ लाइसेन्स बाड्नको लागि संशोधन गरिएका नियमावलीहरु खारेज हुनु पर्ने माग राख्दै कात्तिक १६ गते अधिवक्ता अमृत खरेल लगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

रिटमा धितोपत्र बजार सञ्चालन (दोश्रो संशोधन) नियमावली २०७९, धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी)(चौथो संशोधन) नियमावली २०७९ र धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) (पाँचौं संशोधन) नियमावली खारेज गर्न माग गरिएको छ । यी नियमावलीमा गरिएको ब्यबस्थाहरु नेपालको संविधान र प्रचलित ऐनसँग बाझिएकोले यी नियमावली अमान्य र बदर घोषित गरी आदेश जारी गर्न रिटमा माग गरिएको छ ।

रिटमा प्रधानमन्त्री, मन्त्रिपरिषदको कार्यलय, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड र नेप्सेलाई विपक्षी बनाईएको छ । धितोपत्र बजार सञ्चालन (दोश्रो संशोधन) नियमावली,२०७९ को नियम २ को उपनियम ९१०, ९२० र ९३०, नियम ३ को उपनियम ९१० र नियम ८ नेपालको संविधान र प्रचलित ऐनसँग बाझिएको जिकिर गरिएको छ ।

त्यस्तै धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी)(चौथो संशोधन) नियमावली, २०७९ को नियम २, नियम ३ को उपनियम ९१० पनि नेपालको संविधान र प्रचलित ऐनसँग बाझिएको जिकिर गरिएको छ । साथै धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी)(पाँचौं संशोधन) नियमावली, २०७९ को नियम २ र नियम ३ का ब्यबस्था पनि नेपालको संविधान र प्रचलित ऐनसँग बाझिएको जिकिर रिटमा गरिएको छ ।

नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज, र नयाँ ब्रोकर लाईसेन्स दिनको लागि नियमावली संशोधन गरेको थियो। बोर्डले निजी लगानीको स्टकको लाइसेन्स दिनको लागि धितोपत्र बजार सञ्चालन नियमावली २०६४ मा संशोधन गरेको थियो ।

जसअनुसार नयाँ खुल्ने स्टक एक्सचेन्जको पुँजी ३ अर्ब तोकिएको छ भने निजि कम्पनीले भने स्टक एक्सचेन्जको शेयर धारण गर्न सक्ने ब्यबस्था गरिएको छ । त्यस्तै बोर्डले नयाँ ब्रोकर लाईसेन्स खुलाउन धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यवसायी) नियमावली २०६४ मा पनि संशोधन गरेको थियो ।यी नियमावलीमा गरिएको संशोधन बदर गर्न रिटमा माग गरिएको छ ।

बोर्डले असोज २ गते सूचना जारी गर्दै स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकरको लाइसेन्सको लागि आवेदन माग गरेको थियो । बोर्डले एउटा स्टक एक्सचेन्ज र २ वटा कमोडिटी एक्सचेन्जलाई लाइसेन्स दिने सूचनामा जनाएको थियो । तर कतिवटा ब्रोकरलाई लाइसेन्स दिने भन्नेबारे सूचनामा खुलाएको थिएन । ब्रोकर लाईसेन्सको लागि ४६ कम्पनीले आवेदन दिएका छन् ।

तर सर्वोच्च अदालत कै आदेशले लाईसेन्स दिने प्रक्रिया हाललाई रोकिएको छ ।अधिवक्ता दिपक विक्रम मिश्रले असोज ३१ गते धितोपत्र बोर्डले हालको लाइसेन्स वितरण प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उनले आफ्नो रिटमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई विपक्षी बनाएका थिए ।

कार्तिक ४ गते शुक्रबार सर्वोच्चका न्यायधिश तिलप्रसाद श्रेष्ठको एकल इजलाशले कारण देखाउ आदेश जारी गर्दै लाइसेन्स वितरणको कार्य तत्काल अगाडी नबढाउन आदेश दिएको थियो। साथै अदालतले निवेदकको माग बमोजिम आन्तरिम आदेश दिने कि नदिने भन्नेबारे छलफल गर्न दुवै पक्षलाई बोलाएको छ । सोहि अनुसार अर्को आदेश नहुँदासम्म प्रक्रिया स्थगित भएको हो।

प्रकाशित : १६ कार्तिक २०७९, बुधबार १७:१६