अटोमोवाइल क्षेत्रमा लगाएको आयात प्रतिवन्ध हटाउन नाडाकाे माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

अटोमोवाइल क्षेत्रमा लगाएको आयात प्रतिवन्ध हटाउन नाडाकाे माग



काठमाडौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल नाडा ले अटोमोवाइल क्षेत्रमा लगाएको आयात प्रतिवन्ध हटाउन माग गरेको छ ।

नाडाले सोमबार एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंक तथा सरकारको एकपछि अर्को नीति तथा निर्देशनका कारण अटोमोबाइल क्षेत्र अत्यन्त कठीन परिस्थितिमा गुज्रिरहेकाले आयातमा गरिएको प्रतिबन्धलाई हटाउन माग गरेको हो ।

नाडाले असोज २८ गतेसम्मको लागि निजी प्रयोजनका कार जीप भ्यान र १५० सि.सि. भन्दा माथीका दुई पाङ्ग्रे सवारी साधनहरुको लागि लगाइएको प्रतिबन्ध हटाउनको लागि मंगलबारदेखि दवाब मूलक कार्यक्रमहरु सञ्चालन गर्ने समेत बताएको छ ।

विगतमा सरकारले खासगरी विदेशी मुद्रा सञ्चितिमा दबाव परेको कारण देखाउँदै २०७९ बैशाख १४ गतेदेखि जीप, कार र भ्यान जस्ता निजी प्रयोजनका सवारी साधनहरुको आयातमा प्रतिवन्ध लगाउँदै आएको र त्यस प्रतिबन्धलाई क्रमशःविस्तार गर्दे २०७९ को असोज २८ गतेसम्म पुर्‍याएको जनाएको छ । तर, हाल विदेशी मुद्रा संचिति लगायत धेरै आर्थिक सुचकाङ्कहरु सकारात्मक अवस्थामा पुगेको एसोसीएसनले विज्ञप्ति मार्फत दाबी गरेको छ ।

देशलाई भन्सार बिन्दुमा उठ्ने परल मूल्यभन्दा दोब्बर राजश्व बुझाउँदै देशको कूल कर राजश्वमा झण्डै २५ प्रतिशत योगदान पु¥याउने नेपालको अटोमोवाइल क्षेत्र भएको पनि नाडाको भनाई छ । खर्बौको लगानी तथा लाखौलाई रोजगारी प्रदान गरेको अटोमोवाइल व्यवसाय सरकारको अदूरदर्शी नीतिका कारण धरासायी हुने अवस्थामा पुगेको गुनासो समेत नाडाको छ ।

नेपालको कूल आयातमा निजी प्रयोजनका कार, जीप र भ्यान जस्ता सवारी साधनहरुको आयात १ प्रतिशत (१७ अर्ब मात्र) भन्दा कम रहेको प्राप्त तथ्याङ्कहरुबाटै स्पष्ट रहेको छ । तर, यो क्षेत्रबाट सरकारलाई झण्डै ३९ अर्ब योगदान रहेको छ । नेपालमा पैठारी हुने हजारौ वस्तुहरुमध्ये कार, जीप र भ्यान जस्ता सवारी साधनहरु मात्र यस्तो बस्तु हुन जसले आयातको तुलनामा झण्डै दोब्बरभन्दा बढी राजश्व योगदान पुर्‍याएको नाडाको दाबी छ ।

नेपालको बढ्दो व्यापार घाटा र शोधनान्तर घाटामा यसको अंश अत्यन्त सानो भएपनि योगदान भने धेरै उच्च रहेको बताउँदै कार, जीप र भ्यान जस्ता निजी प्रयोजनका सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध फुकाउन नाडाले माग गरेको छ ।

प्रकाशित : २५ आश्विन २०७९, मंगलवार २०:३२