सहकारी उद्यमशिलता सम्मेलनका सहभागी भन्छन : ‘हौसला मिल्यो, आत्मविश्वास बढायो’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

सहकारी

सहकारी उद्यमशिलता सम्मेलनका सहभागी भन्छन : ‘हौसला मिल्यो, आत्मविश्वास बढायो’



काठमाडौं । सहकारीमार्फत उद्यमशीलता विकास गरी मुलुकलाई आत्मनिर्भर बनाउन र आयातलाई प्रतिस्थापन गर्ने उद्देश्यले काठमाडौंमा सहकारी सम्बन्धी दुई दिने नेशनल युथ फोरम कार्यक्रम आयोजना भएको छ ।

राष्ट्रिय सहकारी महासंघको आयोजनामा भएको फोरममा देशका सातै प्रदेशका जिल्लाबाट प्रतिनिधिहरु सहभागी थिए । सहभागीहरुले कार्यक्रमको उपलब्धी, उठाइएका मुद्दा, भावी योजना र सिकाइको बारेमा हामीसँग अनुभव साटेका छन् ।

हरि पाण्डे
प्रबन्धक
नवकान्तिपुर साकोस, बत्तीसपुतली(काठमाडौं)

दुई दिने सम्मेलनमा सहभागी हुँदा धेरै कुरा सिक्ने अवसर मिल्यो । सम्मेलनमा सहकारीको मात्रै नभई निजी क्षेत्रका सफल उद्यमीहरुबाट पनि अनुभव आदानप्रदान तथा पेपर प्रस्तुत भयो । सरकारका तर्फबाट पनि प्रस्तुतीकरण आयो । कार्यक्रममा महासंघले सबैको क्षेत्रको संयोजन गर्न सकेको जस्तो मलाई लाग्छ । हामीले आफ्नो क्षमता अनुसारको ज्ञान लिने हो । शैक्षिक योग्यता, अनुभव, उमेर र सिकाई प्रतिको रुची जस्ता कुराले सिकाईको डिटरमाइन गर्छ । यो कार्यक्रमको मुख्य उद्देश्य युवाहरुमा उद्यमशीलता विकास होस् भन्ने नै हो । त्यसका लागि कार्यक्रमले एक हिसाबको सफलता प्राप्त गरेको छ जस्तो मलाई लाग्छ ।

कार्यक्रम अनुसार भोलिका दिनमा सहभागीले बचतऋण बाहेकका अन्य कुनै उद्यमशिल काम गरे भने त्यसले सार्थकता पाएको मानिन्छ । नत्र भने कार्यक्रमको खर्च मात्रै हुन्छ र उपलब्धी केही हुँदैन । यस्तो फोरमले उद्यमशीलता लाग्न चाहनेलाई वातावरण सृजना गर्छ । यस्ता खालका छलफल बेलाबेला हुनुपर्छ । ताकि मार्केटमा के भइराखेको छ र हामीले के गरिराखेका छौं ? हाम्रो गराइ र बजारको मागमा कहाँ अन्तर छ, के हुनुपर्ने हो र के हुन बाँकी छ भन्ने जस्ता कुराको ज्ञान र अनुभव साट्न यस्ता फोरम बढि महत्वपूर्ण हुन्छ ।

उद्यमशीलतामा जान नीतिगत अस्पष्टता छ । हामी आफैं पनि स्पष्ट हुन सकिराखेका छैनौं । नीतिगत अस्पष्ट छ भन्दै त्यसैमा खेलिराखेका छौं । धेरै स्पष्ट भयो भने खेल्ने ठाउँ कहाँ हुन्छ भन्ने कुरा पनि होला । समग्रमा कार्यक्रम राम्रो छ । युवा सम्मेलन भनिएता पनि युवाभन्दा पनि बढी उमेर समूहको सहभागिता बढि भएको महशुस मैले गरेँ । युवाहरुकै सम्मेलन भन्न पाइएन र पर्याप्त समय नदिएको गुनासो आएको छ । त्यस्ता गुनासोलाई आयोजक संस्थाले आगामी दिनमा चिन्तन मनन् गर्नुहुनेछ भन्ने अपेक्षा राख्छु ।

