प्राइम लाइफबाट मनोज भट्टराईको विदाइ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

प्राइम लाइफबाट मनोज भट्टराईको विदाइ



काठमाडों । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी व्यवस्थापनको नेतृत्व आठ वर्षसम्म गरेका मनोजकुमार भट्टराईले अवकाश लिएका छन् । दुई कार्यकाल भन्दा बढी प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन नपाइने नियमअनुसार भट्टराईले कम्पनी व्यवस्थापनको नेतृत्व छाड्नु परेको हो ।

भट्टराईको दोस्रो कार्यकाल गत असार मसान्तसम्म थियो । कम्पनीका डेपुटी प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) चिरायु भण्डारी पनि बिदा भएका छन् । भण्डारीको दुई वर्षे करार अवधि सकिएकाले बिदा भएका हुन् ।

कम्पनीका कर्मचारीले सोमबार एक कार्यक्रम गरी दुवैजनालाई बिदाइ गरेका छन् । अत्यन्तै भावुक बिदाइ समारोहमा कतिपय कर्मचारीले आँसुसमेत झारेका थिए । अभिभावकले जस्तै माया, हौसला र प्रेरणा दिने भट्टराईको स्वभावका कारण उनलाई बिदा गर्नुपर्दा ज्यादै नरमाइलो लागेको कर्मचारीहरुको भनाइ थियो ।

भट्टराईलाई कर्मचारीहरु कुशल रणनीतिकार, प्रेरणादायी व्यक्तित्व तथा प्रभावशाली संगठक मान्छन् । उनको नेतृत्वमा कम्पनीले सफलताको नयाँ उचाइ छोएको उनीहरुको भनाइ छ ।

प्रकाशित : ३ श्रावण २०७९, मंगलवार १५:१८