सहकारीका संचालकलाई जेलमा थुनेर समस्या समाधान हुदैनः के.बी उप्रेती « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सहकारीका संचालकलाई जेलमा थुनेर समस्या समाधान हुदैनः के.बी उप्रेती



काठमाडाैं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी उप्रेतीले मुलुकको वित्तीय बजारमा बैंक वित्तीय संस्थाहरुले सुरु गरेको अस्वस्थ प्रतिस्पर्धाका कारण तरलताको अभाव सिर्जना भएको बताएका छन् । आइतबार नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को १२औं स्थापना दिवसमा बोल्दै उनले सो कुरा बताएका हुन ।

‘अघिल्लो दिन ७ प्रतिशत व्याजदर भएका वाणिज्य बैंकले भोलिपल्ट ११ प्रतिशत पुर्याए । बैंकहरु कस्ले जग्गा बेचेको छ, को संग पैसा छ भन्ने खोज्दै संस्था संस्थामा पुगे,’ उनले भने , ‘यस्तो अस्वस्थ प्रतिस्पर्धाले सहकारीमा पनि समस्या उत्पन्न गरेको हो ।’ कानुन अनुसार १० देखि २० प्रतिशत सम्म तरलता राखेका सहकारीमा पनि अत्याधिक बचत फिर्ताको माग आउँदा समस्या उत्पन्न हुनसक्ने उल्लेख गर्दै उनले बचत फिर्ता गर्न नसक्ने सहकारीका संचालकलाई जेलमा थुनेर समस्या समाधान नहुने जिकीर गरे ।

सहकारी बैंकले नियमित कारोबार गर्ने सदस्य संस्थाहरुको तरलता पाँच प्रतिशत भन्दा कम भएको अवस्थामा कर्जा दिनका लागि ३ अर्बको तरलता व्यवस्थापन कोष स्थापना गरेको जानकारी गराए । उनले सबै सहकारी अनिवार्य सुशासनमा बस्नुपर्ने आवश्यकता औंल्याउँदै राज्य, अभियान, बचतकर्ता सदस्य र संचालकहरुले मिलेर समस्या समाधान गर्नुपर्ने बताए ।

प्रकाशित : १९ भाद्र २०७९, आईतवार १६:०४