साधना सावाखे,
इटहरी महिला साकोस

समग्रमा दुई दिनको सम्मेलन राम्रै भएको मान्नुपर्छ । कसरी उद्यमशीलताको क्षेत्रमा युवाहरु आउन सक्छन् भन्ने ने कार्यक्रमको उद्देश्य थियो । सहकारीमार्फत युवामा कसरी उद्यमशीलता विकास गर्न सकिन्छ भन्ने जस्ता कुरा छलफल भयो । सबै कुरा राम्रो हुँदाहुँदै पनि युवाहरु सही गाइडेन्स र अनुभवको अभावले उद्यमशीलतामा लाग्न सकिराखेका छैन । युवाहरुमा केहि गर्ने उर्जा, जोश र जाँगर भएपनि ती कुरालाई सम्बोधन गर्न नसकेको हो कि जस्तो मलाई लाग्छ । कार्यक्रममा इन्नोभेसन, आइडिया र अनुभव जस्ता कुरा पनि शेयर भएकाले यसले केही गर्न प्रेरणा मिलेको छ । विगतमा पनि अनुभव हासिल गरिसकेको उद्यमी चन्द्रप्रसाद ढकाल सरको प्रस्तुतिले भने निकै उर्जा थपेको छ । उहाँबाट नीतिगत र एक्सनप्लानको हिसाबले धेरै कुरा बुझ्ने मौका पाइयो ।

मैंले लत्ताकपडादेखि हरेक फेसनसामग्री आयात गरेर व्यवसाय गरिराखेको छु । कताकता आफ्नै देशको स्रोत साधनको उपयोग गरेर वस्तु उत्पादन तथा बजारीकरण गर्ने विषयमा पनि कुरा उठ्यो । तर प्राविधिक रुपमा त्यो काम गर्न नेपालमा त्यति सहज छैन । फुटवेयर र लेदर म्यानुफ्याक्चरमा १४–१५ सय उद्यमीले काम गरिराखेका छन् । तर उनीहरुले राम्रो निकासी गर्न सकिराखेका छैनन् । म आफैं ब्रिटिश डिग्री लिएपनि नेपालमा नै केही गर्न भनेर आएकी हुँ । जस्तो यहाँ विदेशी वाइनलाई मात्रा प्राथमिकता दिइन्छ । नेपाली वस्तु र उत्पादनलाई त्यति प्राथमिकता दिइँदैन ।

विदेशबाट फर्केर आएपछि मंैले पनि आफ्नो ब्राण्डको वाइन बनाउने सोच बनाएको थिए । तर समाजको कारणले मैले त्यो गर्न सकिन् । तर त्यसकै ६ महिनापछि कोरियन कम्पनीले छ्याङ उत्पादन गरेर बजारमा ल्यायो । मैले उद्यमशीलता गर्छु भन्दापनि समाज र कानूनले नपत्याउने तर बाह्य देशका लगानीकर्तालाई भने सहजरुपमा दिने काम भयो । नीतिगत कारणले पनि उद्यममा जान समस्या भएको छ । महिला उद्यमशीलतालाई पनि प्राथमिकता दिन सकेको छैन । महिलालाई एउटा तहसम्म मात्रै पढाइन्छ । अन्तिममा बिहे नै गर्ने हो किन धेरै पढाउने भन्ने गलत बुझाई छ । जसले गर्दा उद्यमशीलता विकास हुन सकेको छैन ।

सिता खनाल
हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था लि., ललितपुर

सम्मेलनबाट उद्यमशीलताको विषयमा धेरै कुरा सिक्ने मौका मिल्यो । धेरै युवाहरु रोजगारीका लागि विदेश पलायन भइराखेका छन् । तर यो सम्मेलनले स्वदेशमा पनि केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढाएको छ । कार्यक्रमबाट मैंले धेरै कुरा सिक्न पाएँ । धेरै जनाले उद्यममा कसरी सफल भइयो भन्ने कुरा शेयर गर्नुभयो । उहाँहरुको गराईभोगाई र संघर्षको कुराले उद्यमशीलतामा लाग्न पनि अभिप्रेरित गरेको छ । मेरो श्रीमान् व्यवसाय गर्नुहुन्छ । त्यो हुनाले म जागिर र व्यापार दुवैमा सहभागी छु । यो कार्यक्रमले मलाई व्यवसायमा लाग्न थप हौसला मिलेको छ । यो तालिम महत्वपूर्ण छ र बेलाबेला भइराख्नुपर्छ । समग्र भन्दा युथ फोरम उपलब्धीमुलक रह्यो ।

