सहकारीमा करको दर घटाउने अर्थमन्त्री शर्माको प्रतिबद्धता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सहकारीमा करको दर घटाउने अर्थमन्त्री शर्माको प्रतिबद्धता



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यमा सहकारी क्षेत्रका विषयमा समेटिएका कुराहरुको कार्यान्वयनका लागि अभियानको सक्रियता चाहिने बताएका छन् ।

बिहीबार राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलको नेतृत्वमा गएको सहकारीकर्मीको टोलीसँगको भेटवार्तामा मन्त्री शर्माले राष्ट्रिय सहकारी बैंक र साना किसान लघुवित्त संस्थाले सहकारी कृषि, फलफुल, पशुपालन र विशेषगरी तरकारी खेतीमा लगानी केन्द्रित गर्नुपर्ने कुरामा जोड दिए ।

उनले तरकारीमा आत्मनिर्भर अभियान संचालन गर्ने सहकारी संघरसंस्थाहरुले उत्पादनमुलक क्षेत्रमा लगानी उल्लेखनिय मात्रामा बढाउन आग्रह समेत गरे । उनले सहकारी संघरसंस्थाहरुले होल्डिङ कम्पनी स्थापना गरी पुँजी परिचालन गर्नका लागि केहि नेपाल ऐन संशोधनका लागि भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीलाई समेत आग्रह गरेको बताए ।

त्यसैगरी मन्त्री शर्माले आ.व. २०७६/०७७ को बजेटले सहकारी ऐनमा उल्लेख भए अनुसार सहकारी संघ संस्थाहरुमा महानगरमा १० प्रतिशत, उपमहानगरमा ७ प्रतिशत, नगरपालिकामा ५ प्रतिशत आयकरको व्यवस्था गर्दै आएकोमा चालु बर्षको बजेटले विद्यमान करको दरमा ५० प्रतिशत बृद्धि गरेकोमा पुर्ववत रुपमै आयकरको दर कायम गर्न महासंघद्वारा गरिएको आग्रहमा सकारात्मक हुँदै करको दर घटाउने प्रतिबद्धता व्यक्त गरे ।

सहकारी क्षेत्रको अनुगमन निरिक्षणका लागि बजेटले अघि सारेको दोस्रो तहको संरचना स्थापनाका लागि प्राविधिक तवरले कुरा मिलाउन राष्ट्र बैंकसँग कुरा भैरहेको बताउँदै चाँडो सो संरचना खडा गरी सहकारी सुशासनका लागि काम गर्ने समेत अर्थमन्त्री शर्माले बताए ।

सो अवसरमा बजेट सिंगो सहकारी अभियानको स्प्रिट अनुसार आएकोमा सोको कार्यान्वयनका लागि राष्ट्रिय सहकारी महासंघ लगायत राष्ट्रिय सहकारी बैंक र केन्द्रीय संघहरु प्रतिबद्ध रहेको महासंघका अध्यक्ष मिनराज कडेलले बताए ।

कृषि कर्जा किसानको घर दैलोमा पुर्याउने उद्देश्यले स्थापित लघुवित्त कोष राष्ट्रिय सहकारी बैंक एवं विभिन्न वित्तीय कारोबार गर्ने केन्द्रीय सहकारी संघहरुमार्फत परिचालन गर्ने व्यवस्था मिलाउन र नेसनल ल्कियरिङ्ग हाउस एवं नेसनल पेमेण्ट गेटवे, फण्ड ट्रान्सफर एटीएम सुविधाहरु दिन समेत अध्यक्ष कडेलले गरे ।

महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले मासुमा आत्मनिर्भर हुन सहकारी संघ संस्थाहरुले थुप्रै कार्य अगाडी वढाएको बताउँदै काम गर्ने सहकारीहरुलाई प्रोत्साहन गर्नु पर्ने कुरामा जोड दिए । उनले सहकारी क्षेत्रमम शुसासन कायम गर्न सहकारी अभियान प्रतिवद्ध रहेको समेत बताए ।

अध्यक्ष कडेलको नेतृत्वमा गएको सहकारीकर्मीको टोलीका अन्य सदस्यहरुमा महासंघका संचालक टिका बुढाथोकी, नेफ्स्कूनका अध्यक्ष परितोष पौडेल, सुुचना तथा संचार केन्द्रीय सहकारी संघ लि.का अध्यक्ष विष्णुहरी ढकाल, महासंघका नायव महाप्रबन्धक बाबुल खनाल लगायतको उपस्थिति थियो ।

प्रकाशित : ९ भाद्र २०७९, बिहीबार १६:२३