सुष्मा राणा,
जुनेली महिला साकोस, कञ्चनपुर

सम्मेलनबाट धेरै कुरा सिक्ने मौका मिल्यो । उद्यमशीलतामा कसरी लाग्ने, कसरी काम गरियो भने सफल हुन्छौं भन्ने हामीलाई थाहा थिएन । हाम्रो सहकारीमा ठूलो शक्ति रहेछ र त्यो शक्तिलाई प्रयोग गरेर धेरै काम गर्न सकिन्छ भन्ने थाहा थिएन । हामी टाढाको जिल्लामा रहेकोले यस्ता कार्यक्रमहरुमा सहभागि हुने मौका पाएका थिएनौं । सम्मेलनमा सहभागी भएपछि मैंले धेरै कुरा सिकें । धेरै मानिससँग भेटघाट भयो । अनुभव साटासाट गर्न पाइयो । हाम्रो क्षेत्रमा सबै मानिस कृषि पेशामा छन् । उनीहरुको काम गर्ने तरिका परम्परागत छ ।

अब कृषिलाई आधुनिक र नयाँ तरिकाले गर्दा धेरै फाइदा लिन सकिने कुरा सबैलाई सिकाउँछ । मान्छेहरु धेरै अगाडि पुगिसके । हामी धेरै पछि छौं । त्यसकारण कृषिमा व्यवसायिकीकरण गरेर हामी पनि अगाडि बढ्नुपर्छ भन्ने कुरा सबैलाई सिकाउँछु । हामीकहाँ धान र उखु खेती बढि हुन्छ । त्यसलाई नयाँ मोडलमा गर्नका लागि सबैलाई सिकाउँछु ।

हरिप्रसाद पन्थी,
सरल नमूना साकोस, कास्की

उद्यमशीलता विकास गर्नको लागि कार्यक्रम कोशेढुंगा सावित भएको छ । कतिपय कुरामा हामीले सम्भावना नै छैन भनेकोमा पनि सम्भावना देखियो । विशेष गरेर कृषि क्षेत्रमा हामीले बाँझै छाडेका पाखापखेरामा अलैंची, टिम्मुर खेती गरे राम्रो आम्दानी गर्न सकिने रहेछ । सम्मेलनबाट फर्किसकेपछि पुर्खाको बाँझो जमिनलाई कृषिले हराभरा बनाउने परिकल्पना गरेका छु । सम्मेलनमा आउनुपूर्व नै प्रस्तुत गर्ने विषय र प्रस्तुतकर्ताका बारेमा मैंले जानकारी पाएको थिएँ । मैले ती कुराको बारेमा पहिल्यै अध्ययन गरेर आएको हुनाले धेरै कुरा मेरो अपेक्षा अनुसार नै भयो ।

सहकारकी आफैंले उद्यम गर्ने होइन र यसले उद्यमशीलता जन्माउने हो । म सहकारीको व्यवस्थापकको रुपमा सहभागी भइरहँदा उद्यमशील बनाउने कन्सेप्ट, प्रेरणा र पूँजीको व्यवस्थापन गर्न सकियो भने युवा उद्यमीहरु जन्मन सक्छन् । आजका युवा भोलिका सफल व्यवसायी हुन् । युवालाई अहिलेको बजारसँग जोड्न सक्ने प्रविधिमैत्री बातावरण बनाउने भूमिका हाम्रो रहन्छ ।

मन्जिता चौधरी
संयोजक, मुक्त कम्लरी विकास मन्च

हामी उद्यमी बन्न खोजिरहेकाहरुका लागि सम्मेलन फलदायी रह्यो । उद्यमशील बन्न संभावनाको पहिचान गर्ने सवालमा सम्मेलनले धेरै सुन्ने र सिक्ने मौका मिल्यो । विशेषत सहकारी भित्र र सहकारी सदस्यहरुलाई थुप्रै कानूनी प्रक्रियाहरु झन्झटिला छन् । हामी मुक्त कम्लरी हौं । हामीले दाङ, बाँके, ,बर्दिया, कैलाली, कन्चनपुरमा मुक्त कम्लरीले नै ४२ वटा सहकारी स्थापन गरेर सीप विकासका क्षेत्रकमा काम गरिरहेका छौं ।

तर हाम्रा धेरै सदस्यहरुसँग जग्गाको लालपूर्जा छैन । लालपूर्जा नहुँदा ऋण निकालेर लगानी गर्न समस्या भइरहेको छ । विभिन्न कानूनी झन्झटहरु ब्यवहोरिरहेका छौं । यसका लागि पनि आवाज उठाउन चाहन्छौं । अर्को कुरा स्वरोजगारको कार्यक्रमहरु लैजान पनि हामी काठमाडौं नै आउनुपर्ने बाध्यता छ । ग्रामीण इलाकामा सहकारी त पुगेका छन तर राज्यले सेवा सुविधा पुगेका छैनन् । यसका लागि काम गर्नुपर्ने जस्तो लाग्छ ।

प्रकाशित : २७ चैत्र २०७८, आईतवार २१:०७